
चितवन – कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा संकलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गरेका छन्।
उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिइएको छ। उनका अनुसार सुलीबाट मासिक एक लाख हाराहारीको विद्युत् उत्पादन भएको छ।
खैरहनी नगरपालिका– १ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रालिमा जडित बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको हो।
फार्मले ६२ केभिएको जेनेरेटर ग्यासबाटै सञ्चालनमा ल्याएको छ। यससँगै तीन फार्मलाई आवश्यकपर्ने विद्युत् यहीबाट उत्पादन भएको छ। फार्मका सञ्चालक अर्यालका अनुसार सुरुमा १२ लाख खर्च गरेर ग्यास उत्पादन थालिएको हो।
यसको प्रभावकारिता राम्रो देखिएपछि एक करोड ६५ लाख खर्च गरेर अत्याधुनिक सिएसटिआर प्रविधिअन्तर्गत ५ सय घनमिटरको आधुनिक डोमबाट ग्यास उत्पादन हुँदै आएको छ। यसका लागि विश्व बैंकले ऊर्जा विकास कम्पनीमार्फत ५२ लाख अनुदानसमेत दिएको उनको भनाइ छ।
सुलीबाट ग्यास उत्पादन भएपछि गन्ध हराउने र मल थप प्रभावकारी हुने भएपछि उनी यसप्रति आकर्षित भएका हुन्। यससँगै इन्धन बचाउने काममा ग्यास प्रभावकारी भएको छ। निकट भविष्यमा दुई हजार घनमिटरको डोमबाट बायोग्यास उत्पादन गर्ने तयारी उनको छ।
उनका अनुसार बैंकले प्रस्ताव स्वीकृत गरेको छ। यो परियोजना सम्पन्न हुँदै गर्दा दुई लाख १५ हजार कुखुरालाई आवश्यक पर्ने सम्पूर्ण इन्धन ग्यासबाट पूरा हुनेछ। यसका लागि करिब १२ करोड खर्च हुनेछ। सोमध्ये चार करोड विश्व बैंकले अनुदान दिने उनको भनाइ छ। यसबाट २५० केभिएको जेनेटर चल्नेछ। यसले अत्याधुनिक वातानुकूलित खोरमा आवश्यक विद्युत् पूरा गर्ने उनले बताए।
अहिले खोरमा एक लाख कुखुरा छन्। केही महिनाभित्रै दुई लाख १५ हजार पुर्याउनका लागि आधुनिक खोर बनिरहेका छन्। नेपालमा उच्चस्तरको प्रविधि भित्र्याउने अर्याल सरकारी जागिर छाडेर यो पेसामा लागेका हुन्। २००८ साल असार ११ गते काठमाडौँको ज्याठामा जन्मिएका उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। बुबा अदालतमा जागिरे हुँदा उनले देशका विभिन्न जिल्लामा रहेका जेपी हाइस्कुल, भुटनदेवी हाइस्कुल, ठाकुरराम क्याम्पस, त्रिचन्द्र कलेज, शंकरदेव क्याम्पसलगायतमा अध्ययन गरेका थिए।
अठार वर्ष नेपाल बैंकमा जागिरपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्याललाई ०५० सालमा माध्यमिक शिक्षा विकास परियोजनाको निर्देशकमा नियुक्त गरेसँगै उनी राजनीतिक नियुक्तितर्फ लागेका थिए। लम्जुङका कांग्रेस नेता श्रीकान्त अधिकारी, उदयनाथ अधिकारीलगायतको नाता सम्बन्धका कारण राजनीतिमा प्रवेश गरेका उनले निर्देशक पदबाट हटेसँगै आफ्नै व्यवसाय थालेका हुन्।
उनकी बहिनी डिना उपाध्याय अहिले पनि कांग्रेसको केन्द्रीय नेता छिन्। ०५२ सालमा चितवन झरेर उनले कुखुरापालन व्यवसाय सुरु गरेका हुन्। उनकी श्रीमती सुमा अर्यालले जनकपुर चुरोट कारखानाको अधिकृतको जागिर छाडेर यो पेसा अँगालेकी हुन्।
अध्ययनका कारण उनीहरूले सामान्य नभएर अत्याधुनिक प्रविधिमा जानुपर्छ भन्ने सोचसाथ व्यवसाय सुरु गरेका हुन्। सो ठाउँमा दुई बिघा १० कठ्ठा जग्गा खरिद गरेर उनले अटोमेटिक केजमार्फत व्यवसाय सुरु गरेका हुन्। उनले भन्नुभयो, ‘नेपालमा हामीले पहिलो पटक आटोमेटिक केज भित्र्याएका हौँ।’ उनीहरूको क्लोज हाउसमा कटनले बारिएको छ भने पूर्णरुपमा क्लोजहाउस विकास गरिने जनाइएको छ।
उनले सुुरुमा ६० हजार कुखुरापालनबाट पेसा थालेका हुन्। केजमा उत्पादित अन्डा ठूलो र आकर्षक हुने हुँदा उनको अन्डाको माग राम्रो छ।
यस पेसालाई आधुनिक बनाउने उनको योजना छ। सत्तरी वर्षको उमेरमा पनि युवासँग व्यावसायिक प्रतिस्पर्धा गर्न सफल उनी पोल्ट्री क्षेत्रमा नेपालमा चिनिएका व्यक्ति हुन्। उनी भन्छन्, ‘खेर जाने सुलीलाई उपयोग गर्न सक्यौँ भने कसैका खोरमा विद्युत् किन्नु पर्दैन।’
यसो त बायोग्यास बनाउनुपूर्व गन्धका कारण स्थानीयले समय–समयमा विरोध गर्दै आएकामा अहिले खोरभित्र मात्रै होइन, बायोग्यासपछि निस्किएको मलमा गन्ध आउँदैन। यो मलमा नाइट्रोजन प्रशस्त हुने हुँदा उर्वर मानिन्छ। यद्यपि, उनले खोरवरिपरि अग्लो बार र हरियाली बनाएका छन्।