काठमाडौँ – कार्यकाल पूरा हुन एक महिनामात्र बाँकी रहँदा काठमाडौं प्रहरी प्रमुख अशोक सिंहलाई हटाउन खोजेको विषयमा अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाल र महानिरीक्षक शैलेश थापाबीच बुधबार बिहान चर्काचर्की भएको छ।
स्रोतका अनुसार मंगलबार गृह मन्त्रालयले सिंहलाई हटाएर त्यस ठाउँमा एसएसपी सुदीप गिरीको काज सरुवा गरेपछि पालले आईजिपी थापालाई बुधबार बिहान फोन गरेर असन्तुष्टि जनाएका थिए।
‘नियमित सरुवा हुन ४ हप्तामात्र बाँकी रहेको अवस्थामा के कति कारणले सिंहलाई हटाउन खोजिएको हो ? तपाई आईजिपि भएर संगठनका लागि त्यति पनि अडान लिन नसक्ने ?’, पालले थापासँग गरेको टेलिफोन सम्पर्क उद्धृत गर्दै प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने।
गृह मन्त्रालयको मनपरीविरुद्ध आईजिपीले अडान लिन नसकेको भन्दै पाल चर्किएका थिए। जवाफमा आईजिपी थापाले ‘के त्यसो भए मैले राजीनामा दिनू त ?’ भन्दै रिसाएका थिए।
गत मंसिर ५ गते गृह मन्त्रालयले काठमाडौँ प्रहरी परिसर, ललितपुर प्रहरी परिसर, महानगरीय ट्राफिक महाशाखा, त्रिभुवन विमानस्थलसहित विभिन्न तालिम केन्द्रहरुमा एसएसपीहरुको एकसाथ सरुवा गरेको थियो।
‘मेरो मातहतमा रहेको कार्यालयको प्रमुखलाई समय नपुग्दै सरुवा गर्दा मसँग नै सल्लाह छैन। आँखिर एक महिनापछि त नियमित सरुवा नै हुँदैछ’, पालले थापासँग भनेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको समेत असन्तुष्टि देखिएपछि काजमार्फत काठमाडौं प्रहरी परिसर प्रमुख पाउने गिरीको प्रयास कम्तिमा तत्कालका लागि असफल बनेको छ। स्रोतका अनुसार देउवाले काज सरुवा रोक्न निर्देशन दिएका छन्।
आईजिपी र एआईजीबीच खटपटको शृंखला
आईजिपी बन्ने क्रममा थापालाई तत्कालीन प्रतिस्पर्धी पालले साथ दिएका थिए। तर संगठनभित्रको राजनीतिक हस्तक्षेपलाई रोक्न नसकेको र अडान लिन नसकेको भन्दै आईजिपी थापासँग पाल असन्तुष्ट रहँदै आएका छन्। राजनीतिक हस्तक्षेपकै कारण आईजिपी थापाले लेखापालहरुको नियमित सरुवा निकाल्न सकेका छैनन्।
त्यसमा पनि विभिन्न चारवटा युनिटको इन्चार्च सम्हालिसकेका डीएसपी विश्वराज खड्कालाई यसै साता पालकै मातहतमा रहेको दरबारमार्ग वृत्तको जिम्मेवारी दिएपछि प्रहरीका शीर्ष अधिकारीहरुबीच द्वन्द्व थप चर्किएको थियो। विवादित छवि भएको भन्दै पालले खड्कालाई आफ्नो मातहतको युनिटमा सरुवा नगर्न आईजिपीलाई आग्रह गर्दै आएका थिए।
पूर्वगृहमन्त्री खुमबहादुर खड्काका भतिज रहेका खड्कालाई दरबारमार्गमा सरुवा गर्न आईजिपीले राजनीतिक दबाब झेल्न नसकेको आरोप लागिरहेको छ। खड्काले यसअघि डीएसपीका रुपमा म्याग्दी जिल्ला, गजुरी र राजापुर इलाका तथा बालाजु वृत्तको प्रमुख सम्हालिसकेका थिए। डीएसपीका रुपमा यति धेरै युनिटको इन्चार्ज कमैले मात्र प्राप्त गर्छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































