
काठमाडौँ – नागरिक लगानी कोषले कोरोना प्रभावित क्षेत्रमा विशेष सापटी सेवा सञ्चालन गरेको छ।
निषेधाज्ञाका कारण पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ तथा उड्डयन क्षेत्रमा कार्यरत कर्मचारीले नागरिक लगानी कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई प्रदान गर्ने व्यवस्था मिलाइएको सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए।
मुलुकको हालको असामान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भए पनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको उनले बताए।
उनका अनुसार कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिनेछ।
यस सापटीमा कर्मचारी बचत वृद्धि अवकाश कोषले दिने ब्याजदरसरह नै लिने ब्याजदर निर्धारण गरिएको छ। यस्तो सुविधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्बद्ध सहभागीलाई ०७८ पुस मसान्तसम्म उपलब्ध गराइनेछ भने उक्त सापटी रकम सापटी लिएको २ वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ।