
काठमाडौँ – सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरूले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
कांग्रेस नेता रमेश लेखक र एमाले नेता डा. राजन भट्टराईले अतिवादी समूह तालिवानले अफगानिस्तानमा तनावग्रस्त बनाइरहेका बेला नेपाली नागरिकको उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
काठमाडौंमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस नेता एवं पूर्वमन्त्री लेखकले नेपाली नागरिकलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गराउन जिम्मेवार भइदिन सरकारसँग आग्रह गरे।
उनले अफगानिस्तानमा ठूलो संख्यामा नेपाली रहेको उल्लेख गर्दै उनीहरूको जीवन सुरक्षा गर्न सरकारलाई संवेदनशील भइदिन पनि पटक–पटक आग्रह गरे।
नेता लेखकले भने, ‘अफगानिस्तानमा रहेका सबै विदेशी नागरिक चिन्तामा छन्। र, ठूलो संख्यामा त्यहाँ नेपाली छन्। ती नागरिकको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितता गर्न सरकार गम्भीरपूर्वक लाग्नुपर्छ।’
एमाले विदेश विभाग प्रमुख डा. भट्टराईले अफगानिस्तानबाट ढिला नगरी नेपाली नागरिकको स्वदेश फिर्ता गराउने काममा लाग्न सरकारसँग माग गरे।
उनले द्वन्द्व र हिंसाको चपेटामा परेका आफ्ना नागरिकको जीवन रक्षा गर्ने काममा सरकार जिम्मेवार हुनुपर्ने पनि बताए। परराष्ट्रविद्समेत रहेका डा. भट्टराईले अफगानिस्तानमा हिंसा अन्त्य र छिटो शान्ति पुनर्बहालीको मागसमेत गरे।
उनले भने, ‘जीवन जोखिममा रहेका नेपाली नागरिकको ढिला नगरी उद्धार गर्नुपर्ने हुन्छ। अरु मुलुकले उद्धार गरिरहेका छन्। नेपाली नागरिकले अर्को एजेन्सीसँग काम गरिरहेका हुनाले नयाँ आइरहेको शक्तिले उनीहरूलाई झन् मन नपराउने अवस्था छ। यस्तो अवस्थामा सरकारले नेपाली नागरिकको उद्धारमा कदापि ढिलाइ गर्नुहुन्न।’
परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले पनि अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराए।
उनले अन्य देशका नागरिकलाई फिर्ता बोलाउने काम भइरहँदा पनि नेपाल सरकार त्यसमा संवेदनशील हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
पाण्डेले भने, ‘कतिपय मुलुकले आफ्ना नागरिकलाई फिर्ता बोलाउन लागिसके। हामीले पनि यसमा पहल गर्न जरुरी छ। ढिलाइ भइसकेको छ। हाम्रा नागरिक त्यहाँ कति छन्? त्यसको खोजी गरी उनीहरूलाई स्वदेश फिर्ता गराउन ढिलाइ गर्न हुन्न।’
उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य भएको नाताले नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा भएको हिंसा अन्त्यका लागि पहल गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए। उनले सार्कले पनि सदस्य राष्ट्रहरूको शान्ति बहालीका लागि काम गर्नुपर्ने आवश्यक्ता औंल्याए।