
काठमाडौँ – आर्थिक वर्ष ०७७।७८ मा ११ सय ८० अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव शिशिरकुमार ढुंगानाले ०७७।७८ मा ११ सय ८० अर्ब खर्च भएको जानकारी दिए।
उनले भने, ‘०७७।७८ मा हामीले कुल बजेट १४ सय ७४ अर्बको सार्वजनिक गरेका थियौँ। पहिलो १५ जेठ ०७७ मा मध्यावधि समीक्षा गर्दा त्यसलाई १२ सय ६६ अर्ब खर्च हुन्छ भन्ने संशोधित अनुमान थियो हिजोसम्मको प्रारम्भिक अनुमानअनुसार ११ सय ८० अर्ब खर्च भएको छ।’
यो सुरु अनुमानको ८०.०८ प्रतिशत र संशोधित अनुमानको ९३.२० प्रतिशत हुन आउने उनले बताए। अर्थसचिव ढुंगानाले चालु खर्चतर्फ ८ सय ५१ अर्ब खर्च भएको बताए।
चालु खर्चको अनुमान ९ सय ४९ अर्ब रहेको र संशोधित अनुमान भने ८ सय ६७ अर्ब रहेको उनले जानकारी दिए। त्यस्तै, पुँजीगत खर्चतर्फ ३ सय ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान २ सय ५१ अर्ब रुपैयाँ रहेकामा पुँजीगत खर्चतर्फ २ सय २८ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको बताए।
वित्तीय व्यवस्थापनअन्तर्गत कुल १ सय ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान १ सय ४५ अर्ब रुपैयाँ रहेकामा कुल एक सय अर्ब रुपैयाँ मात्र खर्च भएको उनले बताए।
त्यसैगरी, राजस्वको सुरु अनुमान १० खर्ब ११ अर्ब रुपैयाँ र संशोधित अनुमान ९ खर्ब ५९ अर्ब रहेकामा राजस्वमा मात्रै ९ सय ३८ अर्ब संकलन भएको अर्थसचिव ढुंगानाले बताए।
त्यसमध्ये कर राजस्व ८ सय ७० अर्ब रुपैयाँ र गैरकर राजस्व ६८ अर्ब रुपैयाँ रहेको उनको भनाइ छ। त्यसबाहेक अन्य प्राप्तिमार्फत ४० अर्ब रुपैयाँ प्राप्त गरेको उनले बताए।
अर्थसचिव ढुंगानाले १ सय ६२ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन हुन सकेको जानकारी दिए। आन्तरिक ऋणको सिलिङ २ सय २५ अर्बको रहेकोमा २ सय २४ अर्ब रुपैयाँ संकलन गरिएको उनको भनाइ छ।