
काठमाडौँ -नेकपा एमालेले पार्टी एकताको पक्षमा दृढतापूर्व उभिन र विभाजनकारी गतिविधिको सशक्त विरोध गर्न पार्टीका नेता र कार्यकर्ताहरूलाई आह्वान गर्दै अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेको छ ।
निर्देशनमा कुनै हिसाबले विगतमा यस्तो गतिविधिमा संलग्न भएको भए पनि त्यसबाट अलग भएर पार्टीको पक्षमा उभिन तयार हुनेहरूलाई बिना भेदभाव पार्टीमा स्वागत गर्ने निर्णय गरेको उल्लेख छ।
अपानीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा एकता जोगाउन नसकेको आरोप लगाइएको छ।
यस्तै पार्टी विभाजनका लागि संवैधानिक निकायबाट भएका संवैधानिक निकायहरूबाट भएका कानुन विपरीतका कार्यहरूको कानुनी प्रतिवाद गर्न कार्यकर्तालाई एमालेले आव्हान गरेको छ।
यसैगरी पार्टी तथा दलको निर्णय, निर्देशन र ह्वीप उल्लंघन गरेवापत दलका सदस्यहरूलाई गरिएका कारबाहीको आफ्नो पार्टीको सूचनालाई बेवास्ता गर्दै विभाजनका लागि सहयोग पुर्याउने सभामुखको भूमिकाको विरोध गर्ने निर्णय पनि गरिएको छ ।
दस बुँदे प्रस्ताव कार्यान्वयनको जिम्मेवारी
नेकपा एमालेको आन्तरिक विभाजन रोक्न गरिएको दस बुँदे प्रस्ताव कार्यान्वयनको सहजीकरण गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको पनि अपानीमा जानकारी गराइएको छ ।
अपानी अनुसार प्रदेश १ मा भीम आचार्य, सुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे, टंक आङ्बोहाङलाई यसको तोकिएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु शाह, सुमन प्याकुरेल, ज्वाला कुमारी साह छन् ।
बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी, आनन्द पोखरेललाई तोकिएको छ। गण्डकी प्रदेशमा किरण गुुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा, लीलबहादुर थापालाई दस बुँदे कार्यान्वयनको जिम्मेवारी तोकिएको छ ।
लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोख्रेल, टोपबहादुर रायमाझी, दलबहादुर राना, लीला गिरीलाई तोकिएको छ । कर्णाली प्रदेशमा युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी, धर्मराज रेग्मीलाई तोकिएको छ ।
सुदुरपश्चिम प्रदेशमा भीमबहादुर रावल, लेखराज भट्ट, कर्णबहादुर थापालाई तोकिएको छ । जनसंगठनहरूको मामिलामा ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण बिष्ट र टोपबहादुर रायमाझीलाई दिइएको छ ।