
काठमाडौँ – संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।
सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले परिवारका सदस्यको नाममा खरिद गरेर पदीय आचारण विपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो।
नियामक निकाय आफंैले पदीय मर्यादाविपरीत सेयर कारोबार गरेकाले तत्काल छानबिन गरी उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।
उनले भने, ‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले भित्री सूचनाका आधारमा गरेको भनिएको सेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन छानबिन भइरहेको जानकारी मन्त्री र अर्थसचिवबाट प्राप्त भएको छ। उक्त छानबिन यथाशीघ्र सम्पन्न गरी आवश्यक कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।’
बैठकले सेयर बजारको दिगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रको स्वच्छता, पारदर्शिता, सदाचारिता, नैतिकता साथै जिम्मेवार र जवाफदेहिता प्रवद्र्धन गर्न नीतिगत, कानुनी र संरचनागत व्यवस्था गरी समितिलाई जानकारी गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठकमा समितिका सदस्यहरूले पुँजी बजारको नियामक निकायलाई स्वच्छ, जवाफदेही, पारदर्शी र विश्वासयोग्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए।
समितिकी सदस्य रामकुमारी झाँक्रीले नेपाल धितोपत्र बोर्ड र नेप्सेजस्तो पुँजी बजारको नियामक निकायलाई पारदर्शी र जवाफदेही बनाउनेगरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन्। उनले बोर्ड र नेप्सेका पदाधिकारीलाई पदमा बहाल रहुन्जेल पुँजी बजारमा कारोबार गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन्।
समितिका सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए। उनले सेयर बजारमा सर्वसाधारणको विश्वास आर्जन गर्ने गरी नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताए।
समितिका सदस्य श्यामकुमार श्रेष्ठले पुँजी बजारभित्र देखिएका बेथिति अन्त्य गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताए। उनले पुँजी बजारमा नियमक निकाय आफैँले कारोबार गर्न पाउन व्यवस्था उचित नभएकोतर्फ पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।
बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादाविपरीत काम गरेकामा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरूमाथि आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनले बोर्ड र नेप्सेका पदाधिकारीले अनुचित ढंगले परिवारका सदस्यको समेत सेयर खरिद गरेको समाचार आएको उल्लेख गर्दै त्यसको सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले छानबिनको कामलाई अन्तिम चरणका पुर्याएको पनि समितिलाई जानकारी दिए। अर्थमन्त्री शर्माले सर्वसाधारणको विश्वास जित्ने गरी सेयर बजारलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले पदीय मर्यादाविपरीत आफ्ना परिवारका सदस्यलाई सर्वोत्तम सिमेन्टको सेयर खरिद गराएको समाचार विभिन्न समाचार माध्यममा आएपछि अर्थसमितिले सो सम्बन्धमा सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको थियो।
अर्थमन्त्री शर्माले नियामक निकायबाटै सेयर बजारमा विकृति भित्र्याउने काम गरेको सुनिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मन्त्रीस्तरीय निर्णय गरेर छानबिनका लागि ५ सदस्यीय समितिसमेत बनाएको समितिको बैठकमा जानकारी दिएका थिए।