
काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीको कृषि तथा उद्यम व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ।
सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगर प्रमुख कैलाश आलेले हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा बैंकका विभागीय प्रमुख खनियाँले कृषकलार्ई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण गर्न बैंकको शाखा कार्यालयमार्फत छिटो–छरितो ढंगले प्राथमिकतासाथ कर्जा दिने प्रतिबद्धता व्यक्त गरे।
भोजपुर नगर प्रमुख आलेले मेगा बैंकसँगको सम्झौतापश्चात् नगरपालिकाभित्र रहेका साना किसान तथा उद्यम व्यवसायीले सहुलियत ब्याजदरमा कर्जा लिई आफ्ना व्यवसायलाई वृद्धि गरी उत्पादकत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भोजपुर नगरपालिकासँगको सम्झौतापश्चात् मेगा बैंकले नगरपालिकाका किसानलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नका लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्नेछ।
साथै, बैंकले उक्त कृषकलाई मेगा किसान कार्डसमेत उपलब्ध गराउनेछ। उक्त कार्डमार्फत कृषकले आफूलाई आवश्यक परेको कृषि सामग्री, बीउ, मल, कीटनाशक औषधिलगायत सामान नजिकको पसलबाट खरिद गर्न सक्नेछन्।