
काठमाडौँ – राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा वेदकोट र सुनकोसी नगरपालिकाले जित हासिल गरेका छन्।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बेदकोट नगरपालिकाले बराहक्षेत्र नगरपालिकामाथि ३–० को जित निकालेको हो। सुरुबाटै हावी भएको वेदकोटले पहिलो हाफमा निकालेको नतिजा नै जितका लागि पर्याप्त बनेको हो।
कप्तान निलम सिंहले दोस्रो मिनेटमा गरेको गोलबाट अग्रता लिएको वेदकोटका लागि २९औं मिनेट व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्।
त्यस्तै, पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा शोभा क्षेत्रीले टोलीका लागि तेस्रो गोल थप्दा बेदकोटले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो। दोस्रो हाफमा बराहक्षेत्र खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र वेदकोटले पहिलो हाफमा निकालेको नतिजा पर्याप्त बन्यो।
छनोट प्रतियोगिताअन्तर्गत बिहीबार भएको अर्को खेलमा सुनकोसी नगरपालिकाले धरान एसएमसीलाई ४–१ ले पराजित गर्यो। यस खेलमा अनु लामा वुमन अफ दि म्याच घोषित भइन्।
यस्तै, यसअघि स्थगन भएको छैटौं नम्बरको खेलमा काठमाडौंले सिमकोट गाउँपालिकालाई ९–० गोल अन्तरले पराजित गर्यो। काठमाडौंको जितमा जेनिफर रानाले ४ गोल गरिन्। सरस्वती आयरले ह्याट्रिक पूरा गर्दा यस्तै गरिमा राई र मनीषा थापा मगरले एक–एक गोल गरेका थिए।
जितसँगै समूह ई को काठमाडौंले २ खेलमा ४ अंक जोड्यो। तर, काठमाडौंले नकआउट चरणमा स्थान बनाउन सकेन। यस समूहबाट इलामको रोङ गाउँपालिकाले नकआउट चरणमा यसअघि नै प्रवेश गरेको छ।
रोङले २ खेलमा ४ अंक जोड्यो । तर, रोङ गोल अन्तरमा अघि रहँदै नकआउट चरणमा पुगेको हो। प्रतियोगितामा शुक्रबार ३ खेल हुनेछन् । दिनको पहिलो खेल हेटाैँडा र तुलसीपुर नगरपालिका, दोस्रो खेल पोखरा र वीरेन्द्रनगर नगरपालिका तथा दिनको अन्तिम खेल धनगढी उपमहानगरपालिका र गोकर्णेश्वर नगरपालिकाबीच हुनेछन्।
३१ टोलीले प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ। प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।