साउदीको पसिना चिउरीखर्कमा स्वाहा, लालपुर्जा हात नपर्दै मोही रित्तिए (स्थलगत भिडियो रिपोर्ट)

+
-

हेलम्बु-  चिउरीखर्ककी २३ वर्षीया सरस्वती थापा मागर र उनका दाइ २५ वर्षीय दीपकलाई अझै ऐँठन परिरहेको छ, आफूहरुमाथि पटक–पटक आइलागेका बज्रपातहरु सम्झिँदा।

आँखा ओभानो हुन सकेका छैनन् उनीहरुका। फरक यति हो, सरस्वतीले आफ्नो आँसुका भेल आफ्नै मातृभूमिमै बगाइरहेकी छन्, दीपकले साउदी अरबको तातो हावामा।

गरिबी र अभावसँग आफ्ना पुर्खाहरुको पौठेजोरीसँग उनीहरु परिचित थिए। बाबुबाजेको कष्टपूर्ण र पट्टयार लाग्दो जीवनयापन हटाउने अठोट जन्मिएको थियो उनीहरुमा, शिक्षाको न्यानो घाम पाएसँगै। त्यसैले आम युवा र उनीहरुले देख्ने गरेको सपना फरक थिएन।

तर भूगोल र पारिवारिक पृष्ठभूमिले उनीहरुको सपनाको प्रकृति भने भिन्न थियो। पढाइ र सुरक्षित गासबासको निरन्तरता कल्पिन्थे उनीहरु।

तार्केघ्याङका धनाड्य सोनुर्बु शेर्पाको मोही बन्दाबन्दै खिइएका आफ्ना बुवालाई सुख दिने उनीहरुको चाहना थियो। उनीहरु सानै छँदा विषादीयुक्त खानाले आमा बितिन्। बुवाको छत्रछायाँमा हुर्के उनीहरु।

बुवालाई सुख दिने उनीहरुको स्वाभाविक कर्तव्य बन्यो। तर फाँटहरुमा हातगोडा चिस्याउँदा चिस्याउँदै बुवा सानोहिराबहादुर बिरामी परे। उनी आफ्ना बाबुको पदचाप पछ्याउँदा पछ्याउँदै थला परेका थिए।

रोग पहिचानमा मात्रै उनीहरुले २ वर्ष खर्चे। छिमेकीबाट ऋण काडेपछि उपचारका लागि उनीहरुको काठमाडौँ यात्राको बाटो खुल्यो।

सानो हिराबहादुर र छोरी सरस्वती। तस्बिरहरु: रविन आचार्य

सानो हिराबहादुर नसाको समस्याबाट पीडित रहेछन्। उनको खुट्टाको शल्यक्रिया भयो। तर त्यसपछि न राम्ररी खुट्टा टेक्न सके न बोली नै स्पष्ट भयो। तैपनि खेतबारीमा पसिना बगाउन छोडेनन्। उनको मेहनत र पसिनाले फाँट मात्रै होइन पाखो पनि हरियाली बन्दै थियो। त्यही बीचमा उनीहरुको चिटिक्क परेको सानो घर थियो।  कहिलेकाहीँ सानो हिराबहादुर फाँटतिर सोझिएर परिवारलाई भन्थे, ‘यो फाँटको लालपुर्जा हात परेका दिन राम्ररी निन्द्रा लाग्ला।’

तर निष्फ्रिक्री निदाउने उनका दिन आएनन्। अब त उनले आश मारिसकेका छन्।

६ वर्षअघि आश्चर्यमा पर्ने गरी भुइँचालो आयो। त्यसले उनीहरुको ओत (घर) खण्डहर बनाइदियो। उनीहरु पालमुनि हुँदै जस्तापाताको टहरोमा सीमित हुन पुगे। सानो हिराबहादुरले आफ्नै भाग्यलाई सरापे। ओतको निसाना मेटिएपछि सरस्वती र दीपकलाई आफ्नो कर्तव्यले झक्झकायो। सपना बदल्न दबाब पर्‍यो। पढाइलाई निरन्तरता दिने चाहना उनीहरुले भित्रभित्रै आफै निमोठे।

भग्नावशेष बनेको घरले उनीहरुलाई सहर धकेल्यो। दीपकलाई त त्योभन्दा टाढा पराई देशमा हुत्यायो। सरस्वतीले काठमाडौँमा ‘ब्युटिसियन’ तालिम लिइन् आफन्तको सहयोगमा। तत्कालै जागिर पनि पाइन्। कम्तिमा गाउँमा अपांगता भएका बुवाका लागि उनले नुन–तेल जुटाइन्।

साउदीमा दीपकको दुःखको हिसाबकिताब थिएन। निमेक नगरे न्यूरोको समस्या बोकेका बुवा भोकै पर्ने अवस्था थियो। बुवाको उपचारसँगै कम्तीमा चिउरीखर्कको फाँटमा एउटा पक्की घर ठडाउने चाहनासमेत जिवितै रह्यो उनीहरुको मनमा।

यता सरकारले बिलम्ब गरेर भएपनि आफ्नो बाचा पूरा गर्‍यो। घर बनाउन सरकारबाट तीन लाख पाए। सरस्वती र दीपकले त्यसमा थपथाप गरे। फाँटमा एक तले पक्की घर ठडियो। त्यसका साथै सात आना जग्गा पनि उनीहरुले पाउँदै थिए।

सानो हिराबहादुरसँगै उनका दाई सानोदिलबहादुरको परिवार पनि फाँटमै सर्‍यो, भुइँचालोपछि। फाँटमा घर अगाडि सडक थियो। मेलम्ची खानेपानी आयोजनाको सुरुङस्थल जाने मुख्यबाटो त्यही नै थियो। आसपासको विकासमा यसले सहयोग पुर्‍याउँदै थियो। आडैमा पल्लो गाउँ ओडारे जोड्ने झोलुङ्गे पुल थियो। सानो हिराबहादुरको घरको शिरमा ट्राउट फार्म फस्टाएको थियो। कलकल बग्ने पानी चिउरिखर्कबासीका लागि आम्दानीको स्रोत बन्दै थियो।

यो भेगमा कम्तीमा थापा मगर जातका ४० घर थिए। कोही नातेदार, कोही छिमेकी। उनीहरुको पेशा पनि मिल्थ्यो। अधिकांश मोही थिए। उनीहरुका बाबुबाजे आज होइन सय वर्ष पहिले नै गोरखाबाट यहाँ आएर मोही बन्ने सिलसिला सुर गरेका थिए। फाँटमा घर बनाएर बसेपछि उनीहरुले लालपुर्जा लिन निकै संघर्ष गर्नु परेको थियो।

बाढीबाट आफूले भोगचलन गर्दै आएको खेतबारी र बस्दै आएको घर गुमाएका सानो दिलबहादुर।

तर विडम्बना, लालपुर्जा हात पर्नै लागेका बेला न उनीहरुसँग खेतबारी रह्यो, न घर नै। मन पनि हारेको छ। मोहियानी हकका कारण उनीहरुका लागि त्यो सुविधा सँघारमा उभिएको देखिन्थ्यो।

तर असार १ र ३ गतेको बाढीले सानो हिराबहादुरको खेत बगायो। सानो दिलबहादुरको घर खेत लग्यो। अन्य २० जनाको पनि उस्तै हाल बनायो। बाढीमा ज्यान बचाउन सफल भएका उनीहरुले आफ्नो पसिना बचाउन सकेनन्। सरस्वती र दीपकको समझदारी र धैर्य उनको परिवारमाथि बज्रेको अर्को दशासामू फिका भयो। बाढीले उनीहरुलाई फेरि कहाली लाग्दो मोडमा उभ्यायो। भूइँचालोपछि बदलिएका दिनमाथि ग्रहण लागेको छ।

७ असारमा साँझपख आफ्नो खेत, आफन्त र छिमेकीका घरहरु बगर बनेको ठाउँमा एकोहोरिएकी सरस्वतीले आफ्नो पीडा बिसाइन, ‘गाउँमा आफ्नै मेहनतमा रमाउने हामीमाथि प्रकृतिले पटकपटक बज्रपात गरेको छ। दैवले गरिबकै थाप्लामा हान्दो रहेछ। यस्तो बेला सहयोग गर्ने कोही आएको छैन। हाम्रा लागि सहयोग मागिदिनुहोस्। हामी बेसाहारा भयौँ।’ अहिले यहाँका बाढी पीडित पाखोमा टेन्टमुनि सीमित छन्।

सरस्वतीले बाढीमा बुवालाई पनि धन्नै गुमाएकी थिइन्। नदिमा लेदो र धमिलो पानी आएपछि माछा मार्न गएका उनका बुवा चार घण्टासम्म हराएका थिए। सरस्वतीले बुवाको आश मारिसकेकी थिइन्। उनका आँसु रित्तिएका थिए। अध्याँरोमा विध्वंस मच्चाइरहेको नदीमा बुवा खोज्न जाने आँट पनि उनले गर्न सकिनन्। तर करिब चार घण्टापछि उनका बुवा हस्याङफ्स्याङ गर्दै घर आइपुगे। उनले माछा मार्न लाग्दै गर्दा बाढीका छालहरु आएपछि उनीमाथि जंगलतिर भागेका रहेछन्।

सानो दिलबहादुर र उनीका परिवारका सदस्यहरु।

घरमा आइलागेको यो बज्रपाात सम्झेर उता साउदीमा दीपक चिन्तामा डुबेका छन्। तर तत्कालै घर आउने उनको बाटो बन्द छ। अब त झन् उनीमाथि बोझ थपियो। ‘घरमा जे जति भयो भनिएको छ त्यसमा मलाई विश्वास नै लागेको छैन। पत्यार नै लागेको छैन। फलामजस्तै बनेर कमाएको पैसा बगरमा गयो रे भन्दा मैले आफूलाई सम्हाल्न सकेको छैन,’ उनले बहिनी सरस्वतीलाई पठाएको सन्देश हो यो।

तर पनि उनले सरस्वतीलाई हौसला दिएका छन् ‘जतिसक्छु कमाउँछु। घर पठाउँछु। तिमी बुवालाई सम्हाल है।’

सरस्वतीका ठूलो बुवा सानोदिलबहादुरको परिवार पनि अन्यौलग्रस्त छ। उनीहरुले पनि सोनुर्वु शेर्पाको जमिन भोगचलन गर्दै आएका थिए। उनले घरखेतको लालपुर्जा हात पार्ने दिनमै बाढीले घरखेतको निसाना मेटिदियो।

थापाले बिलौना गरे, ‘हामीले जतिबेला लालपुर्जा लिएर पैसा दिने योजना बनाएका थियौँ त्यति नै बेला बाढीले केही बाँकी राखेन। न लालपुर्जा हात लाग्यो न पैसा नै जोगियो।’

उनले आफ्नो घरमा खाद्यन्नको पसल गरेर त्यसलाई हातमुख जोड्ने माध्यम बनाएका थिए।’

बाढी आएपछि कसोकसो उनका छिमेकीले उनका केही सामान पाखातिर फालिदिए। ती सामान बटुलेर बाढीले काट्नै लागेको भाइ सानोहिराबहादुरको घरमा पसल थापेका छन्।

सरस्वतीले भनिन, ‘ठूलो बुवाको पनि बाँकी केही रहेन। छिमेकीले केही सामान पाखातिर हुत्याइदिनु भएको रहेछ। त्यसलाई बटुलेर यहाँ पसल थाप्नुभएको छ। तर यो घर कुनै पनि बेला बाढीले बगाउन सक्छ। कम्तिमा बास बस्न पाखामा जाऔँ भनेको ठूलो बुवा मान्नुनै भएकै छैन।’

बाढीले ढुवाएको सानोहिराबहादुरको गोठ।

यो वस्तीमा अहिले सरस्वती र नजिकै रहेका उनका आफन्त ७० वर्षीय लेखबहादुर थापा मगरको मात्रै घर ठडिएको छ, बाढीले यी घरका धरातल उधिनिसकेको छ।

लेखबहादुर साँझ परेपछि घरमा ताल्चा लगाएर उकालो लागे। उनलाई आफ्ना बाख्रा जोगाउनु थियो। उनले भने,‘राती बाढी आयो,ड्याङड्याङ डुङ्डुङ् गर्‍यो। आँखा झिमिक्क नगरी उज्यालो भयो। बिहान उठ्दा सबै नदिमै मिलेछ। घर सबै बगाएछ।।’ या त क्षतिग्रस्त भए या नदीले निल्यो।

सिमेसिदाङ हिमालको फेदीमुनि भेमाथाङको चौर खसेर चुलिएको हेलम्बु मेलम्ची नदि एक्कासि खोलिँदा ती घरहरु बाढीका शिकार बनेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?