
काठमाडौँ – माउन्ट रसुवा हाइड्रोपावर प्रालि गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होलासोथार र मस्र्याङ्दी गाउँपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत् आयोजनाका लागि लक्ष्मी बैंकले कर्जा लगानी गर्ने भएको छ।
उक्त आयोजनाको निर्माण लागत २ अर्ब ९३ करोड ८२ लाख रहेको छ। माउन्ट रसुवा हाइड्रोपावर र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदसम्बन्धी सम्झौता ०७५ साल माघ ७ गते भएको र उक्त आयोजना निर्माणका लागि ऊर्जा मन्त्रालयबाट ०७७ साल कात्तिक ३ गते विद्युत् उत्पादन अनुमति प्राप्त गरेको छ।
माउन्ट रसुवा हाइड्रोपावरलाई रसुवा कन्स्ट्रक्सनलगायत अन्य व्यक्तिले प्रवर्धन गरेका छन् र सोका अध्यक्ष राजेन्द्रराज आचार्य रहेका छन्।
बैंकहरूले आयोजना लागतको ७० प्रतिशत र वाँकी ३० प्रतिशत कम्पनीको लगानी रहनेछ।
उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउन्ट रसुवा हाइड्रोपावरले करिब ८३.१७ गेगावाट आवर विद्युत् वार्षिक उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना २० जुलाई २०२३ मा सञ्चालनमा आउने जनाएको छ।