
काठमाडौँ – अक्टोबर ३१ मा हुने कोप २६ शिखर सम्मेलनमा नेपालले कार्बन उत्सर्जन नियन्त्रणमा गरेको प्रयासको विषयलाई उठाउनुपर्ने सरोकारवालाहरुले बताएका छन्।
जलवायु परिवर्तनसँग जोडिएका विश्वव्यापी मुद्दाबारे छलफल गर्न अक्टोबर ३१ मा बेलायतको ग्लासगोमा कोप २६ शिखर सम्मेलन हुँदै छ।
सो शिखर सम्मेलनमा नेपालले कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्नका लागि वन जंगललाई जोगाएर वातावरण संरक्षण गर्दै आएको विषय उठाउनुपर्ने सरोकारवालाले बताएका हुन्।
बिहीबार परराष्ट्र मामिला अध्यययन प्रतिष्ठानले विज्ञहरूसँग राखेको छलफल कार्यक्रमा उपस्थित विज्ञहरूले सो सुझाव राखेका प्रतिष्ठानका सूचना अधिकृत सानुराजा पुरीले जानकारी दिए।
उनले भने, ‘हिमालका हिउँहरु पग्लिँदै छ। नदीको बहाव बढ्दै छ। यसले आगामी दिनमा नेपालजस्ता विकासोन्मुख देशलाई के असर पर्छ र मूल रुपमा नेपालले विश्वमा बढ्दै गएको कार्बनडाइअक्साइड ग्यास छ, त्यसको मिनिमाइजका लागि नेपालले सामुदायिक वन कार्यक्रमअन्तर्गत वनजंगललाई जोगाएर लामो समयदेखि वातावरण संरक्षण गर्दै आएको छ। यी मुद्दा पनि नेपालले उठाउनुपर्नेछ।’
जलवायु परिवर्तनको असर नेपालमा प्रस्ट रुपले देखिन थालेको भन्दै उनले ती मुद्दा उठाएर समाधानको प्रयास गर्नुपर्ने विषयमा केन्द्रित रहेर विज्ञहरूसँग छलफल भइरहेको बताए।