
काठमाडौँ – बाँकेमा घरेलु हिंसाद्वारा मारिएका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाही माग गर्दै पीडित परिवार नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल आई धर्ना बसेको छ।
बाँकेमा दुई महिला नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भए पनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाही माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको हो।
पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषीउपर कारबाही प्रक्रिया अगाडि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसूदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ। दोषीलाई कारबाही गर्न नन्कुन्नी धोबीका भाइले माग गरेका छन्।
बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुर्व्यवहार गरेको राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य सकिना तेलीले बताइन्।
स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको उनले बताए।
पीडित परिवारले आफूहरूको माग पूरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन्।