काठमाडौं- प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गर्दै आएको ‘पोलिग्राफ’ परीक्षणले अब मान्यता नपाउने भएको छ।
सर्वोच्च अदातलका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले अपराधको प्रमाणका रुपमा पोलिग्राफ परीक्षणको नतिजाले मान्यता नपाउने फैसला गरेको हो।
अपराध अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले झुटो बोलेको हो कि हैन भनेर पत्ता लगाउन प्रहरीले पोलिग्राफ परीक्षण गर्ने गरेको थियो।
‘पोलिग्राफ परीक्षण प्रतिवेदन कुनै भरपर्दो प्रमाण होइन। नेपालमा यो पद्धतिलाई विश्वसनीय तुल्याउने कानुनी आधारहरू तयार भएका छैनन्। यस्तो परीक्षणलाई न्यायिक मान्यता प्रदान गर्दा व्यक्तिका मौलिक हक–अधिकारमा आघात पर्न सक्ने सम्भावनासमेत देखिन्छ। त्यसैले यस्तो प्रतिवेदनले मुद्दामा कसुर ठहर गर्न उपयोगी हुने प्रमाणको स्थान ग्रहण गर्न सक्ने देखिँदैन’, फैसलामा भनिएको छ, ‘पोलिग्राफ परीक्षण र यसको स्वीकार्यतालाई व्यवस्थित र नियमन गर्न विधायिका निर्मित आवश्यक कानुनी आधारको अभाव देखिन्छ। विश्वसनीय र भरपर्दो वैज्ञानिक आधार नदेखिएसम्म हालको स्थितिमा पोलिग्राफ परीक्षणलाई प्रमाणमा ग्रहण गरी प्रतिवादीउपरको ज्यान मारेको भन्ने अभियोग दाबी ठहर गर्नु मनासिव देखिँदैन।’
प्रहरीले २०७० सालदेखि पोलिग्राफ परीक्षणको नतिजालाई अपराध प्रमाणका रुपमा प्रयोग गर्दै आएको छ।
पोलिग्राफ परीक्षणको नतिजालाई परिस्थितिजन्य अन्य प्रमाणहरूले समर्थन गरेको अवस्थामा मान्यता पाउने फैसला सर्वोच्च अदालतले नै यसअघि गरेको थियो।
सर्वोच्च अदालतले पोलिग्राफको प्रतिवेदनलाई मान्यता दिँदा नागरिकको सम्मान र प्रतिष्ठापूर्वक बाँच्न पाउने हक, स्वच्छ सुनुवाइको हक, गोपनीयताको हक र आफ्नाविरुद्ध साक्षी हुन कर नलाग्नेजस्ता मौलिक हकहरुको गम्भिर हनन् हुनेसमेत ठहर गरेको छ।
मेसिनको प्रयोग गरेर आरोपित व्यक्तिको मुटुको धड्कन, आँखाको नानीको चाल र छालाले जनाउने प्रतिक्रियालाई विश्लेषण गरेर पोलिग्राफको नतिजा निकाल्ने गरिएको थियो।

स्रोत- नेपाल प्रहरी
२२६२ जनाले झुठो बोले, १६६३ ले सत्य
प्रहरीको केन्द्रीय तथ्यांकअनुसार हालसम्म पोलिग्राफ परीक्षणमा २ हजार २ सय ६२ जनाले झुठो बोलेको पाइएको छ।
यसैगरी एक हजार ६ सय ६३ जनाले सत्य बोलेको प्रहरी तथ्यांक छ। प्रहरी प्रधान कार्यालयका अनुसार २ सय ३४ जनाको परिक्षणपछि राय दिन सकिने अवस्था रहेन।
अपराध अनुसन्धानका क्रममा ३ हजार ८ सय ९ पुरुष र ५ सय ४१ जना महिलाको पोलिग्राफ टेस्ट गरिएको थियो।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































