
काठमाडौँ– इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विद्युतीय स्कुटर सहयोग गरेको छ। कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत उपहारस्वरूप विद्युतीय स्कुटर दिएको हो।
कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईलाई उक्त स्कुटर हस्तान्तरण गरेका छन्। यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
‘हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत नै ट्राफिक प्रहरीलाई इन्टरनेट सेवासमेत दिँदै आएका छौँ’, कार्यकारी निर्देशक अग्रवालले भने, ‘त्यसैअन्तर्गत कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएका थियौँ। ट्राफिक प्रहरीलाई यस अघिदेखि उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा समेत जारी रहनेछ।’
ट्राफिक प्रहरीले महिला तथा अपाङ्ग आरक्षण सिटको प्रयोग र भाडा चेक जाँचका लागि उक्त स्कुटर प्रयोगमा ल्याउने बताएको छ। ट्राफिक प्रहरीको आवश्यकतालाई मध्यनजर गर्दै विद्युतीय स्कुटर सहयोग गरिएको वर्ल्डलिङ्कले जनाएको छ।
ट्राफिक साइरन जडित उक्त जापानीज स्कुटर एकपटकको चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्ने बताइएको छ। ट्राफिक महिलालाई मोटरसाइकल चलाउन गा¥हो हुने गरेको अवस्थामा यो विद्युतीय स्कुटरले सहज हुने अपेक्षा गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले वर्ल्डलिङ्कबाट प्राप्त विद्युतीय स्कुटर महिला प्रहरीले प्रयोग गर्ने जानकारी दिए। ‘वर्ल्डलिङ्कले उपलब्ध गराएको फ्री वाईफाईले ट्राफिक सचेतना कक्षाका साथै सेवाग्राहीलाई महत्वपूर्ण सहयोग पुगेको छ’, उनले भने।