
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था र हिन्दू राष्ट्रको बलमा राप्रपाले देशव्यापी लहर ल्याउने दाबी गरेका छन्।
‘राप्रपा संसद् अन्तर्गतको राजसंस्था र वैदिक सनातन हिन्दू राष्ट्रमा विश्वास गर्ने दल हो। यी मान्यताका पक्षमा एक समय निकै राम्रो वातावरण बनिसकेको थियो। संसद विघटनको घटनाले देश र जनताको ध्यान अन्यत्र मोड्यो। तर, त्यो राजनीतिक सम्भावना, आवश्यकता अझ पनि कायम छ,’ अध्यक्ष लोहनीले सोमबार सम्पन्न राप्रपाको कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै भने।
राष्ट्रिय आवश्यकताका आधारमा, राप्रपाले जनलहर ल्याउने, जनताको समर्थन प्राप्त हुने प्रशस्त आधार कायम रहेको उनको दाबी थियो।
‘सडकमा आउँदा राप्रपाले जनसमर्थन प्राप्त गरेकै हो। स्वतःस्फूर्त प्राप्त समर्थनलाई कम गर्न आकलन गर्न मिल्दैन। वातावरण मिलाए, अहिले पनि जनताले साथ दिनेछन्, त्यो सम्भावना अझ पनि कायमै छ,’ लोहनीले भने।
राप्रपा कुनै पनि दलको पुच्छर भएर होइन, आफ्नो स्वाभिमानमा अडेर अघि बढ्ने उनले बताए। ‘आवश्यकताअनुरूप चुनावी गठबन्धन गर्नै पर्छ। तर, गठबन्धन गरेकै आधारमा कुनै दलको पिछलग्गु भएको भनेर सोच्नु हुँदैन,’ बैठकलाई सम्बोधन गर्दै लोहनीले भने।
राप्रपा अब फुट्दैन भन्दै उनले भने, ‘महाधिवेशन पछि राप्रपा दुई फ्याक हुन्छ कि भन्ने आशंका होला, निश्चिन्त रहे हुन्छ, अब पार्टी विभाजन हुँदैन। हामीलाई त्यो सुविधा प्राप्त छैन।’
आइतबारबाट आरम्भ भएको राप्रपाको दुईदिने कार्यसम्पादन समितिको वैठक सम्पन्न भएको छ। राप्रपाको महाधिवेशन कात्तिक २७, २८, २९ र ३० गतेलाई तय भएको छ।