
काठमाडौँ – दसैँ सुरु भएसँगै बजारमा पनि सामान किन्नेको चहलपहल बढ्न थालेको छ। नयाँ कपडा लगाउन दसैँ कुर्ने बानी हटिनसकेका कारण पनि बजारमा भीड बढेको हो। तर, बजारमा आफूहरूले चाहेजस्तो सामान नहँुदा ग्राहक भने निरास भएर फर्कन बाध्य छन्। सामान पाए पनि धेरै महँगो भएको उनीहरूले प्रतिक्रिया दिएका छन्।
खासगरी काठमाडौंको महाबौद्ध, भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरीलगायत क्षेत्रमा आउने ग्राहकले लत्ताकपडा, जुत्तालगायत सबै सामानको भाउ निकै महँगो भएको बताएका छन्।
उनीहरूले बजारमा नयाँ मोडलका सामान नआएको बताए। यस वर्षको दसैँमा लत्ताकपडालगायत सामानको मूल्य बढेको व्यापारी पनि स्विकार्छन्। उनीहरूले दसैंलाई लक्ष्य गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिँदा बजारमा अभाव भएको तथा भन्सारको मूल्यांकन पनि बढेका कारण महँगी बढेको बताएका छन्।
उनीहरूका अनुसार यस वर्ष २० प्रतिशतभन्दा धेरै मूल्यवृद्धि भएको छ। व्यापारीले ग्राहकको आगमन कम हुँदा व्यापार पहिलेभन्दा खस्किएको गुनासो गरे। तर, बजारमा भीड लाग्ने क्रम भने बढिरहेको छ।