
बुटवल– अविरल वर्षासँगै खसेको पहिरोले रूपन्देहीको बुटवलमा ७ वटा घर पुरिएका छन्।
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ८ घर पुरिनुका साथै ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
वर्षासँगै पहिरो निरन्तर बगिरहेकोले स्थानीय त्रसित छन्। पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।
विस्थापित परिवारलाई बुटवल बहुमुखी क्याम्पसमा राखिएको छ। शनिबारदेखि झरेको पहिरोले यसअघि १२ घरमा क्षति पुर्याएको थियो।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ।
ज्योतिनगरमा गएको पहिरोको लेदो बगेर बुटवलको मुख्यबजार क्षेत्रसम्म आइपुगेको छ। ज्योतिनगरमा आएको लेदोसहितको पहिरो बुटवल अस्पताललाइनसम्म छ।
२०५६ सालमा पनि लक्ष्मीनगर र ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर विस्थापित भएका थिए।
तस्बिरहरुः सी.पी. खनाल/देश सञ्चार।