
नेपालको वर्तमान राजनीति शान्त तलाउमा पक्कै थिएन तर विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले यस्तो एउटा ढुङ्गा हानेका छन्, जसले गर्दा व्यापक रुपमा छालहरु उत्पन्न भएका छन् ।
उनले अघि सारेका संघीयता खारेज र धर्म निरपेक्षताबारे जनमत संघर्ष गर्नुपर्ने प्रस्तावका छालहरु तलाउमै हराउलान् या यसले सीमा नाघेर मुलुकको राजनीतिमा हलचल मच्चाउला? यस्तै प्रश्नमा केन्द्रित रहेर हामीले मिश्रसँग कुराकानी गरेका छौँ।
तपाईँले तलाउमा एकाएक किन ढुङ्गा हानेको?
नेपालको राजनीति यति बिघ्न अशान्त देखिन थाल्यो जसले गर्दा यो देशको अखण्डता, स्वाधीनता, स्वाभिमान, इतिहास, संस्कार, संस्कृति सबै क्षयीकृत भएर गएको र यसमा अझ बढी ठूलो भ्वाङ्गहरु पर्ने सम्भावना मैले प्रशस्त देख्दै गएँ । त्यसै कारणले गर्दा मैले गरेको राजनीति, व्यक्तिगत रुपमा म भन्दै छु, मैले गरेको राजनीति यो देशको लागि गरेको हो, अरुले पनि भन्ने त त्यसै नै भन्ने हो। राजनीतिको केन्द्रमा देश छ। त्यसै भएर मैले दस्तावेजको शुरुकै अंशमा लेखेको छु, मेरो आत्मालाई साक्षी राखेर राष्ट्रिय हितलाई शिरमा र यो देशलाई केन्द्रमा राखेर मैले यो ‘मार्ग परिवर्तन विचार भन्दा माथि देश’ दस्तावेज छलफलका लागि अघि सारेको छु भनेको छु।
यसबारे यो भन्दा झण्डै चारवर्ष अगाडि तपाईले जतिबेला पार्टी स्थापना गर्नुभएको थियो,त्यसपछि एकीकरण भइसकेको अवस्थामा पनि तपाईँले एउटा बुँदामा स्पष्ट रुपमा लेख्नुभएको थियो। तर, यो विषयलाई यो बीचमा तपाईँले किन ल्याउन सक्नुभएको थिएन ?
०७२ सालमा संविधान आयो, हामीले ०७४ मा पार्टी सुरु गर्यौँ। त्यो बेलामा शंकाको सुविधा दिनुपर्छ भन्ने मेरो मान्यता थियो । मलाई आशंका चाहिँ थियो । जुन किसिमको राजनीति देख्दै आएको थिएँ, जुन किसिमको राजनीति मैले राजनीतिक पत्रकारका रुपमा बुझ्दै आएको थिएँ र समाजलाई जसरी मैले चिनेको थिएँ- ममा आशंकाहरु थिए तर पनि यदि नयाँ किसिमको परिवर्तनले स्थिरता दिन्छ, देशलाई स्वाभिमान दिन्छ, देशलाई सम्बृद्धि दिन्छ अथवा त्यो बाटोमा अग्रसर हुन्छ भने त्यो त राम्रो कुरा हो नि । त्यसलाई फेरि गिजोलिराख्नुपर्दैन नि भन्ने मान्यता हो।
तर यो चार वर्षमा जे जस्तो कुराहरु देखियो त्यो अपाच्य छ । त्यो सहन सक्ने कुरा होइन तर मान्छेको मनोविज्ञानले कसरी काम गर्छ भने जब नराम्राहरुसँग तपाईँ धेरै अभ्यस्त हुनुहुन्छ, त्यही नै जीवन हो त्यही नै यथार्थ हो भन्ने तपाईँलाई अनुभूति हुन थाल्छ । एकजना अत्यन्तै विपन्न मान्छेको लागि खान पाउनु नै खुशीको संकेत हो । एउटा पुल मुनि बस्ने विपन्नको लागि एउटा सानो झुपडीमा बस्न पाउनु खुशीको कुरा हो । हाम्रो लागि प्वाल परेको सडक टालिनु खुशीको कुरा हो ।
अब कुनै राजदूतले कुनै नेताको घरमा गएर खुसीका साथ भेट्नु कुनै समस्या होइन। विदेशी गुप्तचार निकायका प्रतिनिधि, दूत आएर मध्यरातमा प्रधानमन्त्रीलाई थर्काउनु समस्याको कुरा होइन । देशको राजनीति उथलपुथल भएको अवस्थामा पाँच तारे होटलमा विदेशी गुप्तचरसित भेटनु कुनै अनौठो कुरा होइन । यस्ता किसिमका कुराहरु जब सामान्य भएर गए यो देशको स्वाभिमान, अखण्डतामै आँच पुग्दैछ । नेपालको संस्कृति, नेपालको गौैरवमय इतिहासमा आँच पुग्दै छ भन्ने लाग्यो। त्यसपछि म बोल्छु भनेर बोलेको हो । मलाई थाहा छ यसका प्रतिकूलता र परिणामहरु । बोल्नैपर्छ भनेर बोलेको हो ।
तपाईँले बीचमा नेपालको संविधान, संघीयता, धर्मनिरपेक्षतालाई मैले स्वीकारेको छु यसैबाट विकास र सम्बृद्धि हासिल हुन्छ भन्नेमा विश्वस्त छु भनेर अभिव्यक्ति दिनुभएको थियो कुनै एउटा अनलाइनलाई । तपाईँले आफ्नो मान्यता किन परिवर्तन गर्नुभयो?
मैले अहिले भरखरै तपाईँको प्रश्नमा दिएको जवाफै हो । त्यही परिवर्तनलाई अंगिकार गरेर यदि नेपालमा स्थिरता, विकास सम्बृद्धि सम्भव हुन्छ वा त्यो बाटोमा नेपाल अग्रसर हुन्छ भने ठीक छ भनेर बीचमा त्यो धारणा बोकेको हो । तर, यो चारवर्षमा राष्ट्रपतिको संस्थाले जसरी पहिला र अहिले काम गरिरहेको छ, प्रधानमन्त्री संस्थाले जसरी गरिरहेको छ, देशका अन्य प्रमुख संस्थाले जसरी काम गरिरहेका छन्, विदेशीहरुको हस्तक्षेप जसरी बढिरहेको छ, संघीयताले जस्ता किसिमका जटिलताहरु निकालिरहेको छ, धर्मनिरपेक्षताले जस्ता किसिमका भावनाहरु ल्याइरहेको छ- त्यो कुनै पनि नेपालको हितमा छैन । र, नेपालको हितमा छैन भनेपछि इमान्दारीपूर्वक भनेको, मेरो हितमा छैन भनेको होइन ।
म ५५ वर्षको भएँ, मैले त एक किसिमको जीवन गुजारेँ तर मभन्दा मुनिको तपाईँहरुको पुस्ताले धेरै लामो जीवन बिताउनु छ । र, यो देशको अखण्डता, स्वाभिमानमा आँच पुग्यो भने यो देश नाम मात्रैको देश रह्यो भने तपाईँहरुले गरेको न त पत्रकारिताको अर्थ हुन्छ अथवा न तपाईँहरु भोलि शान्तिले बाँच्न पाउनुहुन्छ। यो उदाहरण तपाईँले सुन्दाखेरि बढाइँचढाइँ गरेको जस्तो लाग्ला । तर यो उदाहरण तपाईँले सजिलोसँग कयौं अफ्रिकी देशहरुमा देख्न सक्नुहुन्छ । हाम्रै छिमेकी देशहरुमा तपाईँले देख्नुभएको छ । धेरै ठाउँमा हुन्छ यस्तो घटना र सजिलोसँग हुन्छ ।
संविधानको अभ्यास भइरहेको छ। एकदमै उग्ररुपमा गणतन्त्र, संघीयतावादीले तपाईँको प्रस्तावलाई विलकुलै गलत भनिरहेका छन् । यस्तो अवस्थामा तपाईँलाई आफ्ना मान्यता स्थापित गर्छु भन्ने विश्वास छ?
मैले मेरो अवधारणा पत्रको शुरुको पहिलो लाइनमै के लेखेको छु भने म राजनीतिक पत्रकारिताको केन्द्रमा बसेर दुई दशक काम गर्दा र त्यसपछिको चारवर्षमा यो देशमा मैले यात्रा गर्दा मैले जनताले भोेगेको र बुझेको समाज र देश तथा काठमाडौँ लगायत देशका अन्य भागमा भएको एउटा तप्काले भोगेको बुझेको र प्रचार गरेको देशमा ठूलो अन्तर छ भनेको छु । मैले बोलेको भाषा यहाँको जसले अहिले मेरोविरुद्ध प्रशस्त विमतिहरु जनाइरहनु भएको छ, उहाँहरुसँग तादात्म्य राख्नका लागि बोलेको होइन। मैले देशको आम जनताको आवाज बोलेको हो ।
यसमा खासगरी तपाईँले जुन संघीयता खारेज हुनुपर्छ, धर्मनिरपेक्षताका बारेमा जनमत संग्रह हुनुपर्छ भन्नुभएको छ । यो प्रत्यक्ष रुपमा राजतन्त्रसँग जोडिएको भनेर पनि टिकाटिप्पणी भइरहेको छ। के तपाईँ राजतन्त्रको पक्षमा वकालत गरिरहनुभएको छ ?
एउटा कुरा म प्रष्ट पार्न चाहन्छु कुनै पनि डेमोक्र्याट असली लोकतन्त्रवादी, न त ऊ राजतन्त्रवादी हुन सक्छ, न त ऊ धर्मसापेक्षतावादी हुन सक्छ । किनभने यो दुईवटै अवधारणा आधुनिक लोकतन्त्रसँग नमिल्ने अवधारणा हुन्। म तपाईFलाई उदाहरण दिउँ- बीपी कोइराला त महामानव पनि भनिनु भो। सबैभन्दा ठूलो श्रद्धा गर्ने नेता। बीपी कोइराला के वैचारिक रुपमा राजसंस्थावादी थिए होलान्? त्यसरी अन्तर्राष्ट्रिय राजनीति पढेको बुझेको मानिस, उनी राजसंस्थावादी थिए होलान्? कुनै पनि हालतमा बीपी कोइराला सैद्धान्तिक रुपमा वैचारिक रुपमा राजसंस्थावादी थिएनन् भन्ने मेरो निर्क्याैल हो ।
तर, उनलाई ८ वर्ष निर्वासन बस्नुपर्दा, उनले ल्याएर आएको दुई तिहाइ बहुमतको सरकार ध्वस्त बनाइदिँदा, उनलाई लगेर जेलमा कोचेर पिडा दिँदा २०३५ सालमा दिएको अन्तर्वार्तामा समेत नेपालमा राजसंस्थाको खाँचो छ किनभने नत्र नेपाल भुटान हुन्छ, त्यसै कारणले मेरो र राजाको घाँटी जोडिएको छ भनेर भने। त्यो भनेको उनी राजसंस्थावादी थिए भनेर भनेको होइन नि । उनी कट्टर धर्म निरपेक्षताबादी थिए । तर, १९ सालको संविधान आएपछि उनले कहीँ पनि धर्म निरपेक्षता खारेज भयो, हिन्दूराष्ट्र भयो अब यसलाई एजेन्डा बोकेर हिँडेको भन्ने सुनिदैँन। उनले यो समाज चिनेका थिए।
त्यसै कारणले तपाईँ राजसंस्थावादी हो भनेर मलाई सोध्नुभयो भने म राजसंस्थावादी होइन र मैले यो अवधारणा पत्रमा पनि राजसंस्थाको विषय र त्यसको पुनःस्थापनाको विषय उठाएको छैन । तर, राजसंस्थाले राम्रो काम गर्यो भन्ने बितिक्कै यो राजावादी! यस्तो पनि हुन्छ समाज? तपाईँ हामीले यस्तो समाज बनायौं हेर्नुस्, यहाँको एउटा नागरिक समाजको खण्डले, पत्रकारको एउटा खण्डले लोकतन्त्रमा प्रश्न गर्न पाउने सबैभन्दा ठूलो अधिकार हो भनेर भन्नु हुन्छ हैन? तर, प्रश्न गर्ने बितिक्कै के भन्नुहुन्छ भने प्रतिगामी, पश्चगामी, सामन्ती, सुकिलोमुकिलो अनि अलि शक्तिशाली देश भयो भने साम्राज्यवादी। यसरी पनि तपाईँले उदार लोकतन्त्र स्थापना गर्ने सम्भव छैन।
तपाईँ त्यसो भए स्पष्ट रुपमा के चाहनुहुन्छ?
म स्पष्ट रुपमा म यो देशको सम्बृद्धिवादी, प्रगतिवादी हुँ। म असली लोकतन्त्रवादी हुँ । र, लोकतन्त्रको धरातलमा यो देशका जेजति प्रगतिहरु र जे जति परिवर्तन हुनुपर्थ्यो, त्यो लोकतन्त्रको धरातलमा हुनुपर्छ र २०७२ सालको संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण रुपमा हुनुपर्छ। जनताको मन जित्नुपर्छ, फट्याइँ, धुर्त्याइँ गरेर, संविधान च्यातेर कालोमोसो दलेर भाँचेर गर्नुहुँदैन भन्ने हो। फट्याइँ, धुर्त्याइँको कुरा गर्दा म सानो उदाहरण दिउँ। नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आउँदा गिरिजाप्रसाद कोइरालाले प्रमुख भूमिका निर्वाह गरे। अहिले हिसिला यमीजीको एउटा पुस्तक प्रकाशित भएको छ ।
त्यसको २२० नम्बर पेजमा के लेखिएको छ भने माओवादी र गिरिजाप्रसाद कोइरालकोबीचमा धेरै भद्र सहमति हुन्थ्यो। त्यसमध्येको एउटा भद्र सहमति के थियो भने माओवादी लडाकुहरु क्यान्टोनमेन्टमा गए पनि आधुनिक हतियार चाहिँ माओवादी सँगै रहन सक्छ भनेर सहमति गरेको थियो भनेर भनेको छ । यही हो तरिका?
त्यसपछि प्रचण्डजीले के भन्नुभएको छ, थाहा छ? प्रचण्डजीले पूर्व राजा ज्ञानेन्द्रले स्थानीय तहको चुनाव घोषणा गर्दा गिरिजाप्रसाद कोइरालाले आफूलाई अलिकति मान्छेहरु मार्न लगाइदिनुस्, त्यसो भएपछि यो स्थानीय चुनाव हुँदैन भनेर भन्नुभयो भनेर प्रचण्डजीले सार्वजनिक रुपमा भन्नुभएको छ । यी विषयमा प्रश्न गर्ने कि नगर्ने?
जसले मलाई आज जनताको भावना यो छ, नेपालमा राष्ट्रियताको अखण्डताको स्वाधीनताको इतिहासको संस्कृतिको दृष्टिकोणबाट यसो गर्नु राम्रो र संवैधानिक रुपमा गर्नु राम्रो भन्दा तथानाम गरिराख्नु भाछ, यो विषयमा प्रश्न गर्ने कि नगर्ने? मेरो भनाइ त्यति मात्रै हो ।
संघीयता, धर्मनिरपेक्षताबाटै पनि विकास र समृद्धि आउँछ। यसमा तपाईँको असहमति किन?
संघीयताबाट किन हुन सक्दैन भनेर मैले तीनवटा बुँदाहरु मेरो दस्तावेजमा उल्लेख गरेको छु। पहिलो कुरा संघीयता भ्रष्टाचार र आर्थिक भारको स्रोत बन्यो। नेपालको संघीय बजेटको लगभग २४ प्रतिशत संघीयताका लागि जान्छ । स्थानीय तह र प्रदेश तहको लागि जान्छ । प्रदेश तहका ५ सय ५० जना सांसदहरु छन्, त्यसपछि विभिन्न आयोग छन्, त्यसपछि विभिन्न अन्य खर्चहरु छ, त्यसै गरी स्थानीय तहका ३४००० जनप्रतिनिधि छन्। त्यस्ता स्थानीय तहका जनप्रतिनिधिहरुले पञ्चायतकालमा पनि, बहुदल कालमा पनि तलब खाँदैन थिए ।
त्यो स्वयंसेवी हुनुपर्छ भन्ने मान्यता थियो। अहिले तलब खान थाले । तलब खाने कुरा सर्वोच्च अदालतले उल्टाइदियो। त्यसपछि तलबको सट्टाभर्ना हुने गरेर भत्ता खान थाले। स्थानीय तह ५६५ भए पुग्छ भनेर बालानन्द पौडेलको समितिले सिफारिस गरेको थियो। राजनीतिक स्वार्थले ७५३ वटा बनाइदिए। त्यो अहिले अर्थशास्त्रीहरुसँग कुरा गर्यो भने ४ सय देखि ५ सयको संख्यामा झार्न सकिन्छ भनिएको छ । झार्ने बित्तिकै जुन खर्च बच्छ, त्यो हिसाब गर्दा झण्डै राष्ट्रिय बजेटको १० प्रतिशत बचत हुन्छ। त्यो बजेट लगाएर गुणस्तरीय र सार्वजनिक शिक्षामा लगाउनुपर्छ भन्ने मेरो मान्यता हो ।
यसलाई सुधार गर्न सकिन्थ्यो नि ?
त्यो सम्भावना भइदियो भए त यति गाली खाएर यत्रो दु:ख गरेर यो दस्तावेज ल्याइराख्नुपर्छ?
धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्छ भनेर किन यति जोड दिनुभएको हो । अहिले सबैले स्वतन्त्र रुपमा आफ्नो धर्म मानिरहेका छन। कहाँनिर समस्या भयो ?
अनि नेपाल हिन्दूराष्ट्र हुँदाखेरि स्वतन्त्र रुपमा मान्न पाएका थिएनन् ? हेर्नुस् एकजना मेरो साथीले के लेख्नुभो भने सामाजिक सञ्जालमा धार्मिक राष्ट्र स्वीकार्य हुनै सक्दैन भन्नुभो । धार्मिक राष्ट्र भन्नु र हिन्दू राष्ट्र भन्नुमा आकाश पातालको फरक छ । धार्मिक राष्ट्र भनेको साउदी अरेबिया हो। अरु धेरै मुसलमान देश हो । त्यसै गरी जुन देशमा धर्मका मूल्यमान्यताले राज्य सञ्चालनका मूल्यमान्यतालाई निर्देशित गर्छ, त्यो चाहिँ धार्मिक राष्ट्र हो तर हिन्दूराष्ट्र मात्रै भन्दाखेरि धार्मिक राष्ट्र भन्न खोजिएको होइन हिन्दूराष्ट्र नाममा मात्रै हो। किनभने संसारको एउटा मात्रै हिन्दूराष्ट्र थियो ।
८० प्रतिशत हिन्दू छन्। त्यसो हुनाले उनीहरुको मन दुखेको छ। नाममा मात्रै हिन्दूराष्ट्र हुँदा यसले काममा कुनै अन्तर पार्दैन तर धेरै हिन्दूको मनोभावलाई सम्बोधन गर्छ भन्ने धेरैको धारणा छ । अब एउटा बुझ्नुपर्ने कुरा के छ भने हिन्दूराष्ट्रबारे जनमतसंग्रह भनेर भनेको छु मैले प्रस्ताव गर्दा। किनभने यो नितान्त व्यक्तिको भावनासँग जोडिएको विषय हो । सबै हिन्दूले हिन्दूराष्ट्रको पक्षमा भोट गर्दैनन्। दोस्रो कुरा भोलि जनमतसंग्रह भयो भने यसको प्रश्नको बनावट कस्तो हुन्छ? त्यसमा पनि धेरै कुराहरु भरपर्छ तर हिन्दूहरुको ठूलो बहुमत अथवा कुनैपनि देशमा ठूलो बहुमतको मन दुखाएर उनीहरुमा उग्रभाव विकसित हुन दियो भने त्यसले कहिले पनि अल्पसंख्यकको, सीमान्तकृतहरुको हित कहिँ पनि संसारमा गरेको छैन।
यो सजिलो यात्रा भनेर हिँडेको होइन । अहिले आम रुपमा नेपालभित्र बस्ने बाहिर बस्ने नेपालीहरुले जस्तो किसिमको उत्साहजनक र सकारात्मक प्रतिक्रिया जनाए नि, त्यसले त झन् मेरो आत्मविश्वास बढेको छ। यो देशको रुपान्तरण गर्ने पार्टी हाम्रै पार्टी हुन्छ भन्ने मा म एकदम विश्वस्त छु ।
अल्पमतमा परेकाहरुको सुरक्षाको ग्यारेण्टी कसले लिन्छ?
यही दस्तावेजमा लेखेको छु। आजसम्म भएका आन्दोलनबाट अल्पमत, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेसी लगायतका सम्पूर्ण समुदायहरुले जे जति अधिकारहरु प्राप्त गरेका छन्। ती अधिकारहरु सुनिश्चित गरिनुपर्छ र ती अधिकारहरु लिखित रुपमा मात्रै रहनु हुँदैन। तिनलाई कार्यान्वयन गर्न विभिन्न कार्यक्रमहरु ल्याएर आउनुपर्छ ।
सँगसँगै निःशुल्क र सार्वजनिक शिक्षा र स्वास्थ्यको गुणस्तर नबनाई, सामाजिक सुरक्षा सुनिश्चित नगरी, रोजगारी सुनिश्चित नगरी तपाईँले अधिकारको आवाज र संरचनागत परिवर्तनको कुरा मात्रै गर्नुभयो भने त्यसले कहिले पनि परिवर्तन सुनिश्चित गर्दैन । त्यस कारणले गर्दा खेरि तपाईँले भनेका समुदायका हरुको हकहितको सुनिश्चितता त त्यो पहिलो दायित्व हुनुपर्छ राज्यको । तर उनीहरुको हकहितको सुनिश्चितता गर्दा बहुसंख्यकको मन दुखेर गयो भने त्यसपछि जन्मेको उग्रवाद राज्यले थेग्नै सक्दैन ।
नेपालको आन्दोलन खासगरी नेपालले जेजति उपलब्धि प्राप्त गर्यो भनिएको छ त्यसमा विदेशी हस्तक्षेप बढी भयो भनेर तपाईँले बारम्बार सार्वजनिक रुपमा पनि भन्दै आउनुभएको छ। यसको आधार के हो ?
नेपालको राजनीतिमा खासगरी भारतको भूमिका सधै प्रधान रह्यो । त्यो भारतको भूमिकालाई न्यूनीकरण गर्न राजसंस्थाले केही हदसम्म गर्यो। अब त्यो भन्ने बितिक्कै यो राजसंस्थावादी भइहाल्छ हेर्नुस्। यहाँ त बोल्नै हुँदैन, त्यो विषयमा छुनै हुँदैन। छोयो कि तपाईँ पश्चगामी र राजसंस्थावादी भइहाल्नुहुन्छ। तर, नेपालको सार्वभौमसत्ताको जर्गेनामा राजसंस्थाको प्रमुख भूमिका रह्यो भन्ने मेरो निष्कर्ष हो। मैले अन्य अन्तर्वार्ता र यो दस्तावेजमा पनि लेखेको छु ।
हामी कालापानी, लिम्पीयाधुरा राजा महेन्द्रले गर्दाखेरि गुम्यो भन्दा राजा महेन्द्रकै पालामा उत्तरी नाकाका १७ वटा भारतीय चेकपोष्ट हटे, राजा महेन्द्रकै कारणले गर्दाखेरि नेपालमा नेपाली मुद्रा चल्यो, नेपाली पाठ्यपुस्तक पढाउन थालियो, राजा महेन्द्रकै कारणले त्यस्तो संवेदनशील समयमा कोदारी राजमार्ग बन्यो भनेर पनि बारम्बार भन्नुपर्यो के! सन्तुलित सूचना दिनुपर्यो अनि मात्रै समाजको सोचाइ सन्तुलित हुन्छ। त्यो संस्था कमजोर गराउँदै लानमा दु:खका साथ भन्नुपर्छ भारतको भूमिका प्रधान रह्यो। मैले भनेको छु ०४६ सालमा पनि भारतको प्रस्ताव राजा वीरेन्द्रले मान्दिएको भए नाकाबन्दी खुल्थ्यो।
सम्भवत: जनजीवन सामान्य हुन्थ्यो तर, त्यतिबेला राजा वीरेन्द्रले भनेको के हो भने यो भारतीय प्रस्तावको अगाडि झुक्नु भन्दा म नेपाली जनताको अगाडि झुक्छु भनेर १९ दिनको आन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली भएको हो। त्यसै गरी ०६२–०६३ को आन्दोलनमा पनि बुझ्नैपर्ने कुरा के हो भने बेबी किङको प्रस्ताव त्यो पनि त्यो संस्थालाई कमजोर गर्ने एउटा उपाय नै थियो। भारतबाटै गिरिजाप्रसाद कोइरालामार्फत त्यो प्रस्ताव आएको थियो । जब त्यो स्वीकार्य भएन, म मरेँ पनि गर्दिन भन्ने जवाफ जब भारतले प्राप्त गर्यो तब गणतन्त्रको प्रस्तावमा गयो । गणतन्त्रको प्रस्तावमा भारत गइसकेपछि पश्चिमा शक्तिहरु नेपालमा धर्मनिरपेक्षता चाहन्थे । त्यसको प्रमाण मैले दिएको छु ।
विभिन्न राजदूतले कसले खुला पत्र लेखे भनेर जुन कुटनीतिक मर्यादा नाघेर गरिएको थियो, त्यो खेल भएको थियो । दुईटाको सहमतिमा एउटा धर्मनिरपेक्षता चाहने, अर्को गणतन्त्र चाहने। नेपालमा यी दुईवटा एजेन्डा राम्रोसँग स्थापित भएर राम्रोसँग छलफल पनि नगरीकन आयो। यो इतिहास हो। यो तथ्य हो । तर, यसको अर्थ यो सबै उल्टाउँ, बर्बाद गरौं। संविधान च्यातौं भनेको होइन । यसले पनि राम्रो गर्दै गएको भएदेखि र नेपालको स्वाधीनता, अखण्डता, क्षेत्रीयता यो देशको माटो साँच्चिकै गौरवमय त्यो इतिहास स्थापित हुन्थ्यो भनेको भए केही समस्या हुने थिएन। तर यो वर्षमा जे देख्यौँ, पञ्चायत ३० वर्ष सुध्रिन्छभन्दा सुध्रिएन। राजाहरु ३० वर्ष सुध्रिन्छ भन्दा सुध्रिएनन्। ३० वर्ष बहुदल सुध्रिएलाभन्दा सुध्रिएन। माओवादी त्यत्रो मानिस मारेर आए जीवनै उत्सर्ग गर्छौं भनेर आए सुध्रिएलान् भनेको सुध्रिएनन् अब कति वर्ष सुधार्ने भनेर बस्ने?
विगतको नराम्रो पाठलाई मात्रै हेर्ने हो त हामीले ?
विगतको नराम्रो पाठबाट हामीले शिक्षा लिनेको हो। त्यो शिक्षा लिएर म के भन्दै छु भने आन्दोलन गरेर, र्यालिङ भाँचेर होइन। यो संविधानको पालना गरेर जनताको मन जितेर अनि जे गर्नु पर्छ शान्तिपूर्ण संक्रमणबाट गरौं भनेर भनिरहेको छु ।
तपाईँ सफल हुन्छु जस्तो लागेको छ, यस्तो कठीन मोडमा आफ्नो मान्यता अघि सार्नु भएको छ? कतिको विश्वास छ आगामी चुनावमा?
हेर्नुस् यो सजिलो यात्रा भनेर हिँडेको होइन । अहिले आम रुपमा नेपालभित्र बस्ने बाहिर बस्ने नेपालीहरुले जस्तो किसिमको उत्साहजनक र सकारात्मक प्रतिक्रिया जनाए नि त्यसले त झन् मेरो आत्मविश्वास यसरी बढेको छ कि हाम्रो पार्टी र आम जनताको विश्वास दुवै मिल्दाखेरी हामी सफल हुन्छौं । र यो देशको रुपान्तरण गर्ने पार्टी हाम्रै पार्टी हुन्छ भन्ने कुरामा म एकदम विश्वस्त छु ।
तर, तपाईँको पार्टीमा विभाजन आइसकेको छ । तपाईँका साथीहरुले यो तपाईँको निजी विचार भनेर प्रतिक्रिया दिइसक्नुभएको छ नि?
विभाजन नभन्नुस् । फरक फरक मतहरु छन्। मेरो पार्टीमा फरक मत राख्ने साथीहरुलाई म अत्यन्तै सम्मान गर्छु। उदार लोकतन्त्र भनेकै त्यही हो । म उहाँहरु प्रतिगामी, उहाँहरु राजनीतिक चेत नभएको, यो नबुझेको त्यो नबुझेको भन्दिन। अरुहरुले जसले प्रतिक्रिया जनाइरहेका छन्, उहाँहरुलाई पनि भन्दिन । यो वैचारिक बहस हो र यसबाट साँच्चिकै यो देशको हित हुने निष्कर्ष निस्कियोस्।
वैचारिक बहसलाई हरेक ठाउँमा निषेध गरियो । पत्रकारितामा ०६२ को आन्दोलन हुँदा कर्पोरेट तहमा निर्णय गरेर यस्तो समाचार चाहिँ नछाप्ने भनियो । अहिले पनि त्यो प्रवृति तपाईँले ठाउँठाउँमा देख्न सक्नुहुन्छ । नागरिक समाजमा त्यही छ । वैचारिक प्राज्ञिक बहसमा त्यही छ । राजनीतिमा त्यही छ । तपाईँको विचार मिल्यो भने अग्रगामी र विचार नमिलेमा पश्चगामी, तपाईँको विचार मिल्यो भने प्रगतिशील, विचार मिलेन भने तपाईँ अप्रगतिशील?
त्यसो भए तपाईँले पार्टी फुटे पनि त्यो चुनौती चाहि बेहोर्नुहुन्छ?
कसरी फुट्छ पार्टी ?
विचारमा मत एक भएन भने त तपाईँका साथीले छोडलान नि?
नेपाली कांग्रेसभित्र सबैको मत एकता छ र ?
त्यो संस्थागत चरित्र तपाईँको पार्टीभित्र विकसित भइसकेको छ र?
यसलाई हामीले व्यवस्थित गरेर लैजान्छौँ। मतहरु फरक छन्। हो एउटा जीवन्त पार्टीमा यस किसिमको फरक मतहरु आवश्यक पनि छ । त्यो बहस भइराखेको छ । यसलाई हामी मिलाएर पार्टी एक राखेर र साँच्चिकै यो देशको नेतृत्वमा पुग्ने आत्मविश्वास, त्यही अनुसार राष्ट्रिय हितको विषयलाई ध्यानमा राखेर हामी अगाडि बढ्छौं।
तपाईँको व्यक्तिगत विषयमा जोडिएर प्रश्नहरु उठ्ने गरेका छन् । लामो समय पत्रकारिता गर्दाखेरि डलर खानुभएको, सम्बृद्ध मुलुकमा बसेर पत्रकारिता गर्नुभएको, अहिले आएर यति संघर्ष गरेर ल्याएको उपलब्धिमाथि धावा बोल्ने काम गरिरहेको छ भन्ने खालको टिप्पणी भइरहेको छ नि?
तीन करोड जनता भएको ठाउँमा केही मानिसहरुले यो बारम्बार प्रश्न गरे। तपाईँ पनि पत्रकार अन्तर्राष्ट्रिय संस्थामा प्रतिस्पर्धा गरेर कुनै जागिर पाउनुभयो भने तपाईँ अहिले खान जानुहुन्न? त्यहाँ गएपछि त डलरे भन्छन् नेपालीहरुले भनेर होइन होइन मलाई चाहिँदैन भन्नुहुन्छ? अथवा यहाँको जसले मलाई डलरे भनिरहेका छन् नि तिनीहरु मध्ये धेरैजना दक्षिण कोरिया वा खाडी जानलाई भिसा लिन लाइन लागेका होलान् कि नहोलान् ? त्यो के कमाउन गएको हो ? त्यस्तो तर्कले नि काम गर्छ ?
भारतमा मनमोहन सिंहलाई बोलाएर प्रधानमन्त्री नै बनाउन हुँदैन थियो बाहिर डलर खाएर बसिराख्नुभएको थियो । स्वर्णिय वाग्लेलाई ल्याएर आएर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष किन बनाइयो? डलर खाएर बसिराख्नुभएको थियो नि उहाँ त । डलरे हैन यस्तो किसिमको धारणाले सिंगापुरमा हेर्नुस् त ली क्वान युले जहिले पनि उत्कृष्टलाई प्रबन्धन गर्नुपर्छभनेर भनेका छन्। किन भने देश बनाउन त हामीलाई सामान्य एउटा भुँई तहको इमान भएको तर त्यत्रो ज्ञान भण्डार नभएको राम्रो विवेक भएको नेपाली पनि चाहिन्छ । ठीक्कै ज्ञान र राम्रो विवेक भएको इमान भएको नेपाली पनि चाहिन्छ ।
उच्चस्तरीय विश्वस्तरीय ज्ञान विवेक र इमान भएको नेपाली पनि चाहिन्छ । यस्तै कारणले गर्दा त यो देशले यत्रो दुःख पायो । यति स्रोत साधन भएको देशले त्यसै दुःख पाएको हो र यस्तै यस्तै धारणाले गर्दा दुःख पायो नि । यो देश हाम्रै जीवनकालमा रुपान्तरण गर्नुपर्छ। त्यति हो मेरो कामना ।
भिडियो हेर्नुहोस्:
https://www.youtube.com/watch?v=78zxosZ_ulo