
सिड्नी – अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा पछिल्लो २४ घण्टामा ६ सय ३३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या राज्यमा कोरोना महामारीको शुरुवातसँगै एक दिनमा रेकर्ड गरिएको सबैभन्दा उच्च सङ्ख्या हो ।
न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले दैनिक प्रेस ब्रिफिङका क्रममा आगामी दिनमा यो सङ्ख्या अझ बढ्न सक्ने सङ्केत गर्दै राज्यवासीलाई सावधानी अपनाउन अपिल गरिन् ।
‘तपाईं अरूको सम्पर्कमा आउनु भएन भने सङ्क्रमित हुनुहुन्न । तपाईं राज्यको जुनसुकै ठाउँमा बसे पनि, हरेकपल्ट घरबाट बाहिर पाइला टेक्दा तपाईंको शरीरमा वा सम्पर्कमा आउने जोसुकैसँग पनि भाइरस छ भन्ने अनुमान लगाउनुपर्दछ ।’ प्रिमियर बेरिजिक्लिनले सबैलाई सावधान हुन अपिल गर्दै भनिन् ।
बुधबार थपिएका सङ्क्रमितमध्ये करिब २ सय २४ दक्षिण पश्चिम सिड्नी र २ सय १६ पश्चिम सिड्नीमा रेकर्ड गरिएको जानकारी समेत प्रिमियर बेरिजिक्लिन् दिइन् । प्रिमियर बेरिजिक्लिनका अनुसार सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा मेरिल्याण्ड, गिल्फोर्ड, ओबर्न, ग्रिनएकर, यागुना, सेन्ट मेरिज र स्ट्रयाथफिल्ड रहेका छन् । ती क्षेत्रहरूमध्ये कतिपय ठाउँमा नेपालीहरूको समेत उल्लेख्य उपस्थिति रहेको छ ।
पछिल्लो २४ घण्टामा राज्यमा करिब एक लाख तीन हजारको हाराहारीमा कोरोना परीक्षण गरिएको थियो भने सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो ।
भिक्टोरियामा २४ र क्यानबेरामा २२ सङ्क्रमित थपिए
भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा २४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै राज्यमा जम्मा सङ्क्रमितको सङ्ख्या २ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९ हजार ८ सय ३२ वटा कोरोना परीक्षण गरिएको पनि भिक्टोरिया राज्यको स्वास्थ्य विभागले जनाएको छ ।
त्यसैगरी अस्ट्रेलियाको राजधानी क्यानबेरामा बुधबार २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यो सङ्ख्यासँगै हाल राजधानीमा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ पुगेको छ ।
तीमध्ये ६३ जना सङ्क्रमितको श्रोत पत्ता लागिसकेको तथा चार जनाको श्रोत अनुसन्धानका क्रममा रहेको राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा. केरिन कोलम्यानले दैनिक प्रेस ब्रिफिङका क्रममा जानकारी दिइन् ।