
काठमाडौं-अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय १० औँ महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको महाधिवेशन आयोजक कमिटी भंग गरेको छ।
अध्यक्ष निकट एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने बताएका छन्। उनले बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठक अन्तिम भएको बताए।
योसँगै यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय पनि गरेको उनको भनाइ छ। तर यही बैठकले भने नेकपा निर्माणका बेला एमालेतिर र माओवादीतिर बनेका स्थायी कमिटी सदस्य बनेकालाई एमाले स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ।
नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन्।
बैठकले माधव नेपालसहित ११ जना नेतामाथि गरेको कारवाही निष्प्रभावी भएको ज्ञवालीले बताए।