
काठमाडौँ – नेकपा एमाले पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टी परिकल्पना गर्न सकिने बताएका छन्।
उनले पुष्पलालले मेहेनत गरेर स्थापना गरेको पार्टी जस्तै कम्युनिष्ट पार्टीको आवश्यकता भएको बताएका छन्।
उनले नयाँ संविधान निर्माण गरेपछि चुनावमा एकतावद्ध भएर हिँड्न सक्ने, राष्ट्रघातविरुद्ध आवाज एउटै भएको अवस्थामा धेरै कम्युनिष्ट पार्टीहरुलाई एउटै बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न गरे।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरको च्यासलमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रमको सुरुवातमा छरिएका कम्युनिष्ट पार्टीलाई एक बनाउने उद्देश्यका साथ शुक्रबार कम्युनिष्ट पार्टीहरुका शीर्ष नेताहरु एकै ठाउँमा भेला भएको जानकारी गराए।
उनले भने,‘कम्युनिष्ट पार्टीमा लागेर वर्ग संघर्ष भुलेका छौँ। सामान्तवादविरुद्धको लडाईँ हामीले भुलेका छौँ। सत्तामा रुपान्तरण भुलेका छौँ। अब त्यसलाई तोड्नुपर्छ।’
उनले मुलुकमा कम्युनिष्ट एक नभएमा साम्राज्यवादको मात्रै विकास हुने बताए।
कार्यक्रममा, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका मोहन वैद्य किरण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम ‘विप्लव’का तर्फबाट धमेन्द्र बास्तोला र नेकपा एमाले विद्रोही नेता माधवकुमार नेपाललगायत सामेल छन्।