
काठमाडौँ- अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गरेको आरोप लगाउँदै नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाललाई अन्तिममा त्यागेका एमाले दोस्रो तहका नेताहरु नेपालका लागि नै चुनौती बन्ने संकेत देखिएको छ।
एमाले दुई कित्तामा विभाजित हुँदा ‘नेपालसहितको पार्टी एकता’ एक मात्रै शर्त भएको सार्वजनिकरुपमै दोहोर्याउँदै हिँडेका, नेपाललाई प्रतिनिधित्व गर्दै ओली पक्षसँग वार्ता गरेका तर अन्तिम समयमा नेपाललाई नै त्यागेका दोस्रो तहका नेताहरु नेपालका लागि चुनौती बन्ने संकेत देखिएको हो।
नेपालले सार्वजनिक रुपमा दिएका अभिव्यक्तिहरुको विरुद्धमा ती नेताहरुले दिन थालेको प्रतिक्रियाबाट पनि यसको स्पष्ट संकेत मिलेको छ । नेपाललाई पार्टी विभाजनका लागि उक्साएर अन्तिममा नेपालकै साथ छोडेको आरोप उनीहरुमाथि लागिरहेको छ ।
००
नेपालले आफ्नो साथ छोडेका दोस्रो पुस्ताका नेताहरु आफ्नो पार्टीमा आए आफूले नेतृत्व छोड्ने घोषणा गरेका थिए, शनिबार । आफ्नो पार्टी निकट पेसागत महासंघ, नेपाल बागमती प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा नेपालले भनेका थिए, ‘मेरो लडाईँ पदका लागि होइन, आउनुहोस्, दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस्।’ नेपालको यो अभिव्यक्ति आफूलाई अन्तिममा त्यागेका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्ट,रघुजी पन्तलगायतप्रति स्पष्टरुपमा लक्षित थियो।
तर नेपाल त्यागेका एक स्थायी कमिटी सदस्यले देशसञ्चारसँग भने, ‘हामीले जति राम्ररी सायदै माधव कमरेडलाई कसैले चिन्दैन । पदको माया हुन्थेन भने उहाँले एमाले त्याग्नु हुन्थेन । हामीले पदतिर नलागौँ, एमाले बचाऔँ भनेको हो । उहाँले मान्नु भएन । अहिले उहाँ दोस्रो पुस्तालाई अध्यक्ष दिन्छु भन्दै हिँड्नु लज्जा हो।’ ती नेताले नेपालले पनि आफ्ना तमाम कमजोरी सच्याउन नखोज्दा पार्टी टुक्रिएको आरोप लगाए ।
नेता नेपाललाई त्यागेका नेता योगेश भट्टराईले त सार्वजनिकरुपमै नेपाललाई चुनौती दिएका छन् । उनले सामाजिक सञ्जाल नेपाललाई लक्षित गर्दै ट्वीटरमा भनेका छन्, ‘राम्रो कुरा हो, स्वागत गर्दछु। आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’
नेपालले शनिबार नै आफ्नो साथ छोड्ने नेताहरुलाई लक्षित गर्दै आफूलाई घचेटेर साथीहरु भागेको अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘ओलीविरुद्धको लडाईँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन ।’
त्यसको जबाफ उनलाई त्यागेका नेता भी रावललले दिएका छन्, त्यो पनि सार्वजनिकरुपमै । उनले सामाजिक सञ्जाल ट्वीटरमै नेपाललाई लक्षित गर्दै भनेका छन्, ‘केही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो । द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलभिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझन् धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारबोध महत्वपूर्ण कुरा हो ।’
नेता नेपालले भने आइतबार पनि आफू दोस्रो पुस्तालाई जिम्मेवारी सुम्पिन तयार रहेको घोषणा गरेका छन् । आफ्नो पार्टीको संसदीय दलको नेतामा चयन भएपछि उनले आफ्नो पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अघि बढ्ने भएकाले यसमा सामेल हुन नेताहरुलाई आह्वान गरे । तर नेपाल त्यागेका एक अर्का स्थायी कमिटी सदस्यले भने, ‘हामीले अन्तिमसम्म पनि एमाले नफुटाऔँ भनेको हो । नेता नेपाल निकै जिद्दी स्वाभावका हुनुहुन्छ । उहाँका लागि अब चुनौती नै चुनौती छ । एमाले फुटाएकोमा उहाँलाई अब पश्चाताप पनि हुँदैछ । त्यसैले आफ्नो पार्टीमा हामीलाई आऊ आह्वान गर्दै हुनुहुन्छ । हामीले एमाले छोड्ने कुरा छैन ।’
समाजवादीतिर आए अष्टलक्ष्मी र भीमको पद जोगिने
एमाले त्यागी समाजवादी पार्टीमा लागे कतिपय नेताहरुको पदसमेत जोगिने स्थिति उत्पन्न भएको छ। खासगरी एमाले जोगाउने भन्दै नेपाल त्यागेर बाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य र प्रदेश १ को मुख्यमन्त्री बनेका भीम आचार्य समाजवादीतिर लागेमा उनीहरुको पद जोगिनेछ । हाल उनीहरु एमालेको एकल बहुमतका आधारमा सरकारको नेतृत्वमा छन् ।
तर एमाले त्यागेर कुनै पनि सांसद समाजवादीतर्फ जानसाथ उनीहरु नेतृत्वको सरकार अल्मतमा पर्छ । त्यस्तो अवस्थामा उनीहरुले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । विश्वासको मत नपाए उनीहरु सरकारबाट हट्नुपर्छ । यता समानान्तररुपमा गठबन्धनका तर्फबाट नेपाल नेतृत्वको पार्टीले यी दुई प्रदेशका सरकारहरुको नेतृत्व गर्ने तयारी पनि भइरहेको छ।
बागमती प्रदेशमा राजेन्द्र पाण्डे र प्रदेश १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी नेपालको पार्टीमा भइरहेको पृष्ठभूमिमा नेकपा (एकीकृत समाजवादी) पार्टीले बागमती र प्रदेश १ मा पाँच दलीय गठबन्धको सरकार निर्माण प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। आइतबार पार्टीको संसदीय दलको बैठकपछि सांसद विरोध खतिवडाले दल विभाजनसम्बन्धी प्रक्रिया पुरा भएलगत्तै यी दुई प्रदेशमा पाँच दलीय गठबन्धनको सरकार बनाउने निर्णय भएको बताए। खतिवडाले बागमती र प्रदेश १ को सरकार अल्पमतमा परिसकेको र त्यहाँका मुख्यमन्त्रीहरु समाजवादी पार्टीमा नआए उनीहरु सरकारबाट हट्नेसमेत उनले दाबी गरे ।
यता मुख्यमन्त्री शाक्य र आचार्यले आफूहरु पार्टी एकता जोगाउन मुख्यमन्त्री बनेकाले अब आफ्नो पद जोगाउन समाजवादी पार्टी रोज्न नसकिने स्पष्ट पारेका छन् । मुख्यमन्त्री शाक्यले देशसञ्चारसँग भनिन्, ‘माधवकुमार नेपाल र केपी ओली दुवै कमरेडको सहमतिमा मुख्यमन्त्री बनेको हो भन्नेमा अब केही भनिरहन परेन । पार्टी एकता जोगाउन म मुख्यमन्त्री बनेको हुँ । यसमा म लामो समय रहन्न भन्ने मलाई पहिल्यै थाहा थियो । पद जोगाउन समाजवादीतिर लाग्ने भन्ने प्रश्नै भएन ।’ मुख्यमन्त्री आचार्यको तर्क पनि उस्तै छ। उनले आफ्नो पद रहेपनि नरहेपनि एमालेमै रहने बताए । ‘मेरो पहिलो शर्त पार्टी एकता नै थियो, छ । पद जोगाउन समाजवादीतिर जान सकिन्न।’
आयोगले समयसीमा घटाउँदा दबाब
अर्कोतिर प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिले समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी रोज्न २१ दिन समय सीमा पाएकोमा निर्वाचन आयोगले त्यो समयसीमा एक साता घटाइदिएको छ । दल विभाजन सम्बन्धी अध्यादेशमा ‘नयाँ दल गठन भएको २१ दिनभित्र’ प्रदेश सभा र स्थानीय तहमा निर्वाचित प्रतिनिधिले रोज्न पाउने व्यवस्था छ ।
यो समयसीमा दलले मान्यता पाएका दिन देखि गणना हुनुपर्छ । यी दुवै दलले यही भदौ ९ गते आयोगबाट मान्यता पाएका थिए। यस हिसावमा प्रदेश सभा र स्थानीय तहका निर्वाचित प्रतिनिधिले आगामी भदौ २९ सम्म दल रोज्न पाउनु पर्ने हो ।
तर आयोगले निवेदन दिएको दिनबाट समयसीमा गणना गरी आगामी भदौ २२ गतेभित्र प्रदेशसभा सदस्य र स्थानीय निर्वाचित जनप्रतिनिधिलाई समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी रोज्नु पर्ने निर्णय गरेको हो ।
यस त्यसका लागि उसले प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरुलाई परिपत्र गरेको छ । यसबाट अब एमालेमा आवद्ध प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई समाजवादीमा जाने÷नजाने भन्नेमा चर्को दबाब पर्ने देखिएको छ।