गोलको खडेरीबाट गुज्रिरहेको नेपाललाई भारतविरुद्ध गोल गर्न नै हम्मेहम्मे: १९ खेल खेल्दा केवल २ जित र ७ गोल

गोलको खडेरीबाट गुज्रिरहेको नेपाललाई भारतविरुद्ध गोल गर्न नै हम्मेहम्मे: १९ खेल खेल्दा केवल २ जित र ७ गोल
+
-

काठमाडौँ- सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपाललाई जित त परै जाओस्, पछिल्लो समय गोल गर्न नै मुस्किल भइरहेको छ।

गत चैतमा घरेलु मैदानमा भएको मैत्रिपूर्ण खेलमा बंगलादेशलाई २-१ गोलले हराउँदा नेपालले ५ हार र ३ बराबरीसहित ८ खेलको जितबिहीन यात्रा टुंग्याएको थियो। त्यतिबेला नेपालले लगातार ५ खेलमा हार र त्यसपछि लगातार तीन खेलमा बराबरी खेलेको थियो। ती ८ वटै खेलमा नेपालले एक गोलसमेत गर्न सकेको थिएन।

हिसाब गर्दा, नेपालले करिब १७ महिनापछि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा पहिलो जित र पहिलो गोल गरेको थियो। बंगलादेशलाई हराएयता नेपालले ४ खेल खेलेको छ जसमा ३ हार र एक जितको नतिजा निकालेको छ। यी खेलमा १२ गोल ब्यहोरेको छ भने ४ गोल गरेको छ। पछिल्ला दुई खेलमा जोर्डन र अस्ट्रेलियासँग समान ३-० गोलले पराजित भएको थियो। त्यसअघि चाइनिज ताइपेईलाई २-० गोलले हराएको थियो भने इराकसँग ६-२ गोलको हार ब्यहोरेको थियो।

यही पृष्ठभूमिमा नेपालले चिरप्रतिद्धन्द्धी भारतसँग बिहीबार र आइतबार दुईवटा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दै छ। आगामी महिना हुने साफ च्याम्पियनसिपको पूर्व सन्ध्यामा हुन लागेको यी खेललाई अर्थपूर्णरुपमा हेरिएको छ। सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप नेपालले अहिलेसम्म जित्न सकेको छैन। यो प्रतियोगिता १३ पटक आयोजना भइसक्दा भारतले ७ पटक जितिसकेको छ।

नेपाल र भारतबिच सन् १९८५ देखि अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा सुरु हुन थालेको हो। यसबीचमा यी दुई टोली १९ पटक भिडेका छन्। नेपालले २ जित, ४ बराबरी र १३ हारको नतिजा निकालेको छ। यी खेलमा नेपालले केवल ७ गोल गरेको छ भने ३३ गोल ब्यहोरेको छ। नेपालले भारतसँग भएका पछिल्ला ६ खेलमा जित हात पार्न सकेको छैन। यी खेलमा एक गोल मात्र गरेको छ भने १० गोल ब्यहोरेको छ। चार हार र दुई बराबरीको नतिजा निकालेको छ।

घरेलु मैदानमा आशा 

सन् २०१३ मा भएको साफ च्याम्पियनसिप जहाँ नेपालले भारतलाई अन्तिमपटक हराएको थियो र इतिहाँसमा केवल दोस्रोपटक भारतमाथि जित हात पारेको थियो। दशरथ रंगशालामा भएको त्यस खेलमा नेपालले भारतलाई २-१ गोलले हराएको थियो र २० वर्षपछि चिरप्रतिद्धन्द्धीमाथि जित हात पारेको थियो।

त्यसअघि अन्तिमपटक सन् १९९३ को दक्षिण एसियाली खेलकुदको फुटबलतर्फ फाइनलमा नेपालले भारतलाई हराएको थियो, टाइब्रेकरमा। त्यतिबेला निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा नेपाल ४-३ गोलले विजयी भएको थियो।

यो खेल बंगलादेशको ढाकामा आयोजना भएको थियो। त्यतिबेला साफ गेम्सको फुटबलमा सिनियर राष्ट्रिय टोली सहभागी हुन्थे। त्यसअघि सन् १९८५ मा आयोजित दोस्रो साफ गेम्समा नेपाल र भारत पहिलोपटक भिडेका थिए। समूहगत चरणको त्यस भिडन्तमा भारतले नेपाललाई ३-० गोलले हराएको थियो। सन् २०१५ मा नेपालमा भएको विश्वकप छनोटको खेलमा घरेलु टोलीले भारतसँग गोलरहित बराबरी खेलेको थियो।

नेपाली खेलाडीको लय 

यसअघि अन्तर्राष्ट्रिय गोल गरेका ७ जना खेलाडी भारतविरुद्ध हुने मैत्रिपूर्ण खेलका लागि २५ सदस्यीय राष्ट्रिय टोलीमा समावेश छन्।

७ गोल गरेका नवयुग श्रेष्ठ, ४ गोल गरेका अन्जन विष्ट,  २/२ गोल गरेका अनन्त तामाङ र सुजल श्रेष्ठ, ३ गोल गरेका विशाल राई तथा एक-एक गोल गरेका सुनिल बल र मनिष डाँगी नेपाली टोलीमा छन्।

नेपालले हात पारेको पछिल्लो जितमा चाइनिज ताइपेईविरुद्ध अन्जन र नवयुगले गोल  गरेका थिए। त्यसअघि इराकसँग अन्जन र मनिषले गोल गरेका थिए। घरेलु मैदानमा गत मार्चमा भएको मैत्रिपूर्ण खेलमा बंगलादेशविरुद्ध दुवै गोल अन्जनले गरेका थिए।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले हालसम्म ७४ अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनीबाहेक  यसअघि अन्तर्राष्ट्रिय गोल गरेका तीन खेलाडी भारतीय टोलीमा छन्।

भारतको पनि खराब लय 

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा भारतले पछिल्लो समय खराब प्रदर्शन गरिरहेको छ। भारतले पछिल्ला १३ खेलमा ६ हार, ६ बराबरी र एक जितको नतिजा निकालेको छ।

उसले पछिल्ला २२ खेलमा ११ हार, ८ बराबरी र ३ जित हात पारेको छ। पछिल्लो खेलमा भारतले अफगानिस्तानसँग १-१ गोलको बराबरी खेल्नुअघि बंगलादेशलाई २–० गोलले पराजित गरेको थियो। यहि जितले उसको ६ हार र ५ बराबरीसहित ११ खेलको जितबिहीन यात्रा टुंगिएको थियो।

कप्तान सुनिलले पछिल्ला ६ खेलमध्ये एउटामा मात्र गोल गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?