
काठमाडौँ- सरकारले पटकपटकको प्रयासपछि केही विवादबीच चीनको सिनोफार्म कम्पनीसँग कोरानाविरुद्ध भेरोसेल खोप खरिद गर्ने निर्णय गरेको छ। सरकारका एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले सिनोफार्म कम्पनीसँग खोप गरिद गर्ने निर्णय गरेको हो।
सिनोफार्म कम्पनीले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएपछि सरकारले उक्त कम्पनीसँग खोप खरिद गर्ने निर्णय गरेको हो। ‘नेपालको लामो कूटनीतिक प्रयासपछि सिनोफार्मले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएको थियो। त्यसका आधारमा सरकारले त्यो कम्पनीसँग खोप खरिद गर्ने निर्णय गरेको हो। अब त्यसकै आधारमा खोप खरिद प्रक्रिया अघि बढ्छ।’
तर खोप ‘नन डिस्कोलजर एग्रिमेन्ट’ अन्तर्गत यो खरीद प्रक्रिया अघि बढाएपछि केही स्वास्थ्य अधिकारीहरुमै केही आशंका उत्पन्न भएको छ। खोपको मात्रा, मूल्य र आपूर्तिको समयसीमाबारे खोप खरिद प्रक्रियामा संलग्न सरकारी अधिकारीहरुले गोप्य राख्ने प्रयास गरेका छन्। यो खोप खरिद प्रक्रियामा नेपाल र चीन सरकारबीच र खोप उत्पादक कम्पनीसँग गरी दुई खाले सम्झौता हुँदैछ।
स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीका अनुसार यस अघि विभागबाटै खोप खरीदका लागि उक्त कम्पनीलाई जेठ ११ गते पत्र पठाइएको थियो। तर उक्त कम्पनीले खोपको मूल्य गोप्य राख्नुपर्ने शर्त राखेको थियो। दातृ निकायबाट प्राप्त रकम खोप खरिदमा लगानी गर्नुपर्ने बाध्यताका कारण खोपको मूल्यलगायत विषय गोप्य राख्न नमिल्ने अडान लिएका थिए।
त्यसपछि सिनोर्फामले कुनै प्रतिक्रिया जनाएको थिएन। तर खोप खरिदलाई लिएर सरकार चर्को दबाबमा परेको थियो। त्यसपछि परराष्ट्र मन्त्रालय, उपप्रधानमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिबाटसमेत खोपका लागि अनुरोध गएपछि सिनोर्फामले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएको हो। यसमा सबैभन्दा ठूलो प्रभाव राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिन पिङलाई गरेको अनुरोध भएको स्वास्थ्य अधिकारीहरुले बताउँछन्।
स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा स्वास्थ्य सेवा विभागले हाललाई ४० लाख मात्रा खरिदका लागि उक्त कम्पनीलाई पत्र पठाउने तयारी भएको छ। स्वास्थ्य अधिकारीहरुको यसैमा केन्द्रित छलफलले निरन्तरता पाएको छ। ‘सिनोर्फामसँग हामीले कम्तिमा ४० लाख मात्रा खोप खरिद गर्न चाहन्छौँ भनेर पत्र लेख्दै छौँ। साथै कति चरण गरेर खोप दिन लागिएको हो त्यसबारे सोध्ने छौँ। एकै पटक खोप ल्याएर नेपालमा राख्ने ठाउँ नभएकाले थोरै थोरै गरेर ल्याउनु पर्ने अर्को बाध्यता हामीसँग छ।’
तर स्वास्थ्य सेवा विभागकै एक अर्का अधिकारीले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’बाट खोप खरिद गर्न वर्तमान कानुनले नदिने भएकाले त्यसबारे पनि उत्तिकै छलफल भइरहेको छ। त्यसैले पनि स्वास्थ्यमन्त्रालयले यसबारे सूचना सार्वजनिक गर्न डराएको उनको भनाइ छ।
उनले एक मात्रा खोपका लागि एक हजार रुपैयाँ तिर्ने सम्झौता भएको हुन सक्ने बताए। तर उनले भने, ‘सरकारको पटकपटक खोप खरिद प्रक्रिया असफल भएको छ। अर्कोतिर खोपबाट नागरिकलाई बञ्चित गराएको आरोप पनि छ। त्यसका कारण यसपटक यो खरिद प्रक्रियाबारे सूचना चुहाउनेलाई कारवाही नै गर्ने चेतावनी दिइएको छ। त्यसैले सबै कुरा बताउन मुस्किल छ।’
सिनोफार्मले नै उत्पादन गरेको १८ लाख मात्रा भेरोसेल खोप नेपालले अनुदानमा प्राप्त गरिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले खोप उपलब्ध गराउन सक्ने सबै मुलुकसँग खोप खरिद प्रक्रिया अघि बढेको र त्यसबाट सकारात्मक नतिजा आउनेमा आफू आशावादी भएको बताए। उनले भने, ‘सरकारले खोप खरिदका लागि विभिन्न चरणमा प्रायसहरुलाई तीब्र पारेको छ। तर कहाँबाट कति भन्ने अझै निश्चित भए जस्तो मलाई लाग्दैन।’
प्रतिवद्धता दोहोर्याइरहन्छ कोभ्याक्स
यता कोभ्याक्स कार्यक्रमले नेपाललाई जेठ १५ भित्र उपलब्ध गराउने प्रतिवद्धता जनाएको कोभिसिल्ड खोपको समयसीमा फेरि धकलेको छ। उसले अब यही असार १५ सम्ममा खोप उपलब्ध गराउने प्रतिवद्धता दोहोर्याएको छ।
यसअघि उसले ३ लाख ४८ हजार मात्रा कोभिसिल्ड खोप नेपालालई उपलब्ध गराएको थियो। कोभ्याक्सले नेपाललाई २० लाख कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो। नेपालले उसको प्रतिवद्धता अनुसार सबै खोप उपलब्ध गराउन ताकेता गरेपनि उसले विश्वभर नै खोप अभाव भएको कारण देखाउँदै खोप उपलब्धतामा बिलम्ब गरेको छ।
भारतस्थित सेरम इन्स्टिचियुटले उत्पादन गरेको कोभिसिल्ड नेपाललाई उपलब्ध गराउने प्रतिवद्धता कोभ्याक्सले जनाएकोमा भारतमा महामारी तीब्र भएपछि भारत सरकारले नै त्यसको निर्यातमा तत्काललाई प्रतिबन्ध लगाएपछि उसले नेपालसँग गरेको प्रतिवद्धता पुरा गर्न नसकेको हो। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा.तारा पोखरेलले भने, ‘अब जुनभित्र कोभ्याक्सले हामी यति मात्रा खोप उपलब्ध गराउन सक्छौँ भन्ने पत्र पठाउने छ। त्यसपछि हामीले खोप व्यवस्थापनको निश्चित जानकारी दिनेछौँ। र, जुलाईको पहिलो सातासम्म नेपालमा खोप आउला भन्नेमा आशावादी छौँ।’
यसपटक कोभ्याक्सले कम्तिमा पनि पहिले दिए जति ३ लाख ४८ हजार मात्रा कोभिसिल्ड उपलब्ध गराउने उनको अनुमान छ। यता १० लाख मात्रा कोभिसिल्ड खोपका लागि रकम भुक्तान गरेपनि त्यो खोप तत्कालै भारतले उपलब्ध गराउनेमा आफूहरु विश्वस्त नभएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।