
काठमाडौँ– कोरोना महामारीका कारण बन्द अवस्थामा रहेका रेस्टुरेन्ट तथा होटल व्यवसाय भौतिक रूपमा सञ्चालन गर्न दिनुपर्ने व्यवसायीले माग गरेका छन्। होटल व्यवसायीले कर्मचारीको तलबदेखि बहाल तिर्न कठिनाइ भएको बताएका छन्।
कतिपयको आफ्नो घर जग्गा भए पनि ९५ प्रतिशत रेस्टुरेन्ट व्यवसायीले भाडा तिरेर व्यवसाय सञ्चालन गर्दै आएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले जनाएको छ। कतिपयलाई भाडा तिर्न तथा घर जग्गा खाली गर्न ताकेता गरेका छन्।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालका कोषाध्यक्ष तथा रेस्टुरेन्ट सिजन सेवनका मालिक नरेशध्वज श्रेष्ठले घरबेटीले घर–जग्गा खाली गर्न सूचना टाँसेको जानकारी दिए।
उनले भने, ‘हामीबीच घर–जग्गा बहालको सम्झौता सकिएको छ। तर अहिले महामारीमा भनेका बेला घर–जग्गा भाडामा पाउने अवस्था छैन। उहाँहरूसँग समय मागेको छु।’
बन्दाबन्दी भए पनि आफूले भाडा समयमै दिने गरेको उनले बताए। लामो समय बन्द अवस्थामा नै रहेकाले अब घरभाडा तिर्न नसक्ने तथा व्यवसाय नै धराप अवस्थामा पुगेको कोषाध्यक्ष श्रेष्ठले बताए।
यस्तै, रेबानका सचिव एकराज अधिकारीले पनि रेस्टुरेन्ट व्यवसाय भौतिक रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गरे।
‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक रूपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्यो’, उनले भने, ‘सरकारले अनुगमन टोली बनाएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए, नभएको अनुगमन गर्नुपर्यो। यदि, कसैले पालना नगरेको देखिए कारबाही गर्नुपर्यो। तर, व्यवसायचाहिँ सञ्चालन गर्न दिनुपर्यो।’
यस्तै, रेबानका सदस्य विप्लव भट्टले रेस्टुरेन्ट व्यवसाय सञ्चालनमा ल्याउन दिनुपर्नेमा जोड दिए। लामो समयको बन्दाबन्दीले व्यवसाय धराशयी भइसकेको उनको भनाइ छ।
गत वर्ष भएको लकडाउनले शिथिल भएको रेस्टुरेन्ट तथा होटल व्यवसाय माथि उठ्न नपाउँदै कोरोनाको नयाँ लहर आएसँगै पुनः ओरालो लागेको उनले बताए।
ओरालो लागेको व्यवसायलाई उकालो लगाउन रेबानका व्यवसायीलाई सकस भएको छ। रेबानका अध्यक्ष अरनिको राजभण्डारीले सरकारले अनुमति नदिए पनि अब रेस्टुरेन्ट सञ्चालनमा ल्याउने बताए।
उनले नेपाल पर्यटन बोर्डको कोरोनासम्बन्धी स्वास्थ्य प्रोटोकल पालना गर्दै सञ्चालनमा ल्याउने बताए।
‘सरकारसँग पटक–पटक स्वास्थ्य प्रोटोकल अपनाएर रेस्टुरेन्टमै बसेर खाने गरी व्यवसाय सञ्चालन गर्न अपिल गर्यौँ’, उनले भने, ‘तर सरकारले हाम्रो अपिल सुनेन। धेरै व्यवसायी विस्तापित भइसके । यस्तै हालत भए अझै विस्थापित हुन्छन्।’
व्यवसाय नै विस्थापित हुनबाट रोक्नुपर्ने उनको माग छ। सरकारले रेस्टुरेन्ट व्यवसायलाई पक्षपात गरेको उनले आरोप लगाए। ‘अन्य व्यवसायजसरी हामीले पनि राज्यलाई समयमै ट्याक्स तिरेका छौँ’, उनले भने, ‘यस विषयमा सरकारले सोच्नुपर्छ।’
कोरोना महामारीको जोखिम कहिले सकिन्छ भन्ने थाहै छैन। त्यसैले अब कोरोनासँगै बाँच्न सिक्नुपर्ने अध्यक्ष राजभण्डारीको भनाइ छ।
उनले थपे, ‘हामीसँग कृषि क्षेत्र जोडिएको छ। रेस्टुरेन्टमा करिब साढे चार करोडभन्दा बढीको कृषि उपज खपत हुन्छ। त्यो पनि रोकियो।’
रेस्टुरेन्ट व्यवसायले डेढ लाख जनालाई रोजगार उपलब्ध गराएको रेबानले जनाएको छ। तर, अहिले धेरैले काम छाडिसकेका छन् भने काम गरिरहेका कर्मचारीलाई आधा तलब दिनुपरेको रेबानले जनाएको छ।
सरकारले अन्य व्यवसाय सञ्चालनमा ल्याए पनि अझै होटल तथा रेस्टुरेन्ट, जिमखाना, क्लब, शैलुन तथा ब्युटीपार्लरलगायत व्यवसाय अझै बन्द अवस्थामा छन्।
कोरोनाको जोखिम बढ्ने कारणले यी क्षेत्र अझै सञ्चालनमा आएका छैनन्।