
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डायलासिस, किड्नी र क्यान्सरजस्ता रोगको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताएका छन्।
सिंहदरबारमा बुधबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटा मात्रै उपचार गर्ने अस्पताल भएकाले किड्नी ट्रान्सप्लान्ट गर्न पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए।
उनले डायलासिस गर्न आवश्यकताअनुसार सर्भिस सेन्टर नपुगेको जानकारी दिए। उनले जिल्लादेखि प्रदेशसम्म डायलासिस सेन्टर निर्माण गरी सर्वसुलभ बनाउनुपर्ने बताए।
सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुने उनको भनाइ छ। अप्रेसन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले अप्रेसन सेन्टर पनि बढाउने सरकारको योजना रहेको जानकारी दिए।
उनले ट्रान्सप्लान्ट र डायलासिसमा ६ महिनाभित्र ठूलो परिवर्तन हुने दाबी गरे। राज्यमन्त्री श्रेष्ठले भने, ‘किड्नी र क्यान्सरजस्ता रोगको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्छ, नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको छ, यो ठ्याक्कै नहोला, मैले सोध्दा लगभग यतिकै हाराहारीमा छ, त्यसैले अप्रेसन गर्न ५ वटा अस्पताल छन्, जसमा तीन वटा सरकारी छन्, किड्नी ट्रान्सप्लान्ट गर्न २ वर्षसम्म कुर्नुपर्ने बाध्यता छ, यसलाई सकेसम्म कम गर्नुपर्छ, हामीले यसको सुधार ल्याउनका लागि जिल्लादेखि प्रदेशसम्म डायलासिस सेन्टर बनाउने र जनतालाई सर्वसुलभ दरमा उपचार दिने सरकारको योजना छ।’
उनले एक वर्षभित्रै अप्रेसन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता हटाउने बताए। उनले भने, ‘आवश्यक संरचना थप्छौँ, ६ महिनाभित्रै ट्रान्सप्लान्ट र डायलासिसमा ठूलो परिवर्तन हुनेछ।’
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई १ करोड ७७ लाख कोरोना विरुद्धको खोप प्राप्त भएको बताए। उनले ३ करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको र आउने क्रममा रहेको जानकारी दिए। ५६ लाख मानिसलाई पूर्ण खोप लगाइसकेको र ६२ लाखलाई पहिलो डोज लगाएको उनले जानकारी दिए।
राज्यमन्त्री श्रेष्ठले जम्मा जनसंख्याको १८ प्रतिशतभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेको दाबी गरे।
उनले दसैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको जानकारी दिँदै दशैँसम्म पहिलो डोज लगाउनेको संख्या १ करोड पुर्याउने सरकारको लक्ष्य रहेको बताए।
राज्यमन्त्री श्रेष्ठले भने, ‘अहिलेसम्म नेपाललाई १ करोड ७७ लाख कोरोना विरुद्धको खोप प्राप्त भएको छ, ३ करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको र आउने क्रममा छ।’
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले स्वास्थ्यमा सबैभन्दा ठूलो खतरा बिमाबाट रहेको भन्दै बिमा व्यवस्थित गर्न जरुरी रहेको बताए। उनले बिमा भएकाहरूले वर्षमा एकपटक स्वास्थ्य परीक्षण गरे स्वास्थ्य समस्या कम हुने बताए। उनले राज्यको पैसाको स्वास्थ्य क्षेत्रमा दुरूपयोग भएको भन्दै म्यानेजमेन्टलाई व्यवस्थापन गरेर अघि बढ्न जरुरी रहेको बताए।