
काठमाडौं — थापाथलीस्थित नर्भिक अस्पतालले कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यसबाट प्रभावित हुन सक्ने भनिएका बालबालिकाका लागि आवश्यक शय्या तथा अन्य उपचार व्यवस्थाको पूर्वतयारी गरेको छ।
स्वास्थ्य मन्त्रालयले जेठ २१ गते सबै अस्पताललाई दिएको निर्देशनअनुरूप नर्भिक इन्टरनेसनल हस्पिटलले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई आकलन गरी आफ्नो स्वीकृत शय्याको २० प्रतिशत बढी शय्या कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राखेको हो।
नर्भिकले कोभिड १९ को अब आउन सक्ने लहरको जोखिमबाट बालबालिकालाई बचाउन शय्याको व्यवस्थापनसँगै त्यस्तो अवस्थामा स्तरीय सेवा दिने डेडिकेटेड टिमसमेत तयार गरेको छ।
टिममा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी रहेका छन्।
नर्भिक अस्पतालले कोरोनाको सम्भावित अर्को लहरसँग जुध्ने कार्यमा राज्यले सहयोग गर्ने उद्देश्यले आवश्यक वैकल्पिक प्राणवायु(अक्सिजन) तथा अन्य सबै कामको पूर्वतयारीसमेत सुरु गरिसकेको छ।
कोभिड बिरामीको संख्या न्यून भए पनि कोभिडका लागि छुट्ट्याइएको बेडलाई अर्को लहरसँग जुध्न तयारी अवस्थामा राखिएको हो।
यस्तै, नर्भिकले अभिभावकलाई आफ्ना बालबालिकामा कोरोना संक्रमितको सम्पर्कमा गएपछि देखिने मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोमका लक्षण देखा परे तुरुन्त अस्पताल पुर्याउनसमेत आह्वान गरेको छ।
यो भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गाैला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो।
यो सामान्यतया बालबालिकामा पनि कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखा पर्छ।
यसका लक्षणमा आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनुलगायत छन्।
कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा र माथि उल्लेख गरिएकामध्ये कम्तीमा कुनै दुई लक्षण देखा परे तुरुन्त अस्पताल लैजानुपर्ने विशेषज्ञ चिकित्सकहरूको सुझाव छ।