
काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियमसहित)आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनका लागि आम ग्राहकलाई लक्ष्य गरीे यो योजना ल्याएको हो।
यस विशेष आवास कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिनेछ।
बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजात पेस गरेको ३ कार्य दिनभित्र बिनाझन्झट कर्जा प्रवाह गर्नेछ।
ग्राहकले नेपालभरि ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाबाट यो सुविधा उपभोग गर्न सक्नेछन्।