
काठमाडौँ – कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीसँग नेता थापाले पार्टीको १४औँ महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै गएको बताएका हुन्। बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनले बताए।
मंसिरमा महाधिवेशन हुन्छ भन्नेमा ढुक्क हुन नसकिएको उनले बताए। पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेतालाई दिएको जिम्मेवारी नेताले पूरा नगरी जवाफदेहिताबिनाको राजनीति गरिएको उनले टिप्पणी गरे।
उनले भने, ‘महाधिवेशनबारे जुन अन्योल छ, यो अन्योल थप बढ्दै गएको छ। महाधिवेशनको १३ जिल्ला जुन बाँकी छ, १३ जिल्लाको सदस्यताका कुरा टुंग्याउने कुरा तत्काल आजभोलि गरिएन र यो तिथिमिति सार्दै जाने, जति सारे पनि हुन्छ भन्दै गयो भने थप अन्योल हुँदै जान्छ।’
मंसिरमा महाधिवेशन हुन्छ भन्ने ढुक्क भएर भन्न सक्ने अवस्था नरहेको उनले बताए।
‘महाधिवेशनको तिथिमिति सार्ने कुरा अब पार्टीका नेताले आउन दिनुहुन्न। त्यो अप्ठ्यारो आउन दिनुहुन्न भन्ने लागिरहेको थियो तर जुन हल्का ढंगले महाधिवेशनबारे एउटाले सारौँ भन्ने अर्कोले हुन्छ, हुन्छ भन्ने जुन अवस्था बन्यो यसरी त जति बढाए पनि, तन्काइदिए पनि भयो’, उनले भने, ‘कसैले जवाफ दिनु नपर्ने, बैठक पनि बस्नु नपर्ने । जिम्मा पाएका नेताले जिम्मा पुरा गर्न नसकेपछि जवाफ दिनु नपर्ने ? जवाफदेहिता बिनाको राजनीति पार्टीभित्र भएपछि यस्तो अवस्था भएको हो। अहिले यसलाई अन्त्य गरिएन भने यो अनन्तः कालसम्म यसरी जान सक्छ। यसले हाम्रो अधिवेशनलाई थप अनिश्चित बनाएको छ।’
नेता थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसद्सँग घृणा जागेका कारण संसद्मा अवरोध सिर्जना गर्ने गरेको बताए। संसद्प्रति ओलीको घृणा सिंगो नेकपा (एमाले)मा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए।
‘केपी शर्मा ओलीलाई संसद्सँग घीन लाग्छ, उहाँलाई संसद् देख्नै हुन्न । उहाँले आफ्नो कार्यकालभरि संसद्लाई हेप्नुभो। संसद्लाई बेवास्ता गर्नुभो। पटक–पटक भंग गर्नुभयो’, उनले भने, ‘अहिले संसद् पुनःस्थापित भइसकेपछि उहाँलाई संसद्सँग यति घृणा लाग्छ कि यो संसद्लाई उहाँले पंगु बनाउनुभएको छ। अहिलेको हर्कत हेर्दै गर्दा सिंगो नेकपा (एमाले)लाई संसद्प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ।’
नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरूले बजेटको विषयमा बोल्न नपाएको उल्लेख गरे। एमालेको अवरोधले सांसदहरूले संसद्मा आफ्नो भूमिकासमेत निर्वाह गर्न नपाएको बताए। एमालेको प्रस्तुतिले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उनको भनाइ छ।