
काठमाडौँ – सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकामा आपत्ति जनाएका छन्।
हुम्लाका सांसद महतले जति आग्रह गरे पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर नजिकैको कर्णाली प्रदेश नगएकामा आक्रोश व्यक्त गरे।
संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा उनले कर्णाली प्रदेशमा बाढी–पहिरोका कारण ठूलो अन्नबाली नष्ट हुँदा स्थलगत अवलोकनका लागि नजाने प्रधानमन्त्री सुदूरपश्चिम प्रदेश भने आफ्नो निर्वाचन क्षेत्र भएर गएको गम्भीर आरोप लगाए।
सांसद महतले कर्णाली प्रदेशका पनि मान्छे हुन् भन्ने कुराको हेक्का राख्न प्रधानमन्त्री देउवालाई चेतावनीसमेत दिए।
‘बाढीपहिरोले क्षति भयो, पश्चिममा प्रधानमन्त्री पुग्नुभयो। आफ्नो क्षेत्र भएको हो कि, आफ्नो पार्टीले बोलाएर हो? कर्णालीका पनि त मान्छे हुन् नि! त्यहाँ जानु पर्दैन?’, उनले भने, ‘कर्णाली कस्तो अवस्थामा छ? त्यहाँ कति खाद्यान्न नष्ट भयो, विद्यालय बगाएको छ, धानखेती चौपट् भएको छ। प्रधानमन्त्री र अर्थमन्त्रीलाई मैले भनँे काठमाडौं गएर सल्लाह गरौंला रे! त्यहाँ गएर शान्त्वना दिएर आए के बिग्रन्थ्यो?’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले बाढीपहिरोबाट अवरुद्ध सडक तत्काल सुचारु गराउन सरकारसँग माग गरे। उनले मनाङ, बाजुरा र बझाङ जिल्लाको यातायात ठप्प भएकाले त्यसलाई तत्काल सुचारु गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराए।
यता, सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले ८–१० दिनभित्र बाढीपहिरोले अवरुद्ध सबै सडक सुचारु गराउने प्रतिबद्धता जनाइन्।
उनले अवरुद्ध सडक सुचारु गराउने काममा तीव्रता दिन पनि मातहतका सबै निकायलाई सचेत गराइन्। मन्त्री यादवले जनशक्ति र स्रोत, साधनको अभावमा सरकारले अवरुद्ध सडक खुलाउनका लागि सोचेजस्तो गरेर काम गर्न नसकेको यथार्थता बुझिदिन समितिसमक्ष आग्रह गरिन्।
मन्त्री यादवले अवरुद्ध सडक खुलाउन छुट्टै संयन्त्र जरुरी रहेको बताइन्। उनले स्थानीय, प्रदेश र संघीय सरकारले आ–आफ्नो दायित्वको सडक निर्माणमा ढिलाइ गर्न नहुने स्पष्ट पारिन्।