
काठमाडौँ- माधवकुमार नेपाल पक्षलाई स्पष्टीकरण सोध्ने आफ्नै निर्णयबाट एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष हटेको संकेत देखिएको छ।
ओली पक्षको सोमबारको केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदहरुलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
तर मंगलबारको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले त्यसबारे स्पष्ट जबाफ दिएनन्। २४ घण्टे स्पष्टीकरण सोध्ने विषयमा के निर्णय गर्नु भयो भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘ २४ घण्टा पुगेपछि भनौँला।’
त्यसको अर्थ नेपाल पक्षलाई स्पष्टीकरण पत्र अहिलेसम्म नपठाइएको हो? भन्ने पत्रकारको अर्को प्रश्नमा उनले फेरि भने,‘ २४ घण्टा पुगेको छैन पुगेपछि भनौँला।’
यसअघि विश्वासको मत दिने नेताहरुले पनि आफूहरुले स्पष्टीकरण पत्र नै प्राप्त नगरेको, ओली पक्षले पत्र पठाइहालेको खण्डमा पनि त्यो सर्वोच्च अदालतको आदेशबिपरीत हुने प्रतिक्रिया दिएका थिए।
यस्तै बैठकले शेरबहादुर देउवा सरकारले विघटनको तयारी गरेको भूमि सुधार आयोगलाई बचाउन दबाब दिने निर्णय गरेको छ।
देउवा सरकारले राजनीतिक आग्रह राखेर आयोग विघटन गर्न नमिल्ने निष्कर्ष बैठकले निकालेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीेले जानकारी दिए। बैठक भोलि फेरि बस्ने गरी सकिएको छ।