
काठमाडौँ – कांग्रेस केन्द्रीय सदस्य गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने बताएका छन् । मन्त्रिपरिषद् विस्तारमा गठबन्धन सरकारले प्रधानन्यायाधीशनिकट गैरसांसद गजेन्द्र हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरिएकोप्रति संकेत गर्दै थापाले शनिबार ट्वीटमार्फत यस्तो बताएका हुन्।
उनले प्रश्न गरेका छन्, ‘कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको?’
उनले लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेर मात्र नपुग्ने बताएका छन्। इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो भन्ने प्रश्न गर्दै थापाले निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सके मात्र त्यसले वैधता पाउने उल्लेख गरे।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा संसद् नै नभएका गजेन्द्र हमाललाई नियुक्त गरेका थिए।
हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री भएको भन्दै सर्वत्र आलोचना भएको छ।
मन्त्रिपरिषद् विस्तारको तयारी हुँदा सरकारसँग प्रधानन्यायाधीश जबराको पनि नाम जोडियो। जबराले वन र उद्योग मन्त्रालय मागेका थिए। यो विषयलाई लिएर बारले आपत्तिसमेत जनाएको थियो।
शुक्रबार उद्योगमन्त्री गजेन्द्रबहादुर हमाल बने। हमाल प्रधानन्यायाधीश जबरा निकट मानिन्छन्। जबराले भने हमाल पुराना देउवानिकट नेता भएकाले मन्त्री बन्न सक्ने यसअघि नै प्रतिक्रिया दिएका थिए।
सर्वोच्चमा सत्ता गठबन्धनका दलहरूको आधिकारिकता विवाद, माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा तथा संवैधानिक नियुक्ति बदरलगायत मुद्दा विचाराधीन रहेकाले कम्फरटेबल बनाउन हमाल मन्त्री बनेका हुन्।