
काठमाडौं – पहिरोले मेलम्ची नदी थुनिएको र उक्त बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुबाउने गरी बाढी आएको छ। मेलम्ची नदीमा मंगलबार राति एक्कासी बाढी आउँदा मेलम्ची बजारको तल्लो क्षेत्र डुवानमा परेको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार मेलम्चीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका २० जना हराएका छन्। शव फेला परेका एक जनाको सनाखत हुन सकेको छैन।
सम्पर्कविहीन भएका २० मध्ये ३ जना भारतीय र ३ जना चिनियाँ नागरिक छन्। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले ७४ जनालाई सकुशल उद्धार गरेको छ।
एक चिनियाँ नागरिकसहित ५ जना घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएको छ।
बाढीले मेलम्ची नगरपालिकाका ६ सय जना, हेलम्बु गाउँपालिकाका ३ सय जना स्थानीय बासिन्दा प्रभावित भएका छन्।
हेलम्बु गाउँपालिकाका ३ वटा र मेलम्चीमा एउटा झोलुंगे पुल, हेलम्बु गाउँपालिकामा ३ वटा र मेलम्चीमा एउटा पक्की पुल बाढीले बगाएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ।
हेलिकप्टरबाट बुधबार गरेको निरीक्षणका क्रममा पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने लार्के भन्ने ठाउँमा ठूलो पहिरो गएको छ।
उक्त पहिरोले मेलम्ची नदी थुनिएर बनेको ठूलो दह फुटेर बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
थुनिएको मेलम्ची नदी एक्कासि पहिरोको माटोसहित बग्दा मेलम्ची बजार तहसनहस भएको हो।
मेलम्ची बजार डुवानमा परेपछि स्थानीय बासिन्दा इन्द्रेश्वर माध्यमिक विद्यालय र प्रहरी चौकी भएको क्षेत्रमा आश्रय लिएर बसेका छन्।