
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पार्टी विभाजनको संघारमा पुगेपछि त्यसको उद्धारका लागि सबै काम छाडेर पछिल्लो पटक पोखराबाट काठमाडौँ धाइरहे।
लामो समय काठमाडौँमै डेरा जमाए। उनी केपी ओली गुटका नेता हुन्। तर, गुण र दोषका आधारमा ओलीलाई समर्थन गर्ने उनको स्वभावले विपक्षीमा पनि मिलनसार नेताका रूपमा चिनिन्छन्। एकता प्रयासका लागि त्यो माध्यम पनि बन्यो। पछिल्लो पटक पार्टीलाई एक बनाइछोड्न अठोटका साथ काठमाडौँ आएका गुरुङ ट्र्याक बाहिर पुगेका ओली र नेपालको वार्ता गराउन पनि सफल भएका थिए।
तर, त्यसपछि भने एमालेमा विकसित परिस्थितिलाई मत्थर गर्न उनी असफल भए। तैपनि, हिम्मत हारेनन्। कहिले ओली त कहिले नेपालसँग पुगेर एकताको हात अघि बढाउन उनीहरूलाई अनुरोध गरिरहे। गुरुङ अहिले फेरि पोखरा पुगेका छन्।
यता, पार्टी एकताका लागि गठित कार्यदलका पूर्वसदस्यहरूको दौडधूप जारी नै छ। बुधबार ओलीका तर्फबाट सुवास नेम्वाङ र विष्णु पौडेल, नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे नेपाललाई नै मनाउन कोटेश्वर पुगेका छन्। नेपालसँगको भेटपछि उनीहरू एकता कहिलेसम्म र कसरी हुन्छ भन्नेमा स्पष्ट देखिएनन्। पोखरा पुगेका गुरुङसँग पार्टी एकताको पछिल्लो प्रयास र त्यसका चुनौतीबारे कुराकानी गरेका छौँ।
० अब एमाले एकता टरेकाले तपाईं निरास भएर पोखरा लाग्नुभयो भन्ने सुनियो नि?
– एमाले एकता टरेको छैन। एकता होस् भनेर मलगायत साथीहरू लागिरहेका छौँ। तर, निकै जटिल बनेको विवाद साम्य पार्न थोरै मिहिनेतले पुग्ने देखिन्न। दुवैतर्फबाट उद्धारको भावना प्रदर्शन गर्न जरुरी छ। विवाद किन यति जटिल बन्यो भन्नलाई विगतका घटनाक्रमलाई विश्लेषण गर्नै पर्छ। पार्टीमा के–के कारणले विवाद उत्पन्न भयो र पार्टी विभाजनको तहमा किन पुग्यो भन्ने कुरा थाहा पाउन जरुरी छ। तत्कालीन नेकपामै विवादको बिउ रोपिएको थियो। त्यसलाई पटक–पटक हटाउने कोसिस गरियो। २६ भदौ ०७७ मा एकखाले सहमति भयो। तर, सहमति कार्यान्वयनलाई लिएर प्रश्नहरू उठे। ५ पुसमा पहिलो पटक संसद् विघटन भयो। त्यसलगत्तै नेकपामा दुई गुट तयार भयो। माधव नेपालसहित प्रचण्डको र केपी गुट स्पष्ट रूपमा देखियो। आ–आफ्नै गतिविधि भए। पार्टी यसै पनि विभाजन हुने नै थियो। दुई वटा पार्टी बनिछाड्ने स्थिति आएको थियो। अदालतले त्यसलाई टुक्र्यायो। त्यो नै विवादको सुरुवात थियो।
० अदालतले छुट्ट्याएपछि आफ्नो पार्टी बनाउनेतर्फ लाग्न छाडेर तपाईंहरूले किन त्यसलाई पनि दुई चिरा बनाउन खोज्नुभयो?
– गल्ती त्यहीँबाट सुरु भएको हो। वास्तवमा त्यो बेला केपी र माधव दुवै संवेदनशील बनेको भए सायद एमालेले यस्तो दुःखद स्थिति सामना गर्न पर्र्दैनथ्यो होला। एमालेमै फर्किए पनि नेपालले प्रचण्डलाई छाड्न सक्नु भएन। प्रचण्डको गुट टुक्रिन सकेन। नेपालले आफूपक्षीय भेला सुरु गर्नुभयो। २८ फागुनमा केपीले पनि गल्ती गर्नुभयो। नेपालको अनुपस्थितिमा उहाँले विभिन्न निर्णय गर्नुभयो। त्यो बेला केपीले एकलौटी निर्णय गर्नु हुँदैनथ्यो। पार्टीका सबै नेता–कार्यकर्तालाई एकै ठाउँमा भेला गराएर पार्टीमा कसरी अघि बढ्ने भन्नेतर्फ लाग्नुपथ्र्यो। पुरानै विधान, नियमावलीलाई आधार मानेर काम अगाडि बढाउनुपर्ने थियो। त्यसो नभएपछि माधव नेपाल पनि आक्रोशित हुनुभयो। त्यसपछि विस्तारै सबै कुरा ओरालो लाग्यो। सरकार गयो। कर्णालीमा फ्लोर क्रसका घटना भए। गण्डकीमा म पनि सिकार भएँ। एउटै पार्टीबाट अलग–अलग भोट हाल्ने स्थिति आयो। जताततै क्षति क्षति भयो। ओली–नेपालबीच बोलचाल नै बन्द भयो।
० त्यसलगत्तै तपाईं एकताका लागि लाग्नुभएको थियो तर अहिलेसम्म सफल हुनुभएन नि! किन ?
– एकपछि अर्को गर्दै एमालेले व्यहोर्न थालेको क्षति बेहिसाब हुँदै गएपछि मलगायत साथीहरूले दुई नेताबीच वार्ता गराउने निकै ठूलो कोसिस ग¥यौँ। त्यो बेला केपी र माधव नेपाल एकै ठाउँमा बस्नु नै ठूलो उपलब्धि थियो। उहाँहरूबीच सहमति होला भन्नेमा हामीलाई शंकै थियो। किनकि परिस्थिति अति गम्भीर भएको थियो। तर, सुखद परिणाम आयो। उहाँहरू आफैँ पार्टी विवाद समाधानका लागि कार्यदल गठनका लागि सहमत हुनुभयो। त्यसपछि एकताका संकेत देखिएका थिए। तर, कार्यदलकै सदस्य कारबाहीमा पर्नुभयो, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको आरोपमा। यसले एकता फेरि भाँडियो। अविश्वासको खाडल फेरि बढ्यो, जब आफ्नै नेताविरुद्ध साथीहरू सर्वोच्चमा जानुभयो।
त्यो बेला पनि नेताबीच वार्ता गराउन हामी सफल भएकै हौँ। तर, सहमतिका लागि कार्यदलका सदस्यहरूले काम गर्दै थिए। मैले एकताका लागि माधव नेपाललाई पार्टीको अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेको थिएँ। ओली र नेपालबीच फेरि वार्ता गराउने तयारी पनि थियो। तर, एमालेमा कलंक सावित हुने गरी साथीहरूले देउवालाई विश्वासको मत दिनुभयो। व्यवस्थित र अनुशासित पार्टीका रूपमा चिनिएको एमालेमा ठूलो संकट आइलाग्यो।
० एकताका लागि तपाईंले अगाडि सारेको प्रस्ताव कसरी औचित्यहीन भयो ?
– त्यो बेला मैले जसरी कसैले मुख खोल्न सकेका थिएनन्। पार्टी एकताको विकल्प नदेखेकाले मैले माधव नेपाललाई पनि अध्यक्ष बनाउनुपर्छ भनेको थिएँ। त्यसलाई कतिपयले अतिवादी सोचका रूपमा व्याख्या गरे। कसैले अर्थ छैन, यो सम्भव छैन भने। कतिपयले नेपालको पक्ष लिएको भनेर आरोप लगाए। तर, म न नेपालतिर लागेको थिएँ न त ओलीको प्रशंसा नै गरेको थिएँ। अधिकांशले पार्टी जोगाउन यसलाई अस्त्रको रूपमा प्रयोग गर्न सकिन्छ भने। तर, हाल आएर विकसित भएको परिस्थितिले मेरै प्रस्ताव कार्यान्वयनको माग गरेको छ। माधव नेपाललाई पार्टीको अर्को अध्यक्ष बनाउनुपर्छ भन्ने मेरो प्रस्तावको हाल आएर झन् औचित्य देखिएको छ। अब त्यसैमा पुगेर आगामी एक दुई साताभित्र एकता हुने सम्भावना बलियो भएको देख्छु। मेरो प्रस्तावको औचित्य सावित हुने देख्दै छु। अर्थात् एकताका लागि नेपाललाई अर्को अध्यक्ष दिनुपर्ने मेरो कुरा कार्यान्वयन नजिक छ। दुई नेता दुई अध्यक्ष भएर अघि बढ्न सहमत छन्। तर, अरु नेताले त्यसलाई बिच्काइरहनुभएको छ। यहाँ आ–आफ्नै माग र विश्लेषण भइरहेको छ। त्यसले पार्टी एकतालाई लाभ होइन, नोक्सान पुर्याउँछ।
० तपाईंले माधव नेपाल ओली बराबरको हैसियतमा हुन् भन्ने चाहेको कि दोस्रो हैसियतमा रहुन् भन्ने चाहेको?
– यो नै हुनुपर्छ भनेको थिइनँ। मैले बराबरी पनि भनेको होइन, दोस्रो पनि भनेको होइन। नेकपा हुँदा अध्यक्षका मामिलामा जे अभ्यास गरिएको थियो त्यो हुनुपर्छ भनेको थिएँ। नेकपामा भएको अभ्यास एमाले बचाउन यता पनि किन नगर्ने भन्ने मेरो जोड थियो। हो, एमालेको विधानले त्यस्तो व्यवस्था गर्न दिन्नथ्यो।
० तपाईंहरू पार्टी एकताका लागि प्रयास पनि गरेको दाबी गर्नुहुन्छ, अर्कोतिर समानान्तर रूपमा पार्टी संगठन बलियो बनाउने, एकअर्कालाई खुइल्याउने हिसाबमा गतिविधि पनि गरिरहनुभएको छ। यो त विरोधाभाषपूर्ण काम भएन र?
– यो एकदमै गलत हो। यस्तो गर्नु हुँदैनथ्यो। नेकपा एमाले जो संस्थापन पक्षमा छ उसले २८ फागुनको घटनाबाट पनि पाठ सिकेन। २८ फागुनमा गरेका गल्ती पार्टी अध्यक्ष ओलीले आत्मालोचना गरेर फिर्ता लिएको भए पार्टी यो स्थितिसम्म पुग्दैनथ्यो। भलै, त्यसलाई अदालतले उल्ट्याइदियो। वास्तवमा म सुरुदेखि नै यस्ता गतिविधिविरुद्ध उभिएको थिएँ। मैले यस्ता गतिविधि नगरौँ, यस्ता गतिविधिले एकतालाई झन् टाढा पुर्याउँछ भनेर बोलेको पनि छु। यस्ता गतिविधिमाथि आलोचना हुन्छ भनेको छु। यसलाई टिप्पणीको विषय नबनाउनु पनि भनेको छु। तर, लागू भएन। मलाई नै बढी खोजिन्छ। नेपाल पक्षबाट त्यस्ता गतिविधिले निरन्तरता पाएका छन्। यसमा हतार नगरौँ भनेर मैले बारम्बार सुझाव दिएको छु।
० तपाईंले यसो भन्दै गर्दा अध्यक्षले डाकेका हरेकजसो बैठकमा तपाईं पनि सामेल हुनुहुन्छ किन?
– कतिपय बैठकमा त म आफँै पनि उपस्थित भइनँ। तर, बैठकमा सामेल भएर यस्ता गतिविधिको विरोध पनि गरेको छु। पार्टी एकता भएपछि मात्रै यस्ता गतिविधिको औचित्य हुने भनेर बोलिरहेको छु। अहिले पनि मेरो मान्यता बदलिएको छैन। तर, अहिले गरेका निर्णय संशोधन गर्दै लग्न सकिन्छ, काम त अगाडि बढाउनुप¥यो नि भन्ने कतिपय साथीले कर गरेपछि म पनि बैठकमा सामेल भएको हुँ। पार्टीको महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने छ। अझै पनि म दुरुस्त पार्टी बनिसकेपछि मात्रै यस्ता गतिविधि गर्नुपर्छ भन्ने पक्षमै छु। मैले आलोचना गरिरहेको छु। तैपनि, मेरो खोजी बढी हुने गर्छ बैठकहरूमा।
० पार्टी एकताको प्रयासमै तपाईंहरूले महिनौँ बिताइसक्नुभयो। महाधिवेशन कसरी समयमै होला?
– महाधिवेशन गर्न अब ढिला गर्न हुन्न। महाधिवेशन गर्नुपर्छ भन्नेमा दुवै नेता पनि सहमत हुनुहुन्छ। अस्ति मात्रै मेरो माधव नेपालसँग भेट भएको हो। उहाँ पनि महाधिवेशन छिटो गर्नुपर्छ भन्नेमा हुनुहुन्छ। केपी पनि महाधिवेशन चाँडो गर्नुपर्छ भन्नेमा हुनुहुन्छ। त्यसको तयारी गर्नुपर्ने कुरामा उहाँहरू दुवैको सहमति हुन्छ जस्तो लाग्छ मलाई।
० पार्टी एकताका लागि ओली र नेपाल दुवैले के त्याग गर्न आवश्यक छ अब?
– दुवै जना बसेर वार्ता गर्न जरुरी छ। अब पार्टी एकताका लागि ओली र नेपाल एक्लै होइन, सहजीकरणका लागि खटिएका उहाँहरूका नजिकका साथीहरूलाई साक्षी राखेर मात्रै वार्ता गर्नुपर्छ। संस्थापन पक्षबाट विष्णु पौडेल र सुवास नेम्वाङ खटिनुभएको छ। उताबाट धेरैजसो अवस्थामा भीम रावल र सुरेन्द्र पाण्डे खटिनुभएको छ। उहाँहरू चारै जनालाई साक्षी राखेर अब केपी र माधव नेपालले वार्ता गर्न जरुरी छ। मैले यो बीचमा माधव नेपाललाई पटक–पटक भेटेको छु। उहाँका कतिपय विषयमा केही आशंका छन्। केही प्रश्न छन्। त्यसलाई मेटाउने कोसिस केपीले गर्नुपर्छ।
० नेपाल पक्षले पछिल्लो पटक अध्यक्ष पद भन्दा पनि संसद् विघटन गलत थियो भन्ने ओलीले स्वीकार गरी माफी माग्नुपर्छ भन्ने अडान लिएको भन्ने सुनिन्छ। यो कति साँचो हो?
– त्यस्तो होइन, पहिलो पटक संसद् विघटन गर्दा केपीले माफी माग्नुपर्छ भन्ने थियो। अदालतले त्यो उल्ट्यायो पनि। गल्ती भयो भन्यो। पछिल्लो पटक केपीले बाध्यात्मक अवस्थामा संसद् विघटन गर्नुभएको हो। अर्को विकल्प नभएकाले उहाँ त्यहाँ पुग्नुभएको हो। नेपाल पक्षका केही साथीले ओलीले यो संसद् पनि विघटन गर्नु गलत थियो भन्नुपर्छ भन्नुभएको छ। तर, वार्ताका लागि प्रयासरत साथीहरूबाट यस्तो प्रस्ताव आएको छैन। यसलाई सर्तका रूपमा लिइएको छैन।
० तपाईंहरूकै पार्टीमा नेपालसँग मिल्नै हुन्न भन्नेहरू पनि हुनुहुन्छ। यसले एकतालाई झन् टाढा पुर्याउँदैन र?
– यस्तो प्रवृत्ति दुवै पक्षमा छ। आफ्नो पार्टीलाई साथ नदिएर अरूलाई साथ दिँदा रिस पनि उठेको होला। तर, एकतामा यसलाई प्राथमिकतामा राखिनुहुन्न। किनभने अन्तिम विकल्प नेपालसहितको पार्टी एकता चाहेका छौँ। नेपाललाई अलग्याएर हुन्न भन्ने मेरो पहिल्यैदेखिको जोड हो। अब पुरानो घाउलाई कोट्याउने होइन। तर, कमजोरी आत्मसात् गर्न भने सबैलाई गाह्रो हुँदोरहेछ।