
काठमाडौँ – ‘काठमाडौँ किंग्स ११’ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि आफ्नो टिम सार्वजनिक गरेको छ।
काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा ‘काठमाडौँ किंग्स ११’ का कप्तान सन्दीप लामिछाने र पाकिस्तानी टिमका पूर्वकप्तान शाहिद अफ्रिदीलगायतको परिचयात्मक जानकारीसाथ सार्वजनिक गरिएको हो।
पाकिस्तानी राष्ट्रिय टिमका पूर्वकप्तान तथा धमाकेदार ब्याट्सम्यान शाहिद अफ्रिदीले जर्सी नम्बर १० लगाएर खेल्नेछन् भने अर्का अन्तर्राष्ट्रिय खेलाडी जनप्रकाशले १६ नम्बरको जर्सी लगाएर खेल्नेछन्।
अफगानी सशक्त ब्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नम्बरको जर्सी लगाउनेछन् । काठमाडौँ किंग्स ११ का कप्तान अन्तर्राष्ट्रिय स्तरमै आफ्नो बलिङ प्रतिभा प्रदर्शन गरिसकेका सन्दीप लामिछानेले भने जर्सी नम्बर २५ लगाउनेछन्।
अरू राष्ट्रिय स्तरका खेलाडी गुल्सन झाले जर्सी १५, सुवास खकुरेलले जर्सी २६, सिद्धान्त लोहनीले जर्सी १७ जितेन्द्र मुखियाले जर्सी ६५ लगाएर मैदानमा उत्रिनेछन्।
यस्तै अमित श्रेष्ठ २७ नम्बर जर्सी, राजु रिजाल ५ नम्बर जर्सी, अमर सिङ रौटेला ८१ नम्बर जर्र्सी शेर मल्ल ५८ नम्बर जर्सी, सम्सद शेख ७ नम्बर जर्सी, दीपेन्द्र रावत ९ नम्बर जर्सी, आकाश चन्द २४ नम्बर जर्सी र रायन वर्ल ५४ नम्बरको जर्सी लगाएर मैदानमा उत्रने भएका छन्।
६ टिमले प्रतिस्पर्धा गर्ने यो ईपीएल असोज ९ गतेदेखि असोज २५ गतेसम्म कीर्तिपुरको टियु मैदानमा हुँदै छ।
काठमाडौँ किंग्स ११ ले पहिलो चरणमा असोज ९ गते ललितपुर पाट्रीएट्स, असोज ११ गते विराटनगर वारियर्स, असोज १२ गते पोखरा राइनोजसँग, असोज १४ मा चितवन टाइगर्स र असोज १६ गते भैरहवा ग्लाडिएर्टससँग प्रतिस्पर्धा गर्नेछ। विगत वर्षमा पनि उत्कृष्ट खेल प्रदर्शन गरी सबै दर्शकमाझ लोकप्रियता कमाएकोे काठमाडौँ किंग्स ११ ले यस पटक पनि उत्कृष्ट टोलीका साथ रोमाञ्चक खेल प्रदर्शन गर्ने दाबी गरेको छ।
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत काठमाडौँ किंग्स ११ टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट छ भने स्मार्टफोन पार्टनर नोकिया, गोल्ड पार्टनर शिवशक्ति ग्रुपको ‘फेमिली आयल’ र ‘उर्जा राइस’, बंैकिङ पार्टनर ‘सिद्धार्थ बैंक’ र इलेक्ट्रिफाइड पार्टनर ‘लिट्मस केवल’ रहेका छन्।