
सिड्नी– कोरोना सङ्क्रमण नियन्त्रणमा नआएपछि अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लकडाउनको अवधिलाई कम्तिमा दुई हप्ता थपिएको छ । यसअघि जुलाई १६ सम्म रहेको लकडाउन यो घोषणासँगै आगामी जुलाई ३० तारिखसम्म लम्बिएको हो।
न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले आज ९७ जना नयाँ कोरोना सङ्क्रमित भेटिएपछि सङ्क्रमणलाई नियन्त्रणमा लिने प्रयासस्वरूप ‘ग्रेटर सिड्नी रिजन’ मा थप दुई हफ्ताका लागि लकडाउनको अवधि लम्ब्याइएको जानकारी दिइन्।
राज्यमा गत २४ घण्टामा ९७ वटा नयाँ कोरोना सङ्क्रमित भेटिएका थिए भने यो सङ्ख्या अघिल्लो दिन ८९ रहेको थियो। कोरोना सङ्क्रमणको नयाँ लहर शुरू भएपश्चात् यो सङ्ख्या गत सोमबार सबैभन्दा उच्च अर्थात् १ सय १२ रहेको थियो।
नयाँ लहर शुरू भएपछि प्रिमियर ग्लेडिज बेरिजिक्लिनले न्यूसाउथवेल्स राज्यमा गत जुन २५ मा पहिलोपटक लकडाउनको घोषणा गरेकी थिइन्।
‘गत २४ घण्टामा हामीलाई चिन्तित बनाउने सङ्ख्या २४ हो। २४ जना मानिसहरू कोराना सङ्क्रमण भएको बखत समुदायमा उपस्थित थिए। हामीले त्यो सङ्ख्यालाई सकेसम्म शून्यमा झार्न प्रयत्न गर्नुपर्दछ,’ प्रिमियर बेरिजिक्लिनले आज आयोजित पत्रकार सम्मेलनका क्रममा भनिन्, ‘दुई हफ्ताको सल्लाह स्वास्थ्यले प्रदान गरेको हो। हामीले दुई हप्ताको अन्त्यतिर मात्र यो लकडाउनलाई कुन हदसम्म बढाउने भन्ने कुरा थाहा पाउनेछौँ।’
घरबाहिर जान निषेध
न्यूसाउथ वेल्स राज्यका ग्रेटर सिड्नी क्षेत्रमा हाल अत्यावश्यक कामका लागि मात्र घरबाट बाहिर निस्कन पाइने नियम लागू गरिएको छ ।
नयाँ प्रावधान अनुसार एउटै घरमा बस्नेबाहेक व्यायाम गर्न बढीमा दुईजना मात्र घरबाहिर जान पाइन्छ । त्यसैगरी अत्यावश्यक वस्तुहरू किन्न एकजना मात्र जान पाइन्छ भने मृत्यु संस्कारमा समेत १० जनाभन्दा बढी जम्मा हुनलाई निषेध गरिएको छ।
त्यसैगरी आगामी शनिबारदेखि राज्यको कोरोना सङ्क्रमणको दर उच्च रहेको क्षेत्र फेयरफिल्डका वासिन्दालाई अन्य क्षेत्रमा अत्यावश्यक कामका लागि जानु परेमा प्रत्येक तीन दिनमा कोरोना सङ्क्रमण नरहेको प्रमाण अर्थात् जाँचपछि ‘नेगेटिभ’ आएको प्रमाण पेश गर्नुपर्नेछ।
आर्थिक सहायता
लकडाउनको अवधि थप गरिएपछि न्यूसाउथवेल्स राज्य सरकार तथा सङ्घीय सरकारले गत मंगलबार राहत प्याकेजको घोषणा गरेको छ ।
कार्यक्रम अन्तर्गत राज्यका कामदारहरूले कोरोनाका कारण रोजगारी गुमाएमा हप्ताको ६ सय डलरसम्म सहायता पाउनेछन् भने व्यावसायीहरूले १५ हजार डलरसम्मको राहत पाउने व्यवस्था गरिएको छ।
न्यूसाउथवेल्स राज्यका ट्रेजरर डोमिनिक पेरोटेटले राज्यका जुनसुकै ठाउँमा अवस्थित भए पनि पीडित कामदार तथा व्यावसायीहरू सो राहतका लागि योग्य हुने बताएका छन्। साथै उनले सङ्घर्ष गरिरहेका भाडावालहरूलाई घर खाली गर्ने चेतावनी नदिनका लागि आग्रह गरेका छन्।
‘म राज्यका सै घरधनीहरूलाई भाडावालसँग कुराकानी गर्न आग्रह गर्दछु। यदि उनीहरू सङ्घर्ष गरिरहेका छन् भने तिर्ने योजना बनाउन अथवा भाडा घटाइदिन आग्रह समेत गर्दछु । त्यसपछि हामीले त्यसबराबरको ‘ल्याण्ड ट्याक्स’ मा राहत प्रदान गर्नेछौँ। ‘ल्याण्ड ट्याक्स’ तिर्न नपर्ने रेसिडेन्सियल ठाउँका घरधनीहरूका लागि हामीले १ हजार ५ सय डलर सम्मको सहयोग प्रदान गर्नेछौँ,’ ट्रेजरर पेरोटेटले भनेका छन्।
कोरोना भाइरसको नयाँ लहर शुरू भएयता हालसम्म कम्तिमा १५ जना नेपालीहरू समेत सङ्क्रमित भइसकेको पुष्टि भइसकेको छ। अधिकारीहरूले कोरोना भाइरसबाट प्रभावित जो कोहीलाई पनि सरकारले सहयोग गरिरहेको र कोरोना सम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै परीक्षण गर्नका लागि आग्रह गरिरहेका छन्।
गत जुन १६ तारिखमा एक लिमोजिन चालकलाई कोरोना पोजेटिभ भेटिएपछि हालसम्म न्यूसाउथवेल्स राज्यमा २ जनाको मृत्यु भइसकेको छ भने ७१ जनाले अस्पतालमा उपचार गराइरहेका छन् जसमध्ये २० जनाको आइसियुमा तथा ४ जनाको भेन्टिलेटरको सहायताले उपचार भइरहेको सरकारी तथ्याङ्क रहेको छ।