यसरी तयार पारिँदै छन् कोभिड १९ सुँघेरै पत्ता लगाउने कुकुर

यसरी तयार पारिँदै छन् कोभिड १९ सुँघेरै पत्ता लगाउने कुकुर
+
-

बैंकक–
बबी र ब्राभो दुवै ज्ञानी छन्।

एन्जल पनि असल पोथी हो। टायल ओछ्याइएको भुइँमा चिप्लँदा चिप्लँदै पनि उसले एउटा पन्जा उठाएर यस्तो संकेत दिन खोजिरहेकी छ, मानौं भर्खरै उसका तेज नाकले कुनै कपासको डल्लो सुँघ्दा पत्ता लगाएको गन्ध उसले चिनिरहेकी छे र त्यो कोभिड १९ को गन्धसँग ठ्याक्कै मिल्छ।

बैंककस्थित एउटा विश्वविद्यालयको क्लिनिकमा सक्रिय यी तीनवटा लेब्रोडर जातका कुकुर यतिबेला संसारलाई नै महत्वपूर्ण सूचना कसरी दिने भन्ने खोजीमा सक्रिय छन्।

विश्व नै आक्रान्त भएको कोभिड १९ संक्रमित मानिसलाई सुँघेरै कसरी पत्ता लगाउने भन्ने खोजीमा तालिम दिइँदै गरिएका कुकुरमध्ये यी तीन हुन्।

यसप्रकार कुकुरबाट संक्रमित मानिस पत्ता लगाउन विभिन्न मुलुकमा गरिएका प्रारम्भिक अध्ययनले विशेषगरी विमानस्थल तथा अन्य भीडभाडका क्षेत्रमा गरिँदै आएको ‘र्‍यापिड एन्टिजेन’ परीक्षणभन्दा बढी विश्वसनीयता देखाउन थालिसकेको छ।

‘कुकुरका मामलामा सामान्य गन्ध भनेको पनि हाम्रा निम्ति पोलेको मासुको बास्नाजस्तै हो,’ बैंककस्थित चुलालंगकोर्न विश्वविद्यालयको भेटनरी विभागमा अध्ययन अनुसन्धान फाँट हेर्ने सहायक डिन डा. किवाली छादारोंग भन्छिन्।

यो अध्ययनले एउटा सम्भावनाको बाटो खोल्ने प्रयास गरिरहेको छ। एउटा यस्तो सम्भावना जसले आगामी दिनमा स्टेडियम, विमानस्थल, बसपार्कजस्ता भीडभाड हुने सार्वजनिक थलोमा विशेष प्रकारले प्रशिक्षित कुकुर परिचालन गर्न सकियोस्।

अनि ती कुकुरले मानिसलाई सुँघेका भरमा भाइरस संक्रमितको तत्काल पहिचान गर्न सकोस्।

यस किसिमको प्रशिक्षित कुकुर तयार पार्ने काम यतिबेला थाइल्यान्ड, अमेरिका, फ्रान्स, बेलायत, अस्ट्रेलिया, बेल्जियम र जर्मनीजस्ता मुलुकमा चलिरहेको छ।

यस्ता कुकुर अहिले नै फिनल्यान्ड, लेबनान र युएइजस्ता मुलुकका विमानस्थल, निजी कम्पनीदेखि अमेरिकामा खेलकुदका ठूला आयोजनासम्म प्रयोग हुन थालिसकेका छन्।

भर्खर बंगारा पलाउँदै गरेको पहेँलो रंगकी एन्जल प्लास्टिकका बोतल देख्नेबित्तिकै त्यसलाई चपाउन आतुर हुने स्वभावकी छे। चुलालंगकोर्न विश्वविद्यालयका कुकुरमध्ये ऊ आकर्षणकी केन्द्र पनि बनेकी छे।

यस विश्वविद्यालयमा ६ वटा कुकुरको एउटा समूह छ, जसले कोभिड १९ भाइरसलाई तोकिएको अवधि र मापदण्डभित्र जतिपटक सुँघेर पत्ता लगाएका छन् त्यसले ९६.२ प्रतिशत ठीक परिणाम निकालेको विश्वविद्यालयका अध्येताले पत्ता लगाएका छन्।

उक्त समूहमा एन्जलसहित बबी, ब्राभो, एपोलो, टाइगर र नासा नामका कुकुर छन्।

यस्तो परीक्षण जर्मनी र युएईजस्ता मुलुकमा गर्दा त्यहाँका कुकुरले यति धेरै मात्रामा ठीक उत्तर दिन नसके पनि ती मुलुकका परिणामलाई पनि उत्साहजनक भन्न सकिने अवस्था छ।

हामीले अस्पतालमा गर्ने परीक्षणलाई पीसीआर (पोलिमर्स चेन रियाक्सन) भन्ने गरिन्छ।

तीव्र घ्राणशक्ति भएका कुकुरको सुँघ्ने शक्ति पीसीआर प्रविधिभन्दा धेरै तेज र सस्तो पनि हुने गर्छ। कोभिड १९ का कारण क्षतिग्रस्त कोषिका भएका मानिसले निकाल्ने ‘भोलेटाइल अर्गानिक कम्पाउन्ड’ वा त्यस्ता ‘कम्पाउन्ड’का मिश्रणयुक्त थोरै मात्र गन्ध यी कुकुरको अति संवेदनशील नाकमा पर्नेबित्तिकै सेकेन्डभरमै यिनलाई चाल पाउन पर्याप्त भइदिन्छ।

‘एक त पीसीआर परीक्षणको रिपोर्ट तत्काल पाइँदैन भने अर्को समस्या यो परीक्षणले यदाकदा गलत रिपोर्ट पनि देखाउने गरेको छ,’ अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयमा स्कुल अफ एनिमल एन्ड भेटनरी साइन्सका स्वास्थ्यविद् डा. एन लिस चाबर भन्छिन्, ‘जबकि कुकुरले कोभिड परिपक्व नहुँदै प्रारम्भिक चरणमै सुँघेर पत्ता लगाइदिन सक्छ।’

एन बितेको ६ महिनादेखि १५ वटा तीव्र घ्राणशक्ति भएका कुकुर लिएर यससम्बन्धी परीक्षणमा जुटेकी छन्।

त्यसो त मानिसको शरीरमा तापक्रम हेरेर पनि बढी ज्वरो आएको छ भने कोभिड भएको हुन सक्ने अनुमान लगाउने काम आम प्रचलनमा चलिरहेको छ। तर, कतिपय मानिसमा लक्षणै नदेखिइरहेको अवस्थामा त्यसले पनि चित्तबुझ्दो समाधान दिइरहेको छैन।

तर, संक्रमित व्यक्तिको फोक्सो र श्वास नलीले एक प्रकारको गन्ध निकालिरहेको हुन्छ जसलाई कुकुरले भने सजिलै पत्ता लगाइदिन सक्छ। थाइल्यान्डको अध्येताका अनुसार त्यसमाथि पीसीआर गर्नका निम्ति जुन मात्राको कण आवश्यक पर्छ त्योभन्दा निकै कम मात्राबाटै कुकुरको निम्ति गन्ध पत्ता लगाउन पर्याप्त भइदिन्छ।

थाइल्यान्डमा यो अनुसन्धानका लागि यतिबेला चुलालंगकोर्न विश्वविद्यालयका साथमा त्यसै मुलुकको तेल उत्पादक कम्पनी चेभ्रोनले पनि साझेदारी गरिरहेको छ। यो कम्पनीले यसअघि उसका निम्ति काम गर्ने विदेशी कामदारले गैरकानुनी लागुऔषध सेवन गरे नगरेको पत्ता लगाउन कुकुरको यसरी नै प्रयोग गर्दै आएको थियो।

लागुऔषध वा विस्फोटक मात्र होइन, आफूले खाने कुरासमेत कसैको पाकेटभित्र लुकाइएको छ भने सुँघेर पत्ता लगाउने गुण भएका कुकुरका लागि जुन सिद्धान्तले काम गरिरहेको हुन्छ त्यसै सिद्धान्तले कोभिड १९ का गन्ध पनि पत्तो लगाउने काम गर्छ।

थाइल्यान्डमा यतिबेला प्रशिक्षण दिइरहिएको छ वटा लेब्रोडर कुकुरलाई ६ जना फरक प्रशिक्षकको जिम्मा लगाइएको छ। कोभिड १९ संक्रमित व्यक्तिको काखी वा मोजाबाट तयार पारिने पसिनाले भिजेको कपासको डल्लो ती कुकुरलाई सुँघाइन्छ।

तीव्र घ्राणशक्ति भएका कुकुरको सुँघ्ने शक्ति पीसीआर प्रविधिभन्दा धेरै तेज र सस्तो पनि हुने गर्छ। कोभिड १९ का कारण क्षतिग्रस्त कोषिका भएका मानिसले निकाल्ने ‘भोलेटाइल अर्गानिक कम्पाउन्ड’ वा त्यस्ता ‘कम्पाउन्ड’का मिश्रणयुक्त थोरै मात्र गन्ध यी कुकुरको अति संवेदनशील नाकमा पर्नेबित्तिकै सेकेन्डभरमै यिनलाई चाल पाउन पर्याप्त भइदिन्छ।

एक त कुकुरमा यो भाइरसको खतरा कमै रहेको, दोस्रो पसिनाबाट सर्ने सम्भावना पनि कम र थाइल्यान्डजस्तो गर्मी मुलुक हुनुले पनि यो प्रयोगबाट संक्रमण बढ्ने खतरा कम रहेको विज्ञ बताउँछन्।

घरपालुवाका रूपमा राखिएका कुकुर बिरालाका मामलामा पनि परिवारका सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ भने ती कुकुर बिरालामा सरेको दुर्लभै घटना देखिएका छन्।

त्यसैगरी घरपालुवामा कोरोना भएर त्यो कुनै मानिसमा सरेको त आजसम्म एउटा पनि प्रमाणित केस फेला परेको छैन।

केही महिनाको तालिमका क्रममा थाइल्यान्डका हरेक आज्ञापालक कुकुरले दैनिक ६ सय पटकसम्म सुँघ्ने काम गर्ने गरेका छन्।

कुकुरको रसिलो थुतुनोमा ३० करोड ‘ओलफेक्टरी रिसेप्टर्स’ (घ्राणशक्ति) हुन्छ जुन मानिसका हकमा मुस्किलले ६० लाख पनि हुँदैन।

यति बलियो सुँघ्ने शक्ति भएको जन्तुलाई एकै मिश्रणभित्रका पनि १० वटासम्म फरक गन्धलाई चिनिदिन सक्ने क्षमता विकास गराउन सकिने डा. किवाली बताउँछिन्।

अर्को रोचक तथ्यचाहिँ कुकुरले नाकबाट मात्र नभई उनीहरूको नाक र मुखको बीचमा हुने अर्को अंगबाट पनि सुँघ्न सक्ने गुण बोकेका हुन्छन्।

अझ केही अध्ययनले त कतिपय जातका कुकुरले मधुमेह, पार्किन्सन, मलेरिया र केही क्यान्सरका रोगी पनि सुँघेरै पत्ता लगाउन सक्ने देखाएको छ। तीमध्ये पनि लेब्रोडर जातका कुकुर सुँघ्ने मामलामा सबैभन्दा तेज मानिने गरेको लेर्तचाइ चौम्रातानाकुल बताउँछन्।

उनी चेभ्रोन कम्पनीको कुकुरसम्बन्धी मामिलाको नेतृत्वकर्ता हुन्। चौम्रातानाकुलका अनुसार मिलनसार स्वभाव पनि बोकेको लेब्रोडर जातको कुकुरमा एकोहोरोपना र फुर्तीलो स्वभावले पनि जाँचबुझमा प्रयोग गर्नका लागि यिनलाई उत्तम विकल्पका रूपमा उभ्याउने गरेको छ।

त्यसै भएर पनि थाइल्यान्डमा यो कुकुर महँगो मानिन्छ। एउटाको दाम २ हजार अमेरिकी डलरसम्म पर्छ। अर्कातर्फ कुकुरलाई सुँघाउनका निम्ति तयार पारिने कपासको डल्लो प्रत्येकको ७५ सेन्ट पर्ने गर्छ। तर, यो सबमा जतिसुकै खर्च लागे पनि अहिलेसम्म कोभिड १९ भए नभएको पत्ता लगाउनका निम्ति जे–जस्ता उपाय प्रयोग गरिँदै आएका छन् ती सबैभन्दा कम खर्चिलोचाहिँ यो नै हुनेमा कुनै सन्देह छैन।

एक साताअघि मात्रै सिंगापुरले मापसेमा प्रयोग गरिने ब्रेथलाइजरजस्तै स्वासको गन्धबाट कोभिड १९ पत्ता लगाउने एउटा मेसिनलाई मान्यता दिने घोषणा गरेको थियो।

थाइल्यान्डले यसरी सुँघेर कोभिड १९ पत्ता लगाउने गुण भएको तीनवटा लेब्रोडर कुकुरलाई यतिबेला सुदुर दक्षिणी भेगमा परिचालन गरेको छ। मलेसियासँग सीमावर्ती उक्त भेगबाटै थाइल्यान्डमा खतरनाक प्रजातीका कोरोनाको धेरै संक्रमण फैलिएको जनस्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ।

बाँकी तीन भने चुलालंगकोर्न विश्वविद्यालयकै भेटनरी विभागको भवनमा राखिएका छन्। ती कुकुरलाई न्यास्रो नहोस् भनेर भवनको छानोमै टहलिने ठाउँको बन्दोबस्त गरिएको छ भने विश्वविद्यालयको फुटबल मैदानमा एकपटक लगेर घुमाउने पनि गरिएको छ। त्यतिले नपुगेर थाइल्यान्डको गर्मीले धेरै नसताओस् भनेर ती कुकुरहरूका लागि कोठामा एयरकन्डिसन पनि जडान गरिएका छन्। खानापिना घुमफिर सबैथोकको उच्चतम प्रवन्ध मिलाइएको छ।

‘यिनको जिन्दगी त अधिकांश मानिसको भन्दा पनि सोखले बितिरहेको छ,’ थावात्चाइ प्रोम्चोट भन्छन्। यतिबेला एन्जलको रेखदेखमा खटिएका प्रोम्चोट यसअघि अरु नै कुनै व्यवसायमा आबद्ध थिए।

प्रोम्चोटका अनुसार उनले थाइल्यान्डको दक्षिणी प्रदेशमा पर्ने नाखोन सी थाम्माराटमा हुर्कँदा आफूसँगै १२ वटा कुकुरलाई पनि हुर्काएका थिए। आफूले हुर्काएका ती कुकुर र अहिले यी एयरकन्डिसनमा बसिरहेका कुकुरको तुलना गर्दा यी अहिलेका कुकुरले त गजबकै जुनी पाएका रहेछन् भनेर उनी मख्ख पर्ने गरेका छन्।

बैंककका यी कुकुरले अहिले थाइल्यान्डकै बासिन्दाको पसिनाका आधारमा कोभिड १९ भए नभएको पत्ता लगाइरहेका छन्।

अझ विशेषगरी पीसीआर परीक्षण केन्द्रसम्म पुग्न नसक्ने बूढाखाडा मानिस वा ओछ्यानमै परेका बिरामीको परीक्षण यी कुकुरबाट गराइँदै छ। त्यसैगरी, कोभिड १९ को अत्यधिक संक्रमण भएको सहरकै एउटा कारागारमा पनि यी कुकुरलाई खटाइनेबारे तयारी चलिरहेको छ।

थाइल्यान्ड यतिबेला कोभिड १९बाट अत्यन्त प्रभावित छ। विशेषगरी जेल, निर्माणस्थल र अन्य यस्ता भीडभाडमा काम हुने ठाउँ असाध्यै जोखिमपूर्ण बन्दै गएका छन्।

अर्कोतर्फ २ प्रतिशतभन्दा कम मानिसले मात्र अहिलेसम्म खोप लगाएको अवस्थामा खोपको अभाव पनि यो मुलुकले झेलिरहेको छ।

अमेरिकामा भने निजी तवरबाट आयोजना हुने समारोहमा यस्ता सुँघ्ने कुकुर परिचालन गर्न थालिएको छ।

अन्य केही उत्सव तथा समारोहमा पनि यस्ता कुकुर प्रयोग भइरहे पनि यस विषयमा कुनै ठोस सरकारी कार्यक्रम वा राष्ट्रिय योजना अहिलेसम्म तय भइसकेको छैन।

(न्युयोर्क टाइम्स)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?