प्रधानमन्त्री ओलीको धम्कीका बाबजुद तत्काललाई टर्‍यो बीएण्डसीको सम्बन्धन

प्रधानमन्त्री ओलीको धम्कीका बाबजुद तत्काललाई टर्‍यो बीएण्डसीको सम्बन्धन
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाब र धम्कीका बाबजुद झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन तत्काललाई टरेको छ।

लामो समयदेखि बीएण्डसीलाई सम्बन्धन दिलाउन अनेक उपाय खोजिरहेका ओलीले आइतबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई धम्कीको अस्त्र प्रयोग गरेका थिए।

आफ्नो सरकारी निवास बालुवाटारमा उनले आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सदस्य सचिव डिल्ली लुईंटेललगायतलाई बोलाएर बीएण्डसीलाई सम्बन्धन दिन खुलेरै दबाब दिएको स्रोतले बताएको छ।

‘त्यति धेरै लगानी र मेहेनत गरेकालाई हतोत्साहित गर्न मिल्दैन। बीएण्डसी मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन दिन लगाउनु पर्‍यो। तपाईँले किन यसमा असहयोग गरिरहनुभएको छ? यसमा ढिलो गर्नुपर्ने कारण के छ? सम्बन्धन दिन अब बिलम्ब नगर्नुहोस्,’ प्रधानमन्त्री ओलीले डा. गिरीलाई दिएको दबाब उद्धृत गर्दै स्रोतले भन्यो।

तर स्रोतका अनुसार डा. गिरीले प्रधानमन्त्री ओलीसमक्ष बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन नमिल्ने अडान राखेका थिए।

उनले ओलीलाई भनेका थिए, ‘सम्बन्धन पाउन निश्चित मापदण्ड पूरा गरेको हुनुपर्छ। प्रस्तावित बीएण्डसी मेडिकल कलेजले त्यो मापदण्ड पूरा गरिसकेको छैन। मापदण्ड पूरा गरेका दिन मात्रै आयोगले सम्बन्धनका लागि सिफारिस गर्नेछ।’

त्यसपछि प्रधानमन्त्रीले केही नबोली डा. गिरीलाई बालुवाटारबाट बिदा गरेका थिए। तर त्यसलगत्तै डा. गिरीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले बोलाएर काम गर्न नसक्ने भए राजीनामा दिनुहोस् भन्दै धम्काएका थिए।

मन्त्री श्रेष्ठले गिरीलाई सोधेका थिए, ‘बीएण्डसीलाई सम्बन्धन दिन किन मिल्दैन?’ डा. गिरीले प्रधानमन्त्री ओलीलाई दिएको जबाफ मन्त्री श्रेष्ठलाई पनि दोहोर्‍याएका थिए।

डा. गिरीले भनेका थिए, ‘बीएण्डसीले मापदण्ड पूरा गरेको छैन। मापदण्ड पुरा गरेपछि मात्रै सम्बन्धन दिनेछौँ।’

त्यसपछि शिक्षामन्त्री श्रेष्ठले आक्रोशित हुँदै डा. गिरीलाई भनेका थिए, ‘तपाईँले काम गर्न सक्नुभएन, यो पद छोड्दिनुहोस्।’

त्यसलगत्तै डा. गिरीले आइतबार नै आयोगका सदस्यहरु डा. भगवान कोइराला, प्रधानमन्त्री ओलीकी निजी चिकित्सकसमेत रहेकी डा. दिव्यासिंह शाहलगायतसँग बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने/नदिनेबारे छलफल गरेका थिए।

त्यसपछि डा.गिरीसँगै आयोगका सदस्यहरु मापदण्ड पूरा गरेपछि मात्रै बीएण्डसीलाई सम्बन्धन दिने साझा निर्णयमा पुगेका थिए। उनीहरुले आइतबार नै उक्त निर्णयको ‘माइन्यूट’समेत गरेका छन्। वास्तवमा आयोगका उपाध्यक्ष डा. गिरी र सदस्यहरुले प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन नमिल्ने भन्ने निर्णय शुक्रबार नै गरेका थिए।

तर आइतबार उक्त, निर्णयमा उनीहरुले हस्ताक्षरसमेत गरेका हुन्। आफूलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले धम्की दिएकोबारे केही बोल्न नचाहेका डा.गिरीले मापदण्ड पूरा नगरेको बीएण्डसीको सम्बन्धन तत्काललाई टरेको भने पुष्टि गरेका छन्।

उनले देशसञ्चारसँग भने, ‘प्रस्तावित बीएण्डसी मेडिकल कलेजले मापदण्ड पूरा गरेपछि मात्रै सम्बन्धन पाउने छ। त्यससम्बन्धी आयोगले निर्णय नै गरिसकेको छ।’

प्रधानमन्त्री ओली र शिक्षा मन्त्रीले बीएण्डसीलाई सम्बन्धन दिलाउन दिएको दबाबलाई लिएर तीब्र विरोध सुरु भएको छ।

‘बृहत नागरिक आन्दोलन’ र ‘सोलिडारिटी फर डा. केसी आलान्स’ले डा. गिरीको सुरक्षाको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा राज्य शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्री र मन्त्रीहरुले ज्यादति गरेको उल्लेख गरिएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिक भएको दाबी गर्दै आएका बीएण्डसी सञ्चालक दुर्गा प्रसाईंको पछिल्लो पटक आउजाउ बालुवाटारमा बाक्लिएको थियो। उनले सम्बन्धन नपाउँदा आफ्नो करोडौँको लगानी खेर गइरहेको दाबी गर्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?