
काठमाडौँ – नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई विश्वासको मत नदिने आफ्ना खेमाका नेतालाई पनि सलाम भनेका छन्।
उनले भने, ‘विश्वासको मत दिने २२ जना सबैलाई सम्मान गर्न चाहन्छु। बाँकी ११ जना उपस्थित हुनुभएन उहाँहरूलाई सलाम गर्छु। कम्तीमा विपक्षमा भोट खसाल्नु भएन। साउन ३ गते अर्काे ठूलो षड्यन्त्र हुनेवाला थियो। संसद् पटक–पटक भंग गरियो। एउटा प्रधानमन्त्रीले पटक–पटक संसद् सिध्याएको छ। साउन ३ मा गम्भीर षड्यन्त्र भएको थियो। शेरबहादुर देउवा प्रधानमन्त्री नबनुन् भनेर खेल भइह्यो।’
संसद् जोगाउनुका साथै कार्यपालिका र न्यायापालिकाको रक्षा गरेको उनले बताए। उनले भने, ‘हामीले न्यायोजित र संविधानसम्मत काम गरेका छौँ, यसमा हामीलाई गौरव बोध भएको छ।’ उनले ८३ जना पनि मनै नलागेर अनुशासनको कुरा सोच्दै बाध्य भएर जानेहरूलाई पनि सहानुभूति प्रकट गरे।
उनले भने, ‘मुलुकलाई गम्भीर संकटबाट जोगाउन लागिपरेका सबैलाई विशेष धन्यवाद दिन चाहन्छु।’ पुष्पलाल स्मृति दिवसको अवसरमा गत वर्ष आयोजना गरिएको कार्यक्रममा त्यतिखेर नेकपाभित्र ठूलो संकट आएको थियो।
पार्टीभित्रको संकटको प्रभाव नेतृत्व तहमा देखिएको थियो। त्यसको जिम्मेवारकर्ता केपी शर्मा ओली नै भएको उनले सुनाए।
उनले भने, ‘पार्टीको विधि, पद्धति नीति–नियम उल्लंघन गर्दै केपी शर्मा ओली अगाडि बढ्ने काम गर्नुभएको थियो, त्यो अवस्था म आज पनि सम्झिरहेको छु।’
संटकबाट अगाडि बढेको कम्युनिष्ट आन्दोलन फेरि नयाँ चुनौतीसाथ अघि बढिरहेको उनले बताए। उनले भने, ‘पार्टीको जीवनमा पनि चुनौती आउँछन्। त्यसो हुँदैमा आत्तिनुहुन्न। जीवन संघर्ष हो त्यसबाट भागेर मर्छु भन्ने होइन डटेर मुकाबिला गर्नुपर्छ। मैदान छाडेर भाग्ने होइन।’
तत्कालीन नेकपा एमालेमा र नेकपा मालेमा गम्भीर छलफल गरेको स्मरण गर्दै उनले भने, ‘विभिन्न समयमा हामीले छलफल गरेका थियौं, थुप्रै विषयमा छलफल गरेका थियौं। जनताबाट टाढा राजनीति जान सक्दैन।’
गफाडीको गफलाई जनताले पत्याउँदैनन् भन्दै व्यवहारमा देखिए मात्र प्रस्ट हुने उनले बताए। उनले भने, ‘सत्ता यस्तो चिज हो जसले दम्भ पैदा गर्दोरहेछ। सत्ताले मात्रै भ्रष्टीकरण ल्याउँदोरहेनछ बन्दुकले पनि ल्याउँदोरहेछ।’
जंगलमा बस्नेहरूभित्र पनि भ्रष्ट र शुद्धीकरण गर्नुपर्ने उनको भनाइ छ। सत्ताको लत र अहंकारले कम्युनिष्ट र कांग्रेस चिन्दैन भन्दै समाजमा विकृति व्याप्त रहेको उनले बताए।
कस्तो विचार र मान्यताको पक्षपोषण गर्ने हो त्यस्तै संकल्प गर्नुपर्ने उनको भनाइ छ। धर्मेन्द्र वास्तोलाजीहरूमा उग्रवामपन्थी धङधङी अझै बाँकी रहेको उनले बताए। जनताको मन जितेर अगाडि आउन उनले आग्रह गरे।
सबै नेतालाई आ–आफ्नो पार्टीमा भएका कमीकमजोरी सुधार्न जरुरी रहेको उनले बताए। उनले भने, ‘क्रान्तिकारी भाषण र कुराले मात्रै हुँदैन जनताको मन जित्न व्यवहारमा लागू गर्नुपर्छ।’
जनताको पीडा बुझेर कामको कसीमा खरो उत्रन उनले आग्रह गरे। उनले भने, ‘हाम्रो मान्यता र सैद्धान्तिक दृष्टिकोणमा के–के समस्या छन्, त्यो बुझौँ।’
एमाले होस् वा अन्य कुनै पार्टी, सबैले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको उनले बताए। उनले भने, ‘जनताको मन जित्न किन सकिरहेका छैनौं त्यो समीक्षाको विषय बनेको छ। बुझाइमा संकट रहेको छ। आफू बसेको परिवेशलाई चिनौं।’
सत्ताले दम्भ पैदा
उनले जनताबाट टाढा राजनीति गर्न नसकिने बताए। उनले भने- ‘समाजवादले जनताको हित र कल्याणलाई केन्द्रविन्दुमा राख्छ। पुँजीवादले मुनाफालाई केन्द्रमा राख्छ। गफाडीको गफ जनताले पत्याउँदैनन्। व्यवहारलाई मात्रै जनताले पत्याउँछन्। एकचोटिको पराजयले पुग्दो रहेनछ। सत्ता यस्तो चिज हो जसले दम्भ पैदा गर्दो रहेछ।’
उनले ओलीले सुरुमै संकट निम्ताएको बताए। ‘पार्टीभित्रका संकटको तह नेतृत्वमा देखिएको थियो। त्यसको सुरुवातकर्ता ओली नै थिए। पार्टी विधि र पद्धतिलाई उल्लंघन गर्दै अघि बढ्नु भएको थियो। संकट नै संकटले गुज्रिरहेको आन्दोलनमा फेरि पनि चुनौती आएको छ,’ उनले भने।