
काठमाडौँ – नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ।
बैंकका सञ्चालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा बिहीबार आयोजित एक कार्यक्रमबीच नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त साझेदारीमार्फत स्थानीय स्तरमा सञ्चालन गरिने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम, तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई उद्यमका लागि गाउँपालिकाको सिफारिसमा बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम, तालिममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य छ।
उक्त कार्यक्रममा बैंक सञ्चालक अधिकारीले यस सम्झौताले गजुरी गाउँपालिकामा रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए।
यस्तैै, गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्र्रम बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्नवर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने बताए।
गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम ल्याएकोमा नबिल बैंकलाई धन्यवाद दिँदै वित्तीय पहुँचलाई महिला तथा विपन्न वर्ग लक्षित बनाउनुपर्ने र त्यसका लागि गाउँपालिको सधैँ सहयोग रहनेसमेत बताए।