
काठमाडौँ– हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत दुई महिला प्राध्यापक डाक्टरमाथि यौन दुर्व्यवहार र अन्य प्राध्यापकसँग आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर वादविवादका साथै अपशब्द बोलेको आरोप लागेका प्रतिष्ठानका एक पुरुष कर्मचारीमाथि छानबिन र कानुनी कारबाहीमा सम्बन्धित निकायले बेवास्ता गरेका छन्।
प्रतिष्ठानमा कार्यरत डा. नीति भाट र एलिना कर्णमाथि अत्यधिक मादक पदार्थ सेवन गरी यौन दुर्व्यवहार र अन्य प्राध्यापकलाई अपशब्द बोलेको आरोप लागेका प्रतिष्ठानका कर्मचारी हीरा वाइवामाथि लिखित उजुरी दिएको चार दिन बितिसक्दा पनि सरोकारवाला निकायले कुनै छानबिन प्रक्रिया अघि नबढाएपछि प्रतिष्ठानका प्राध्यापकहरू हतोत्साहित र संशकित भएका छन्।
प्रतिष्ठान स्रोतका अनुसार वाइवा मुख्यमन्त्री डोरमणि पौडेलका नजिकका मान्छे हुन्। उनले आफू मुख्यमन्त्रीको मान्छे भएकाले कसैले पनि छुन नसक्ने भन्दै प्राध्यापकहरूलाई धम्की दिने गरेको स्रोतले बतायो।
स्रोतले भन्यो, ‘वाइवा मुख्यमन्त्रीको मान्छे भएको कतै लुकेको छैन। उनीमाथि लागेको आरोपबारे कुनै छानबिन रोकिनुमा मुख्यमन्त्रीकै आदेश छ। त्यसैले उपकुलपति मौन छन्। सिडिओले मादक पदार्थ सेवन गरेका बेला यस्ता गतिविधि हुनुलाई सामान्य ठान्नुपर्छ भन्दै हिँडेका छन्।’
महिला डाक्टरमाथि यौन दुर्व्यवहार र अन्य प्राध्यापकहरूलाई अपशब्द बोलेको आरोप लागेका वाइवामाथि कानुनी कारबाहीको माग गर्दै प्रतिष्ठानका ११ जनाले आइतबार प्रतिष्ठान, अस्पताल व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडा उपमहानगरपालिकामा सामूहिक लिखित उजुरी दिएका थिए। त्यसअघि दुई महिला डाक्टरले उपकुलपतिलाई छुट्टै पत्र पनि लेखेका थिए। उनीहरूले प्रहरी कार्यालयमा ‘अभद्र व्यवहार’मा वाइवाविरुद्ध जाहेरी पनि दर्ता गराएका थिए।
तर, प्रहरी प्रशासनले समेत अहिलेसम्म वाइवामाथि कुनै छानबिन अगाडि नबढाउँदा प्राध्यापकहरू आक्रोशित भएका छन्। शनिबार हेटौँडाको त्रिखण्डीमा प्रतिष्ठानका प्राध्यापक चिकित्सक र अन्य कर्मचारी वनभोज गएका थिए। वनभोजमा डा. नीति भाट र एलिना कर्णमाथि प्रतिष्ठानका कर्मचारी वाइवाले पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप छ।
उनीहरूमाथि यौन दुर्व्यवहार नरोकेपछि अन्य प्राध्यापकले वाइवालाई सचेत गराउन खोजेको प्रयास पनि विफल भएको दाबी छ। वाइवाले उनीहरूलाई पनि प्रतिष्ठानको विषयभन्दा बाहिर गई अपशब्द बोलेको आरोप छ।
स्रोतले भन्यो, ‘वाइवाले प्रतिष्ठानमा गुण्डागर्दी शैली अपनाएका छन्। उनले महिलालाई चिकित्सकलाई गरेको यौन दुर्व्यवहारको आपत्तिजनक छ।’
वाइवाले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका महिला डाक्टरले प्रतिष्ठानका उपकुलपतिलाई लेखेको पत्रमा प्रश्न गरिएको छ, ‘महिलामाथि हुने यस्ता असंवेदनशील र गम्भीर व्यवहारलाई सामान्य ठान्न मिल्छ? रक्सी खाएका थिए भनेर उनलाई छुट दिन मिल्छ? अरू घटनामा रक्सी खाँदा कसैलाई छुट मिल्छ?’