
काठमाडौँ – कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आएपछि शल्यक्रिया गरेर बच्चा जन्माएको तीन घण्टामै काठमाडौँ मेडिकल कलेज (केएमसी)ले एक सुत्केरीलाई निकालेपछि अस्पताल महामारीका बेला पनि संवेदनशील नभएको आराेप लागेकाे छ।
यसले आक्रोश जन्माएको छ। आफ्ना नागरिकको जीवन सुरक्षाको दायित्व बोकेको सरकार त्यसको निगरानीमा टाढै रहेको सन्देश पनि गएको छ।
टेकु निवासी ३६ वर्षीया एक गर्भवतीले केएमसीमा कार्यरत एक चिकित्सकको नक्सालस्थित क्लिनिकमा आफ्नो गर्भावस्थाबारे जाँच गराइरहेकी थिइन्। उनै चिकित्सकको सुझावमा ती गर्भवतीले केएमसीमा शल्यक्रिया गरेर बच्चा पाउने निधो गरिन्। त्यसका लागि यही साउन १८ गते उनी केएमसीमा भर्ना भएकी थिइन्।
उनको शल्यक्रिया गर्नुपूर्व चिकित्सकहरुले उनलाई कोरोनाभाइरसको संक्रमण छ या छैन भन्ने निर्क्याैल गर्न चाहे। गर्भवतीले संक्रमण परीक्षणका लागि स्वाब पनि दिइन्। तर रिपोर्ट आउन ढिलो भयाे। उनमा असहजता बढ्दै गएपछि चिकित्सकहरुले रिपोर्ट कुरेनन्। तुरुन्तै शल्यक्रिया गरेर उनीहरुले बच्चा निकाले। तर शल्यक्रिया गरेको करिब तीन घण्टापछि आएकाे रिपाेर्टले सुत्केरीमा कोरोना संक्रमण भएको देखायाे।
भर्खरै शल्यक्रिया गरेकी सुत्केरी यसै पनि कमजोर महशुस गरिरहेकी थिइन्। त्यसमाथि संक्रमणबाट जोगिन उनले विगतमा गरेको प्रयास निरर्थक भएको ठान्छिन्। अर्थात गर्भावस्थामा कोरोना संक्रमण नहोस् भनेर विशेष सावधानी अपनाएको र संक्रमणको कुनै पनि लक्षण नदेखिएको अवस्थामा आफूलाई संक्रमण भयो भनेर पत्याउन गाह्रो भयाे उनलाई।
हतोत्साहित भइरहेकी उनलाई अस्पतालले थप उपचारका लागि तत्काल अन्यत्र जाने आदेश दियाे। शल्यक्रिया गरेको तीन घण्टा पनि नबितेका बेला अस्पतालले अन्यत्र जान दिएको आदेश उनका लागि अनपेक्षित भयाे।
परिवारका सदस्यहरुले शल्यक्रिया गरेका चिकित्सकहरुलाई सोधे- ‘भर्खरै अप्रेशन गरेको मान्छेलाई कहाँ र कसरी लैजाने ? कोरोना संक्रमण भएकालाई तपाईँहरुले उपचार गर्नुहुन्न र?’
चिकित्सकहरुको जवाफ आयाे, ‘अहिले हामीले कोभिड प्यासेन्टलाई उपचार गर्दैनौँ। तपाईँहरुले जतिसक्दो चाँडाे उहाँ(सुत्केरी)लाई अन्त लैजानुहोस्।’
त्यसपछि ती सुत्केरी महिलाका परिवारका सदस्य आपतमा परे। भर्खरै मात्रै शल्यक्रिया गरेको सुत्केरीलाई कोरोना संक्रमण उपचारका लागि कहाँ लैजाने? रात पर्दै थियो। अस्पतालका चिकित्सकहरुले भने, ‘पाटन, प्रसूति या ग्रान्डी लग्नुहोस्।’
सुत्केरीका परिवारका सदस्यहरुले एक पछि अर्को अस्पतालमा सम्पर्क गर्न थाले। प्रसूतिमा फोन उठेन। पाटनमा लामो कोशिसपछि फोन त उठ्याे तर बेड पाइएन।ग्रान्डी उनीहरुका लागि टाढा भयाे। त्यसमाथि महँगो अस्पताल भन्ने सुनेका थिए उनीहरुले। सानोतिनो व्यवसाय गरेर जीवनगुजारा गर्दै आएका सुत्केरीका परिवारले उनलाई ग्रान्डी लग्ने आँट गरेनन्। त्यसपछि उनीहरुले अन्य निजी अस्पतालतिर सम्पर्क बढाए।
चिनेजानेका माध्यमबाट काठमाडौँ भ्याली अस्पतालमा सम्पर्क भयाे। काठमाडौँ भ्यालीले कोरोना संक्रमण भएकालाई पनि उपचार गर्ने जानकारी दियाे। तै पनि के कसो हो भन्दै सुत्केरीका परिवारका सदस्य काठमाडौँ भ्याली अस्पतालमा बेडको अवस्थाबारे बुझ्न पुगे। आवश्यकता अनुसार उनीहरुले ‘क्याविन’ पाएनन्। तर ‘जेनेरल वार्ड’मा भए पनि सुत्केरीलाई ल्याउने निधो गरे। त्यसमा अस्पतालले पनि अनुमति दियाे।
केएमसीमा पुगेर सुत्केरीलाई उपचार भइरहेको ठाउँबाट तल झारियाे। उनलाई एम्बुलेन्समा हाल्नै लागेका बेला काठमाडौँ भ्याली अस्पतालबाट फोन आयाे, ‘केएमसीले कम्प्लेन गर्यो। उहाँलाई(सुत्केरी) यहाँ ल्याएपछि अप्ठ्याराे पर्छ भन्दै छ। माफ गर्नुहोला हामी तपाईँको मान्छेको यहाँ उपचार गर्न सक्दैनौँ। अन्त लग्नुहोस्।’
यो सुनेर सुत्केरी झनै हायल कायल भइन्। भर्खरै शल्यक्रिया गरेको घाउँ दुखिरहेको थियो। उनको छट्पटि बढ्न थाल्याे। सुत्केरी, त्यसमाथि शल्यक्रिया गरेकी उनलाई बेडमा आवश्यक औषधिसहित आराम गर्नुपर्ने खाँचो थियो। तर उनी घण्टौँ कुर्सिमा सीमित भइन्।
नवजात शिशुको उस्तै हाल। अस्पतालमा उनीहरुलाई कसैले छुन मान्दैन। सुत्केरीको अवस्था नाजुक बन्दै गएपछि उनका परिवारका सदस्यहरु झनै आत्तिए। अब उपचारका लागि कहाँ लग्ने?
‘हामी अस्पताल खोज्दै गछौँ । त्यतिञ्जेल तपाईँहरु हाम्रो मान्छेको उपचार गर्दिनुहोस्,’ उनीहरुले चिकित्सकहरुसँग गुहार मागे। तर चिकित्सकहरुको पुरानै जवाफ दिए, ‘कोरोना संक्रमण भएकालाई हामीले उपचार गर्न छोडिसक्यौँ। अन्त लैजानुहोस्।’
रात छिप्पिदै थियाे । अन्ततःआफन्तको भनसुनबाट सुत्केरीलाई बल्खुस्थित बयोधा अस्पताल लग्ने निधो गरियो । तर भर्खरै शल्यक्रिया गरिएकी सुत्केरीलाई कसरी लग्ने? एम्बुलेन्स चालक नै बिलखबन्दमा परे। काठमाडौँको खाल्डाखुल्डीले भरिएको सडक। करिब दुई घण्टा लगाएर कछुवाको गतिमा उनले सुत्केरी र बच्चालाई सकुशल बयोधा पुर्याए। त्यहाँ पुग्दा उनको अक्सिजन लेवल घटेको थियाे। ज्वरो पनि थियाे। बयोधा पुगेपछि सुत्केरी र उनको परिवारले राहत महशुस गरे। त्यतिञ्जेल बिहानको करिब ४ बजेकाे थियाे। उनको उपचार सुरु भयाे। साथै उनमा कोरोना संक्रमण छ या छैन भनेर बयोधाले पनि जाँच गर्याे।
बयाेधा अस्पतालले जाँच गर्दा काेराेना रिपोर्ट ‘नेगेटिभ’ आयाे। सुत्केरीका आफन्त आक्रोशित नहुन् या झमेला नहोस् भन्नेमा बयोधाका चिकित्सक सचेत देखिन्छन् । ‘कहिलेकाँही यस्तो हुन्छ’ भन्दै उनीहरु सुत्केरी र उनको पारिवारिक सदस्यलाई थम्थमाउने कोशिस गरे।
तर उनीहरुको मन कसरी मान्छ? केएमसी आफूहरुप्रति असंवेदनशिल बनेको उनलीहरुले बताए। सुत्केरीका श्रीमान भन्छन्,‘पहिलो कुरा संक्रमण नहुँदा पनि संक्रमण भएको भनेर रिपोर्ट आयो । दोस्रो कुरा, त्यही रिपोर्टका आधारमा बच्चा र आमालाई निकालियो। तेस्रो अन्य अस्पतालमा पठाउँदा आफै सम्पर्क गरिदिएन। भर्खरै शल्यक्रिया गरेको मान्छेलाई अन्त लग्दा आमा र बच्चाको ज्यान तलमाथि भएको भए त्यसको जिम्मेवारी केएमसीले लिन्थ्यो? रातभरी हामीले पाएको दुःखको हिसाब कसले गर्ने?’
केएमसीले भर्खरै शल्यक्रिया गरेकी सुत्केरीको पनि संक्रमणको कारण देखाउँदै उपचार किन गरेन? अस्पतालहरुको संक्रमणको उपचारलाई लिएर किन फरक फरक नीति ? यसबारे जवाफ लिन खोज्दा अस्पताल प्रशासनका अधिकारीहरुसँग सम्पर्क हुन सकेन।
तर केएमसीमा कार्यरत एक चिकित्सक भन्छन्,‘ अस्पतालले झण्डै एक महिना अघिदेखि नै कोरोना संक्रमण भएकाको उपचार गर्न छोडेको छ। अस्पतालको निर्णय विपरीत जान हामीलाई मिल्दैन। फेरि एउटा मात्रै संक्रमितको उपचार गर्ने भन्ने हुन्न। पहिले जसरी छुट्टै उपचार सेवाका लागि अस्पताल तयार हुनुपर्छ। अन्यथा जस्तोसुकै बिरामी भए पनि हामीले उपचार गर्न सक्ने अवस्था हुन्न।’
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय त्यसमा सहमत छैन। स्वास्थ्य सचिव डा. रोशन पोखरेल सरकारले उपचार खर्च निजी अस्पताललाई दिने र निजीले संक्रमितको निःशुल्क उपचार गर्ने सहमति करिब एक महिना अघि निलम्बित गरिएको बताउँछन्। अब त्यसलाई फुकुवा गर्ने या नगर्ने भन्नेमा मन्त्रालय छलफलमा रहेको उनको भनाइ छ। आवश्यक पर्दा यो फुकुवा हुने उनको दाबी छ।
तर उनी भन्छन्,‘ सरकारसँगको यो सहमति लागू नभएको अवस्थामा पनि निजी अस्पतालले शुल्क लिएर कोरोना संक्रमितको उपचार गर्नुपर्छ । आपतकालीन अवस्थामा त झनै उनीहरुको उपचार गर्नुपर्छ। संक्रमण भएको रिपोर्ट आयो भन्दैमा भर्खरै शल्यक्रिया गरेका, दुर्घटनामा परेका या अन्य गम्भीर बिरामीलाई अस्पतालले निकाल्न पाउँदैन। यो अस्पतालको फट्याईँ हो।’
अनि गलत रिपोर्टबारे छानबिन हुन्छ कि हुन्न? उनले भने,‘ के कारणले सुत्केरी महिलाको रिपोर्ट नक्कली आयो भन्ने बारे पनि हामी अध्ययन गछौँ।’