
काठमाडौँ – वी विल राइज फाउन्डेसनले नेपाल सरकारलाई सहयोगस्वरूप ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।
हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वि विल राइजको सहकार्यमा ५० लाख रुपैयाँ बराबरको उक्त सामग्री प्रदान गरिएको हो।
फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ र सञ्चालन निर्देशक अनुपकुमार बरालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्।
एकपछि अर्को कोरोनाको लहरबाट गुज्रिरहेको नेपाललाई त्यससँग जुध्न सहयोग पुगोस् भन्ने हेतुले अक्सिजन कन्सन्ट्रेटर सहयोगका लागि पहल गरिएको फाउन्डेसनका संस्थापक तुलसीकुमार गुरुङले बताए।
‘ज्यान जहाँ रहे पनि मन त नेपालमै छ,’ हाल हङकङमा रहेका गुरुङले भने, ‘कुनै पनि कोरोना संक्रमित नेपालीले अक्सिजन अभावमा मृत्यु वरण गर्नु नपरोस् भन्ने सोचले कन्सन्ट्रेटर सहयोगको पहल गरेका हौं।’ हङकङेलीले नेपाललाई आइपर्ने प्रत्येक आपतविपदमा सहयोग गरिरहेको स्मरण गर्दै पछिल्लो सहयोगका लागि हातेमालो गर्ने सिल्क रोड इन्टरनेसनल फाउन्डेसनप्रति पनि आभार व्यक्त गरे।
‘वी विल राइज फाउन्डेसनजस्ता संस्थाको सहयोगले कोरोना परास्त गर्न सहयोग पुग्नेछ,’ सहायता सामग्री ग्रहण गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सिंहले भने, ‘यो सहयोगका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दछु।’
भूकम्पपछि स्थापित फाउन्डेसनले स्वदेश तथा विदेशमा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ। स्थापना वर्षमै यसले सिन्धुपाल्चोकमा भूकम्पले ढलाएका घर र विद्यालयको पुनर्निर्माण गरेको थियो।
पर्यटकीय दृष्टिले प्रचुर सम्भावना भए पनि ओझेलमा परेका पर्यटकीय थलोको प्रवद्र्धनका निम्ति पछिल्लो समय यसले ‘मेरो गाउँ, मेरो ठाउँ’ शीर्षकमा भिडियो च्यालेन्जसमेत गर्दै आएको छ। यद्यपि, कोरोना महामारीका कारण यसले निरन्तरता पाउन नसकेको फाउन्डेसनका निर्देशक एवं कार्यक्रम संयोजक श्रेष्ठले बताए।