
बुटवल – लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीका लागि नेकपा एमालेले दाबी गरेको एमालेकै लेटरप्याडमा मुख्यमन्त्री नियुक्त गरेको तथ्य फेला परेको छ।
गत वैशाख १९ गते एमालेले संसदीय दलका नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुखलाई पत्र बुझाएको थियो। प्रदेश प्रमुख यादवले सोही पत्रमा हातैले मुख्यमन्त्री नियुक्त गरेको ब्यहोरा लेखेर हस्ताक्षर गरेका छन्।
‘संविधानको धारा १६८(१) बमोजिम मुख्यमन्त्री नियुक्त गरी आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेश सभामा बहुमत सदस्यहरू (४१) जनाको हस्ताक्षरसहित दाबी पेश गर्नु भएका नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता माननीय शंकर पोखरेललाई संविधानको धारा १६८(१)को उपधारा (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको छु,’ प्रदेश प्रमुखले एमालेले बुझाएको पत्रको पुछारमा लेखेका छन्।
पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएपछि गरेको मन्त्रिपरिषद् बिस्तारको सूचना भने प्रदेश प्रमुख कार्यालयको लेटरप्याडमै छ। पार्टीको लेटरप्याडमा यादवले मुख्यमन्त्री नियुक्त गर्ने व्यहोरा लेखेकोबारे प्रदेश प्रमुख कार्यालयले भने बचाउ गर्छ। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेल भन्छन्,‘संवैधानिक कार्यालयका प्रतिनिधिहरूले ठ्याक्कै यस्तो शैलीमा लेख्नुपर्छ र आफ्नै लेटरप्यायडमा लेख्नुपर्छ भन्ने कतै उल्लेख भएको पाइन्न, उहाँलाई त्यसरी सहज लागेर त्यसो गर्नुभएको हो।’
मुख्यमन्त्रीले संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि सो प्रस्ताव फेस नगरी राजीनामा दिएर वैकल्पिक सरकार बनाउन बाटो खुलेको जनाएका थिए। सोही दिन एमाले संसदीय दलको बैठक बसेर उनलाई नै फेरि मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
उनलाई मुख्यमन्त्री बनाउन एमालेले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा ४३ सांसदको हस्ताक्षर छ। तर त्यसमा उल्लेख भएका २ जनाको हस्ताक्षर भने कीर्ते छ। बैठकमा उपस्थित नभएका अमरबहादुर डाँगी र विमला वली क्षेत्रीको हस्ताक्षर पनि सो पत्रमा छ। पत्रमा माओवादी छाडेर एमाले प्रवेश गरेर कारबाहीमा परेका दधिराम न्यौपाने र दिनेश पन्थीको हस्ताक्षर छ। जसलाई पछि काटिएको छ।
अमरबहादुर डाँगीले वैशाख २२ मा पदबाट राजीनामा दिएका थिए भने सोही दिन नै विमला वलीले माओवादी केन्द्र रोजेको पत्र प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको थियो। यस्तै एमालेमा रहेका दृगनारायण पाण्डेले १९ वैशाखमै पदबाट राजीनामा दिएका थिए।