
बुटवल– लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ। तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै ४ दलले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसामु समावेदन गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन डाकेका थिए।
संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन्।
अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबुल भए पनि बैठक चलिरहँदा प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि प्रदेश सभामा प्रदेश प्रमुखले पठाएको राजीनामासम्बन्धी पत्र सुनाएर अधिवेशनको बैठक स्थगित भएको थियो।
तत्कालीन मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता भएपछि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते अधिवेशन आह्वान गरेका थिए। अल्पमतमा परेका पोखरेलले संसद्मा अविश्वासको प्रस्ताव फेस नगरी राजीनामा दिएका थिए।
उनको राजीनामापछि चारदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन्।