
काठमाडौँ– नेकपा एमालेका नेता घनश्याम भुसालले विगत १० दिनदेखि नेकपा एमाले एकताका लागि कुनैपनि प्रगति नभएको स्पष्ट पारेका छन्।
एकता प्रयासका लागि भएका छलफलमा किन प्रगति भएन भन्ने नखुलाए पनि उनले विगत १० दिनमा एकताका लागि गरेका प्रयासमा कुनै प्रगति नभएको बताएका हुन्।
बिहीबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएपनि ओली पक्षका नेता अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि नेताहरु छलफल नगरि उठेका छन्।
भुसालले भने, ‘नेकपा एमालेको एकतामा कुनै प्रगति भएको छैन। हामी दश दिन अगाडि जहाँ थियौँ, त्यहीँ छौँ। आज विष्णु पौडेल सहभागी हुनुभएन। हामी छलफल बिनानै उठ्यौँ।’
तर ओली निकट कार्यदलका सदस्य सुवास नेम्वाङले निष्कर्ष नआउन्जेलसम्म प्रगति भएको नठानिने तर्क अगाडि सारेका छन्।
वार्तास्थलबाट बाहिरिएपछि नेम्वाङले भने, ‘तीन वर्ष अगाडिदेखिको स्थितिलाई नौ/दश दिनमा सहमितको ठाउँमा पुर्याएछौँ भने त्यो उपलब्धि ठहरिने छ। आशा गरौँ भोलि ११ बजे पुनः बस्ने कार्यदलको बैठकले समस्या समाधान गर्नेछ।’