
काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सोमबार सार्वजनिक गरेको छ। चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यसाथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।
‘चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेका हौँ,’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले भने।
उनले योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकजाँचमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको जानकारी दिए।
उनले बसपार्क, टिकट काउन्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणका लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए, नभएको चेकजाँच एवं अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतनासमेत जगाउने बताए।
योजनासहितको विशेष चेकिङ
दैनिक ४३ ट्राफिक प्रहरी कार्यालयले चार पटकसम्म तालिकाबमोजिम चेकिङ गर्दै आएको छ भने नाकामा २४सै घण्टा चेकजाँच हुने गरेको छ। चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि चेकजाँचलाई समेत कडाइ पार्ने योजनामा उल्लेख छ।
चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई ध्यानमा राख्दै रात्रिकालीन मात्र नभई दिनमा समेत व्यापक रूपमा मापसे चेकजाँच गरी कडाइ गरिने एसएसपी भट्टराईले बताए।
तीव्र गति नियन्त्रणका लागि नाइट भिजन लेजर स्पिड गनसमेत प्रयोग गरिने उनले जानकारी दिए। थानकोट, नागढुंगा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनलाई नाकामा कडाइसाथ चेकजाँच गर्ने महाशाखाको योजना छ।
त्यस्तै, लामो दूरीका सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राखे, नराखेको, बढी भाडा लिए, नलिएको, चालकले मापसे गरे, नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए, नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ।
महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा २ जना चालक अनिवार्य भए, नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत चेकजाँच गर्ने उल्लेख छ।
भीडभाड हुने क्षेत्रमा थप जनशक्ति परिचालन
चाडपर्वका बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ति परिचालन गर्ने महाशाखाको योजना छ।
विशेषगरी, बसपार्क एरिया, उपत्यका प्रवेश गर्ने नाका, सपिङ कम्प्लेक्स तथा व्यापारिक केन्द्रमा किनमेलका लागि आउने मानिस तथा सवारी साधनको बढी चाप हुने गर्छ, त्यस्ता स्थानमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरी सहज आवागमनको व्यवस्था मिलाइने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताए।
न्युरोड एरिया, ठमेल, कालिमाटी, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु, बसपार्कलगायत क्षेत्रमा थप जनशक्ति परिचालन गरी ट्राफिक व्यवस्थापन एवं पार्किङ व्यवस्थापन मिलाइने र आवश्यक परे न्युरोड, खिचापोखरी, इन्द्रचोकलगायत भित्री इलाकामा सवारी साधन डाइभर्सनसमेत गरिने प्रवक्ता दासले जानकारी दिए।
१४ स्थानमा यात्रु सहायता कक्ष
उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन हुने भएको छ। नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन्।
आमसर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षासम्बन्धी सु–सुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगीलगायत यात्रुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्थासमेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ।
यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टरमा अनिवार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्ति तथा यातायातसँग सरोकार राख्ने व्यक्तिको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने महाशाखाले उल्लेख गरेको छ।
सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन
नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिई हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यवहार, गन्तव्य नपुगी गाडीबाट ओरालिदिने, स्वास्थ्य मापदण्ड पालना नगर्नेजस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजक र सक्रिय रहने एसएपी भट्टराईले बताए।
अन्य समयको तुलनामा चाडपर्वको समयमा विशेषगरी गोंगबु नयाँ बसपार्क क्षेत्र, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, पुरानो बसपार्क, गौशाला, जडीबुटीलगायत भीडभाड हुने स्थान र टिकट काउन्टरमा हुन सक्ने भाडा ठगी नियन्त्रण गर्न, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी गर्न, त्यस्तै टिकट मूल्यअनुसार लिएको छ, छैन चेकजाँच गर्न र पकेटमार तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाले जनाएको छ।
तोकिएभन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सवारीमा दुई जना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन महाशाखाले सर्वसाधारणसँग अनुरोध गरेको छ।