हेलम्बु- विपद् निर्दयी, निर्मम र क्रुर हुन्छ। नेपालका लागि यो नियति बन्दै गएको छ। यो अक्सर सर्वसाधारणको थाप्लोमा बजारिन थालेको छ।
बाढीले सिन्धुपालचोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका क्षेत्रका नदी किनारका हरियाली फाँटलाई पूर्ववत अवस्थामा फर्किन नमिल्ने गरी निलेको छ।
हेलम्बु गाउँपालिका वडा नम्बर २ को चनौटेबजार पनि बाढी बिध्वंशमा मिचिएका क्षेत्रहरुमध्ये एक हो। बाढीले नदी छेउछाउका सबै संरचना जबर्जस्त सोत्तर बनायो। त्यो सँगै भूकम्पपछि ठडिएका ती संरचनाहरुको फेरि मृत्यु भएको थियो। केहीलाई बाढीले अझै उधिनिरहेको छ। नढलेका घरहरु पनि बसोबासका लागि अब सुरक्षित छैनन्।
त्यसैले तिनै घरहरुभित्र छिरेका ढुंगा, माटो र बालुवा खनेर घरधनी र डेरावालका सामानहरु धमाधम निकाल्दै थिए नेपाली सेनाका जवानहरु, सोमबार। उनीहरुलाई सघाउन स्थानीय पनि जुटेका थिए। बाढीका कारण सात दिनदेखि ती सामान निकाल्न सकेका थिएनन् उनीहरुले। कम्तीमा पकाएर खाने भाडाहरु निस्केका थिए खनखानपछि। राहतको अनुभुति गरिएको थियो त्यसबाट। अर्थात विपदमा उनीहरुका लागि सेना सहयोगी बन्दै थियो।
कल्पना भन्दा बाहिरको बाढी आउँदा आश्चर्यमा परेका बाढीपीडित नरबहादुर बस्नेतले भने, ‘सेनाले सामान सार्न सहयोग गरेको छ। कृतज्ञ छौँ हामी। तर सरकारी संयन्त्रका प्रतिनिधि उपस्थित अहिलेसम्म शून्य छ। कम्तिमा अहिलेसम्म नागढुंगाले बचाएको रातो पुल र चनौटेबजार जोगाउनु छ पहिले।’
भुकम्पछि भिरखर्कका कालुमान तामाङ चनौटे बजारमा ४ तले घर बनाउन सफल भएका थिए। करिव ७० लाख रुपैयाँमा उनले घर बनाएका थिए। भवनको भुईँतलामा उनका आफन्तले मोटर साइकल ‘वर्कसप’ चलाइरहेका थिए। तामाङ आफैले भवनको माथिल्लो तलामा ‘माछपुछ्रे गेस्ट हाउस’ चलाएका थिए। बाढीले सबै बेकामे बनाइदियो। उनले भने, ‘हामीले त सामान निमाल्न पनि पाएनौँ। सबै बगर भयो।’
मोटरसाइकल वर्कसप चलाउने आइती तामाङलाई पनि पर्नु चोट परेको छ। उनले भनिन्, ‘गाउँलेहरुका मोटरसाइकल टन्न थिए। केही बगे। केही पुरिए। अब मोटरसाइकल मालिकलाई के दिने?’
अनि रातो पुल र चनौटे बजार बचाउने यो नागढुंगा
बाढीले हेलम्बु र मेलम्चीका बेसीँ र गाउँलाई जोड्ने अधिकांश सडक र पुल भत्किँदा चनौटेको बाँकी बजारसँगै माथिल्लो हेलम्बु खासगरी वडा नम्बर १, २, ३ र मेलम्ची नगरपालिकाका केही वडाहरुलाई जोड्ने ‘बेलीबिज्र’ पुल अनौठो तरिकाले बाँचेको छ हालसम्म। असार १ एक यता आएका दुई वटा बाढी यो पुल माथिबाटै बगेका थिए। तर पनि यो पुल बाँचेको छ। यो पुल र बजारलाई बचाउने काम भने अहिले नागढुंगाले गरेको स्थानीय बताउँछन्। यसमा धार्मिक पक्ष पनि जोडिएको उनीहरुको भनाइ छ।
बस्नेतले भने, ‘यो ढुंगा धेरै वर्ष पहिले बाढीले बगाएर ल्याएको हुनुपर्छ। एक सय वर्ष पहिले मेलम्चीमा बाढी आएको भनिन्छ। त्यसैले बगाएर यो ढुंगा यहाँ ल्याएको रे। पछि यसलाई नागदेवताका रुपमा मानिसहरुले पुजा गर्थे।’ तर यही ढुंगाको भरमा मात्रै अब बस्ने स्थिति भएन अब। त्यसैले आसपासमा तटबन्ध गरिएन पुल भत्किन्छ। त्योभन्दा माथिल्लो भेगका मानिसको थाप्लोमा फेरि अर्को पीडा बजारिन्छ।
स्थानीय हस्त पण्डितका अनुसार तत्काल तटबन्ध गरिएमा यो पुल बच्छ। तर उनले गाउँपालिकाले यसमा सक्रियता नदेखाएको गुनासो गरे। उनले भने, ‘यहाँ बाढी गएको गाउँपालिकालाई थाहा छैन। ऊसँग मेसिन थियो। केही सिप नलागेपछि प्रदेश र संघीय सरकारको सहयोगका लागि समन्वय भइरहेको छ। मेसिन मगाएका छौँ। जाली आउला। पुल जोगिएला।’
मेसिन भए आफैँ पनि खर्च गरेर नदी किनारमा तटबन्ध गर्ने इच्छा स्थानीयको छ। २०३८ सालतिर यो बेंसीमा गाउँबाट झरेर मानिसहरुले बजार बनाएका थिए। बाढी पीडितको अवस्था बुझ्न यहाँ आएका निर्वतमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ यो पुल बचाउन पहल गर्ने आश्वासन दिएर काठमाडौँ फर्किएका छन्।