
काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकले पार्टी एकताको अन्तिम प्रयास गर्ने जिम्मेवारी फेरि पनि ओलीलाई सुम्पिएको छ। साउन ४ गतेदेखि लगातार चल्दै आएको बैठक यसपटकलाई बिहीबार सकिएको छ।
प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने जिम्मा अध्यक्ष ओलीलाई सुम्पिने निर्णय गरेको बताए। उनले पार्टी एकताका लागि अनुशासन उल्लंघन गर्नेहरुसँग पनि मिल्ने निर्णय गरेको बताए।
उनले भने, ‘अध्यक्षले पार्टी एकतालाई बलियो बनाउन पार्टीमा आउन चाहनेलाई विगतका गल्ती बिर्सेर स्वागत गर्न सकिने धारणा राख्नुभएको छ। त्यसमा अनुशासन उल्लंघन घटनामा संलग्न हुनेहरुलाई विगत विर्सिएर एकतामा संलग्न गराउने कोशिस हुनेछ। त्यसैअनुसार पार्टी अगाडि बढ्ने भएको छ।’
उनले नेपाल पक्षसँग एकताको प्रयास जारी रहेको बताए। नेपाल पक्षसँग एकताको प्रयाज जारी राखेका कारण स्पष्टीकरणका मामिलामा अहिले केही निर्णय नगरेको दाबी उनले गरे।
उनले भने, ‘व्यक्तिलाई रोग लाग्यो भने रोग निको बनाउने हो। हामी त्यही उपचारको प्रयासमा जुट्ने भएको छ। यसको जिम्मेवारी हामीले अध्यक्षलाई दिएका छौँ।’